सामाजिक न्याय उत्कृष्ट नीति

डिजिटल संस्करण

सामाजिक न्यायलाई मूर्तरूप दिन सहकार्य, सहयोग, सामाजिक संवाद र बहुपक्षीयतामा विश्वास गर्ने सबैलाई परिचालन गर्न आवश्यक छ

अशान्त र अनिश्चित समयमा मानिसले नकारात्मक दृष्टिकोण अपनाउनु अस्वाभाविक होइन । बढ्दो अस्थिरता र द्वन्द्व नियमित रूपमा सञ्चार माध्यममा देखिरहेका, पढिरहेका हुन्छौँ । कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान असमान र अनुचित सावित भइरहेको छ, जसले महिला र सबैभन्दा गरिबलाई न्यून लाभ प्रदान गरेको छ । विश्वव्यापी औसत बेरोजगारी दर सन् २०२३ मा पाँच प्रतिशतबाट यो वर्ष ४.९ प्रतिशतमा घट्ने प्रक्षेपण गरिए पनि गुणस्तरीय रोजगारीका अवसर उपलब्ध गराउन अझै पनि उल्लेखनीय कमी मौजुद छन् । उदाहरणका लागि काम गर्न योग्य महिला (१५–६४ वर्ष) मध्ये ४५.६ प्रतिशत मात्रै औपचारिक रोजगारीमा संलग्न छन्, जबकि समान उमेर समूहका पुरुषको आँकडा ६९.२ प्रतिशत रहेको छ । उच्च आय भएका मुलुकमा महिलाले पुरुषले कमाएको प्रत्येक डलरबाट औसत ७३ सेन्ट कमाउँछन्, जबकि न्यून आय भएका राष्ट्रमा यो हिस्सा ४४ सेन्ट छ ।

यसका साथै जलवायु आपत्कालले पृथ्वी र जोखिममा रहेका जनसंख्यालाई व्यापक क्षति पुर्याइ नै रहेको छ । गत वर्ष अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको थियो, जसले विश्वभरका अर्बाैंको जीवन, रोजगारी र स्वास्थ्यमा उल्लेखनीय प्रभाव पारेको थियो । अत्यधिक गर्मीले मात्रै दुई अर्ब ४० करोड मानिसलाई असर गरिरहेको छ, जुन विश्वव्यापी जनशक्तिको ७० प्रतिशतबराबर हो । त्यसैगरी वार्षिक रूपमा सरदार १९ हजार कामदारको मृत्यु पनि भइरहेको छ ।

यसबाहेक खडेरी र अन्य कारणले गर्दा भोकमरी जारी छ र अत्यावश्यक आवश्यकता पूरा हुन सकिरहेका छैनन् । विकासका लाभ केही मुठीभरका मानिसमा केन्द्रित भएको देखिन्छ । यी चुनौतीसँगै तीव्रतासाथ बढ्दै गएको युद्ध र द्वन्द्वले लाखौँ निर्दोष मानिसको ज्यान लिइरहेको छ ।  

हामीसँग वैकल्पिक मार्गतर्फ जाने अवसर भने छ । यो मार्गले विकास, जलवायु पहलकदमी र विश्वव्यापी शासनका लागि थप प्रभावकारी दृष्टिकोणले सामाजिक न्यायलाई प्राथमिकता दिनेछ । यसले थप राम्रो र सन्तुलित विश्व सिर्जना गर्ने क्षमता राख्छ । यसले सन् २०३० सम्म पूरा गर्नुपर्ने दिगो विकासका लागि राष्ट्रसंघको एजेन्डालाई परिपूर्ति गर्छ । यद्यपि यो वैकल्पिक मार्ग प्रायः एक विशेष नीति लक्ष्यका रूपमा नभई सैद्धान्तिक सर्तका रूपमा मात्र छलफल गरिन्छ ।

वास्तवमा दृष्टिकोणमा परिवर्तनको आवश्यकता छ, अर्थात् सामाजिक न्यायले न्यायोचित ऊर्जा संक्रमण एवं समतामूलक व्यापार नियमका लागि भइरहेका प्रयासजत्तिकै तात्कालिकता र समर्पण आवश्यक छ । यी उद्देश्य अन्तरसम्बन्धित छन्, किनभने एक क्षेत्रमा हुने विकासले अन्य क्षेत्रको विकासलाई सहज बनाउँछ ।

यदि हामीले श्रमिक र व्यवसायलाई जलवायु परिवर्तनको हानिकारक प्रभावबाट जोगाउन सकेनौँ भने हामीले सामाजिक न्याय प्राप्त गर्न सक्दैनौँ । यदि आधारभूत पेसागत सुरक्षा र जीवनयापनको ज्यालाका साथ कारखाना एवं आपूर्ति शृंखलामा काम गर्ने वातावरण सहज छैन भने हामीले दिगो व्यापार गर्न सक्दैनौँ । यदि व्यक्तिले आफ्नो कामबाट आफू र आफ्नो परिवारको जीविका चलाउन नसक्ने भए हाम्रो समाज शान्तिपूर्ण रहनेछ भनेर हामी सुनिश्चित गर्न सक्दैनौँ । त्यसैगरी शान्तिविना कुनै समृद्धि हुन सक्दैन र युद्धले प्रायः गरिबी, वातावरणीय ह्रास र अन्याय निम्त्याउँछ । तर, यीमध्ये कुनै पनि क्षेत्रमा प्रगति गर्न हामीलाई समानता, अधिकार, श्रम बजार र त्यसभन्दा बाहिर समावेशिताको प्रवर्द्धन गर्ने थप बलिया नीति आवश्यक पर्छन् । अर्थात्, उचित रोजगारी, उच्च गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा, सीप तालिम र जीविकाको सिकाइ र सुरक्षित एवं स्वस्थ वातावरणमा समान पहुँच सुनिश्चित गर्नुपर्छ ।

सामाजिक न्यायलाई मूर्तरूप दिन सहकार्य, सहयोग, सामाजिक संवाद र बहुपक्षीयतामा विश्वास गर्ने सबैलाई परिचालन गर्न आवश्यक छ । यही जुनमा आयोजित सामाजिक न्यायका लागि वैश्विक गठबन्धन (ग्लोबल कोलिसन फर सोसल जस्टिस) पहल यसको एक उत्तम उदाहरण हो । यो पहलमा तीन सयभन्दा बढी साझेदार सामेल भइसकेका छन् । तिनमा सरकार, रोजगारदाता र श्रमिक संगठन, राष्ट्रसंघ र क्षेत्रीय अन्तर्राष्ट्रिय संस्था, क्षेत्रीय विकास बैंक, उद्यम, गैरसरकारी संस्था र शैक्षिक संस्था समावेश छन् । यी साझेदार विश्वव्यापी, क्षेत्रीय, राष्ट्रिय र स्थानीय शासनका सबै तहमा समावेशी नीति लागू गरिनुपर्छ भन्नेमा एकताबद्ध छन् ।

हामी ऐतिहासिक मोडमा छौँ । अर्को वर्ष राष्ट्रसंघले सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन आयोजना गर्दा विश्व समुदायले सामाजिक न्यायको लक्ष्यलाई अगाडि बढाउने अवसर पाउनेछ । यसको उद्देश्य सबै देशलाई दिगो विकास लक्ष्यमा समावेश गरिएका अन्तर्राष्ट्रिय प्रतिबद्धतासहित आफ्ना प्रयासलाई जोड्न मद्दत गर्नु हो । सरकार र नागरिक समाजका नेताहरूले सहकार्य गर्ने अवसर पाउनेछन् । लक्ष्य, विश्वव्यापी सामाजिक सुरक्षा सबैमा पुग्ने सुनिश्चित गर्नु हुनेछ । यसबाहेक सरकार र नागरिक समाजका नेताले प्रमुख आर्थिक संक्रमण र विश्वव्यापी उथलपुथललाई अनुकूलन गर्न आवश्यक सीप, शिक्षा र ज्ञानले सबै मानिस र समुदायलाई सुसज्जित गर्ने लक्ष्य राख्नुपर्नेछ ।

हामी हाम्रो हिस्साको काम गर्न, विश्व शिखर सम्मेलनमा र त्यसभन्दा बाहिरको सामाजिक न्यायका लागि वैश्विक गठबन्धनको माध्यमबाट विकासका लागि माध्यमको रूपमा काम गर्न प्रतिबद्ध छौँ । हामी अरूलाई हामीसँगै जोडिन आमन्त्रित गर्छौं । भविष्य वर्तमानजस्तो हुनुपर्छ भन्ने छैन, तर सामाजिक न्यायको खोजलाई मूर्तरूप दिने नीतिगत प्राथमिकतातर्फ अग्रसर भएको नयाँ मानसिकता अपनाउन आवश्यक छ ।

(हुङ्बो अन्तर्राष्ट्रिय श्रमिक संगठनका महानिर्देशक हुन्, दा सिल्भा ब्राजिलका राष्ट्रपति हुन्) 
प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार