स्टोइनिसको अलराउन्ड प्रदर्शनमा ओमानमाथि अस्ट्रेलियाको सहज जित

बिहिबार, २४ जेठ, २०८१
डिजिटल संस्करण

आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा अस्ट्रेलियाले ओमानमाथि सहज जित हासिल गरेको छ।

अमेरिकाको ब्रिजटाउनस्थित केन्सिङ्टन ओभल खेलमैदानमा आज बिहान भएको म्याचमा मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनमा अस्ट्रेलियाले ओमानमाथि ३९ रनको जित हासिल गरेको हो। 

अस्ट्रेलियाले पहिलो खेलमा पहिलो जित निकाल्दा ओमानले भने लगातार दोस्रो हार व्यहोरेको हो। यसअघि नामिबियासँगको पहिलो म्याचमा ओमान सुपर ओभरमा पराजित भएको थियो।

आज बिहानको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनाएको थियो। 

अस्ट्रेलियाको इनिङ्समा स्टोइनिसले ३६ बलमा ६७ रनको महत्त्वपूर्ण योगदान दिए। ब्याटिङमा जस्तै उनले बलिङमा पनि सानदार प्रदर्शन गर्दै तीन ओभरमा १९ रन मात्र दिएर तीन विकेट लिए।

यस्तै, डेभिड वर्नरले ५१ बलमा ५६ रनको योगदान दिए। एक सय ६५ रनको विजयी लक्ष्य लिएर उत्रिएको ओमानले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय २५ रन मात्र बनाउन सक्यो। ओमानका आयान खानले सर्वाधिक ३६ रन बनाए।

ओमानलाई कम स्कोरमा रोक्न स्टोइनिसका अलावा मिचेल स्टार्स, नथान इलिस र आडम जम्पाले दुई–दुई विकेट लिए।

जितसँगै अस्ट्रेलिया शीर्ष स्थानमा छ। समान दुई अंक भए पनि नामिबिया दोस्रो स्थानमा छ भने इंग्ल्यान्ड र स्कटल्यान्डको समान एक–एक अंक छ। 

सुझावित समाचार