गाजाबाट चार इजरायली बन्धकको उद्धार

आइतबार, २७ जेठ, २०८१
डिजिटल संस्करण

इजरायली विदेश मन्त्रालयले शनिबार नुसिरातमा अपरेसनको क्रममा गाजामा हमासको बन्दीबाट चारजना बन्धकहरूको सफलतापूर्वक उद्धार भएको घोषणा गरेको छ। 

हमास लडाकु समूहले अक्टोबर ७ मा ’नोभा’ संगीत महोत्सवमा उनीहरूलाई बन्धक बनाएको थियो। इजरायली रक्षा बल, इजरायली सुरक्षा एजेन्सी र इजरायली प्रहरीको संयुक्त विज्ञप्तिमा अधिकारीहरूले मध्य गाजापट्टीमा जारी विशेष अपरेसनमा चारजनालाई फेला पारिएको बताएका हुन्।

‘आज बिहान (शनिबार) नुसिरातमा संयुक्त आइडिएफ, आइएसए र इजरायल पुलिस (यामाम)को संयुक्त अपरेसनमा हमासले बन्धक बनाएको नोआ अर्गामानी, अल्मोग मीर जान, आन्द्रे कोज्लोभ र स्लोमी जिभ गरी चार इजरायली बन्धकहरूलाई उद्धार गरिएको छ। उनीहरूलाई नुसिरातको दुईवटा छुट्टै स्थानबाट उद्धार गरिएको थियो,’ विज्ञप्तिमा जानकारी गराइएको छ। 

इजरायली विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत उक्त विज्ञप्तिलाई पुष्टि गर्दै सबै बन्धकहरू सुरक्षित रहेको र हाल अस्पतालमा सारिएको बताएको छ। 

‘उनीहरूको स्वास्थ्य अवस्था राम्रो छ र थप मेडिकल जाँचका लागि ‘सेवा’ तेल–हासोमर मेडिकल सेन्टरमा सारिएको छ। चारजनालाई हमास लडाकु संगठनले अक्टोबर ७ मा ‘नोभा’ संगीत महोत्सवबाट उनीहरूलाई अपहरण गरेको थियो,’ मन्त्रालयले जानकारी गरायो। 
 
अक्टोबर ७ देखि गाजामा इजरायली सेनाको आक्रमणमा कम्तीमा ३६ हजार आठ सय एक  प्यालेस्टिनी मारिएका र ८३ हजार ६ सय ८० घाइते भएको र पछिल्लो २४ घण्टामा ७० जना प्यालेस्टिनी मारिएको र एक सय ५० जना घाइते भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

सुझावित समाचार