तीन पाकिस्तानी खेलाडी पनि रहेको हेल्प नेपाल पुरुषतर्फ र राष्ट्रिय खेलाडीले भरिएको नेपाल पुलिसले महिलातर्फको उपाधि जिते, उषा भण्डारी र मुवासर राजा वाटो सर्वाेत्कृष्ट खेलाडी घोषित
हेल्प नेपाल स्पोर्टस् क्लब र विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एनभिए लिगको उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले उपाधि हात पारे । हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–१ र पुलिसले एभरेस्ट भलिबल क्लबलाई ३–२ को सेटमा हराएका हुन् । दुवै विधाका विजेताले समान आठ लाख र उपविजेताले चार लाख प्राप्त गरे ।
पुरुषतर्फको प्रतिस्पर्धामा विदेशी खेलाडी हाबी भए । एक प्रकारले उपाधि भिडन्त पाकिस्तानी र भारतीय खेलाडीबीचको जस्तै रह्यो । उपाधि विजेता हेल्प नेपालले माजर अली, अदनान खान र मुब्सान राजा वाटु गरी तीनजना पाकिस्तानी खेलाडी भित्र्याएको थियो । त्यस्तै, सन्जु विक्रम शाह, सन्तोष राना, सुरेन्द्र बम, चित्रबहादुर केसी र कप्तान दीपक थापाको प्रदर्शन उत्कृष्ट रह्यो । गण्डकीले तीन भारतीय खेलाडी समावेश गरेको थियो । गण्डकीमा भारतका उक्रा पाण्डे, सन्तोष एन्थोनी र रमन कुँवरसहित नेपाली खेलाडीहरू हिमाल सुनारी र सुजन चोखाल रवि केसी रहेका थिए ।
विदेशी खेलाडीको साथ पाएपछि दुई टोलीले यसअघि घरेलु प्रतियोगितामा हाबी हुँदै आएका विभागीय टोलीहरू नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपिएफलाई लिग चरणमै रोके । फाइलनमा पहिलो सेट हेल्प नेपालले २५–२२ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट गण्डकीले २५–२० ले जित्दै १–१ को बराबरी गरेको थियो । तर, दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै हेल्प नेपालले लिग चरणमा व्यहोरेको हारको बदला लियो । तेस्रो सेट २५–२० र चोथो सेट हेल्प नेपालले २५–२० ले जितेको हो । लिग चरणको खेलमा गण्डकी ३–२ को सेटमा विजयी भएको थियो । गत चैतमा भएको च्याम्पियनसिपमा हेल्प नेपालले आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।
उषाको सानदार प्रदर्शन
महिलातर्फ स्पाइकर उषा भण्डारीको उत्कृष्ट प्रदर्शनमा पुलिसले एभरेस्ट भलिबलविरुद्ध बदला लिँदै उपाधि जित्यो । लिग चरणमा एभरेस्टले पुलिसलाई ३–१ को सेटमा हराएको थियो । त्यसको बदला समेत पुलिसले लिएका छ । गत चैतमा भएको भलिबल च्याम्पियसिपको फाइलनमा पुलिसलाई ३–१ कै सेटमा हराउँदै एभरेस्टले ऐतिहासिक उपाधि उचालेको हो । लगातार उपाधि जित्ने एभरेस्टको योजनामा विभागीय टोली पुलिस बाधक बनेको छ ।
फाइनलमा उषासँगै कोपिला राना, पुनम चन्द, मनीष चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सेटर कमला पुन र लिबेरो शान्तिकला तामाङले सानदार प्रदर्शन गरेका थिए । यी खेलाडीको प्रभावशाली प्रदर्शनमा पुलिसले सुरुका दुई सेट लगातार जित्यो । पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२३ ले जित्दै २–० को अग्रता बनायो । उपाधिनजिक रहेको पुलिसलाई तेस्रो सेटमा एभरेस्टले २५–२० ले रोकेको हो । तीन भारतीय राष्ट्रिय टोलीका खेलाडी र नेपाली कप्तान अरुणा शाहीको साथ पाएको एभरेस्टले चौथो सेटमा पुनि २५–२० ले नै जित्यो । एभरेस्टबाट अरुणासहित भारतका केपी अनुश्री, सौम्या र सलिना सरभनम रहेका थिए । निर्णायक फाइनल सेटमा पुलिस १५–१२ ले जित निकाल्न सफल भयो । फाइनलमा पुलिसकी उषा नै प्लेयर अफ दी म्याच घोषित भइन् । समग्रमा उनी दोस्रोपटक अवार्ड प्राप्त गर्न सफल भएकी हुन् ।
एपिएफ र पुलिस तेस्रो
प्रतियोगितामा विभागीय टोलीद्वय एपिएफ र पुलिस तेस्रो भएका छन् । पुलिसतर्फ पुलिस र महिलातर्फ एपिएफले तेस्रो स्थान हासिल गरेका हुन् । दुवै टोलीले समान दुई लाख रुपैयाँ प्राप्त गरे । दुवै विधामा आर्मी पराजित हुँदै चौथो स्थानमा रह्यो । महिलातर्फ एपिएफ सोझो सेटमा विजयी भयो । लिबेरो यमुना रसैली, स्पाइकर सरस्वती चौधरी र निरुता ठगुन्नालगायत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेपछि एपिएफ २५–१९, २५–२० र २५–१९ ले विजयी भयो । पुरुषतर्फ सफल विक चम्किएपछि पुलिस ३–२ को सेटमा विजयी हुँदै तेस्रो स्थान हासिल गर्यो ।
उषा र मुवासर राजा सर्वाेत्कृष्ट
उपाधि विजेता पुलिसकी उषा र हेल्प नेपालका मुवासर राजा वाटो प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । दुवै खेलाडी समान दुईपटक प्रतियोगितामा प्लेयर अफ दी म्याच भएका थिए । पाकिस्तानका राजा र नेपाल राष्ट्रिय टोलीकी स्पाइकर उषाले समान ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको लिबेरोमा पुलिसकी शान्तिकला तामाङ तथा हेल्प नेपालका दीपक थापा उत्कृष्ट घोषित भए । सेटरतर्फ पुलिसकै कमला पुन र हेल्प नेपालका अदनान खान, स्पाइकरमा एभरेस्टकी केपी अनुश्री र गण्डकीका सन्तोष तथा सर्भरमा एपिएफकी निरुता ठगुन्ना र गण्डकीका रमन कुमार उत्कृष्ट चुनिए । ब्लकरमा एभरेस्टकी सुर्या र पुलिसका सफल विक तथा प्रशिक्षकमा पुलिसका रुपेशकुमार विष्ट र हेल्प नेपालका उत्सव खड्का घोषित भए । दुवैतर्फको विधागत उत्कृष्टले जनही २० हजार नगर प्राप्त गरेका छन् ।