शिरीष फाउन्डेसनले १९औँ एसियाली खेलकुद प्रतियोगितामा कराँतेमा रजत जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष तथा ओलम्पियन शिरीष गुरुङ र एरिकाले प्रायोजनसम्बन्धी एकवर्षे सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरेका छन् । फाउन्डेसनले एरिकालाई खेल पोसाक र खेल सामग्री उपलब्ध गराउनेछ ।
यसैगरी, प्रशिक्षण वा प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने फाउन्डेसनले गर्ने जनाएको छ । फाउन्डेसनले पदक विजेतालाई प्रोत्साहनस्वरूप मासिक १५ हजार र उत्कृष्ट प्रदर्शनमा छुट्टै विशेष पुरस्कारको व्यवस्था हुने सम्झौतापत्रमा उल्लेख छ ।
फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले प्राविधिकविज्ञको सुझावअनुसार एसियाडकी रजत विजेता एरिकालाई छनोट गरिएको जानकारी दिएका छन् । सन् २०१७ मा स्थापना भएको फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्तीमगरलाई प्रायोजन गरिसकेको छ ।
सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरीष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको स्रोत भएको बताउँदै फाउन्डेसनसँग जोडिन पाउँदा खुसी लागेको बताइन् । अध्यक्ष शिरीषले प्रतिभावान् खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको जनाए ।