चुनावी परिणामले इयूको राजनीति तरंगित, फ्रान्समा मध्यावधि निर्वाचनको घोषणा

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

युरोपेली संघ (इयू)को चुनावमा अति राष्ट्रवादी (दक्षिणपन्थी) समूहको विजयले फ्रान्समा आइतबार राजनीतिक भुइँचालो निम्त्याएको छ। निर्वाचन घाेषणासँगै राष्ट्रपति इमानुएल म्याक्रोँले उच्च जोखिमको कदमको उठाएकाे बताइएकाे छ। 

मध्यमार्गी मूलधारका दलहरूले युरोपेली संसदमा समग्र बहुमत कायम राखे पनि समग्र परिणाममा अति दक्षिणपन्थी दलहरूको सुधार देखिएपछि इयूको राजनीति तरंगित भएको छ। 

अति राष्ट्रवादी समूह फ्रान्स, इटाली र अस्ट्रियामा पहिलो तथा जर्मनी र नेदरल्यान्ड्समा दोस्रो भएको प्रारम्भिक नतिजाले देखाएको छ। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘हामी बायाँ र दायाँबाट अतिवादीविरुद्धमा किल्ला निर्माण गर्नेछौँ।’

सात सय २० सदस्यीय व्यवस्थापिकाको निर्वाचनका लागि २७ देशका ३६ करोडभन्दा बढी युरोपेलीले मतदान गरेका थिए।

इयूको अर्को संसद् र आयोगले युक्रेनमा रुसको जारी युद्ध, अमेरिका–चीन प्रतिद्वन्द्विताका कारण विश्वव्यापी व्यापार तनाव, जलवायु परिवर्तनको संकटकालीन अवस्था र ‘विघटनकारी’ नयाँ डोनाल्ड ट्रम्पको राष्ट्रपतिको सम्भावनाको सामना गर्नुपर्नेछ।

इयूका नेताहरूले जुन २७ देखि २८ सम्म हुने शिखर सम्मेलनअघि जुन १७ देखि नै उनको नाम लिने वा अर्को विकल्प रोज्ने भन्नेबारे निर्णय गर्न थाल्नेछन्।

यद्यपि, फ्रान्समा मरिन ले पेनको दक्षिणपन्थी नेसनल र्याली (आरएन) पार्टीको शानदार जितले म्याक्रोँलाई यति ठूलो झट्का दियो कि उनले पेरिस ओलम्पिकको एक महिनाअघि जुन ३० का लागि राष्ट्रिय विधायिकाको चुनावको आह्वान गरे।  

उनले भने, ‘म केही भएको छैन जस्तो व्यवहार गर्न सक्दिनँ।  फ्रान्सेली जनताले अब आफू र भावी पुस्ताका लागि सबैभन्दा राम्रो विकल्प रोज्नुपर्ने हुन्छ।’

सुझावित समाचार