विशेष खेलकुदको भारोत्तोलनमा चार कीर्तिमान

बुधबार, १९ असार, २०८१
डिजिटल संस्करण
विशेष खेलकुदको भारोत्तोलनमा चार कीर्तिमान

पुरुष ६५ केजीमा १०१ केजी उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरेका दीपक खड्का

चारमध्ये दुई खेलाडीले आफ्नै नाममा रहेको कीर्तिमान सुधारेका छन् । दुई खेलाडीले नयाँ कीर्तिमानी राखी स्वर्ण पदक जिते ।

पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार चार राष्ट्रिय कीर्तिमान बनेका छन् । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमध्ये दुई खेलाडीले आफ्नै नाममा रहेको कीर्तिमान सुधारेका छन् । दुई खेलाडीले नयाँ कीर्तिमानी राखी स्वर्ण पदक जितेका हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमतीका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको रेकर्ड सुधार गरे । 

यसअघि उनको नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोस्रो र कोशीका सुपर राई तेस्रो भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउँदै राष्ट्रिय कीर्तिमान बनाए । यसअघि ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोस्रो तथा बागमतीका मानबहादुर राना मगर तेस्रो भएका छन्

पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान राखेका छन् । उनले ठाकुर श्रेष्ठको नाममा रहेको ९० केजीको कीर्तिमान भंग गरेका हुन् । बागमतीका बिरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य जितेका छन् । पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकीका पवन घर्तीमगर दोस्रो तथा बागमतीका दीपक तिमल्सिना तेस्रो स्थानमा रहे ।

४९ केजी पुरुषमा मनीष पहिलो
पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमेका छन् । उनले ५० केजी वजन उठाएका छन् । कर्णालीका रूपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोस्रो तथा बागमतीका रामकाजी मगर तेस्रो भए । दुई दिनसम्म चलेको प्रतियोगितामा मधेशबाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा तीन गरी नौ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । 

यसैबीच सुदूरपश्चिम प्रदेशले पारा तथा विशेष खेलकुदअन्तर्गत पुरुष गोलबलको उपाधि मंगलबार जितेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुदूरपश्चिमले सानो ठिमी क्लबलाई २४–५ गोलले पराजित ग¥यो । प्रतियोगितामा ललितपुर क्लब तेस्रो भयो । प्रतियोगितामा सहभागी चार टोलीले सुरुमा राउन्ड रोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । लिगका विजेता र उपविजेता पुनः उपाधिका लागि भिडेका थिए । 

सुझावित समाचार