यमनमा डुंगा डुब्दा ३९ आप्रवासीको मृत्यु, १५० बेपत्ता

मंगलबार, २९ जेठ, २०८१
डिजिटल संस्करण

यमनमा दुई सयभन्दा बढी आप्रवासी बोकेको डुंगा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तीमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघको एजेन्सीले जनाएको छ।

यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुंगा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वजनिक गरेको छ। 

प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन्। 
अप्रिलमा, दुई डुंगाहरू जिबुतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो।

आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५० जनाको मृत्यु भएको जनाएको छ।

सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँचसहित मार्गमा कम्तीमा ६ सय ९८ जनाको मृत्यु भएको बताएको छ। आइओएमले मंगलबार जीवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ।

यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन्। अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ।

धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन्, जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन्। 

अगस्टमा ह्युमन राइट्स वाचले साउदी सीमा रक्षकहरूलाई मार्च २०२२ र जुन २०२३ को बीचमा यमनबाट खाडी राज्यमा प्रवेश गर्न खोज्ने कम्तीमा सयौँ इथियोपियालीहरूको हत्या गरेको आरोप लगाएको थियो।

रियादले समूहको निष्कर्षलाई निराधार र भरपर्दो स्रोतहरूमा आधारित नभएको भन्दै खारेज गरेको थियो। 

सुझावित समाचार