हमास लडाकु समूहले गाजाको बैंकबाट लाखौँ सेकेल (इजरायली मुद्रा) चोरी गर्न बनाएको योजनाकाे दस्ताबेज इजरायली रक्षा बलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ।
‘हमासले गाजामा रहेका बैंकको सेफ लुट्ने योजनाको दस्ताबेज आन्तरिक रूपमा जारी गरेको एक महिनापछि हमासले गाजापट्टीमा रहेको बैंक अफ प्यालेस्टाइनको शाखाबाट लाखौँ सेकेल चोरी गरेको थियो,’ आइडिएफका अरबी प्रवक्ता लेफ्टिनेन्ट कर्नल अबिचे अद्राईले एक्समा भने।
बैंक अफ प्यालेस्टाइन जुडिया, सामरिया र गाजाभरि शाखा भएको सबैभन्दा ठूलो प्यालेस्टिनी बैंक हो।
‘मार्च १० मिति लेखिएको सो दस्ताबेज अबु जिहाद नामक हमास समूहका सदस्यद्वारा तयार पारिएको थियो। सोहीअनुसार आन्दोलनका सदस्यले गाजामा रहेको बैंक अफ प्यालेस्टाइनका शाखाबाट ४० करोडभन्दा बढी सेकेल चोरेका थिए,’ अद्राईले जानकारी गराए। हमास समूहले पटक–पटक बैंक अफ प्यालेस्टाइनका विभिन्न शाखामा चोरी गरेका छन्।
‘गाजाका बासिन्दाले आर्थिक र सामाजिक संकटको सामना गरिरहेका वेला हमासले आफ्नो साथै आफ्ना सदस्यको अस्तित्वका लागि गाजापट्टीका नागरिकबाट कुनै हिचकिचाहटविना चोरी गरिरहेको छ,’ अद्राईले भने।
गाजाका प्यालेस्टिनी बासिन्दा युद्धबाट विस्थापित भए पनि हमास नेताले वर्षौँदेखि आफू र आफ्नो परिवारलाई समृद्ध बनाउँदै आएका छन्। हमासका नेता इस्माइल हानियाह, खालिद मसाल र मुसा अबु मर्जुकको संयुक्त ११ अर्ब डलरको व्यक्तिगत सम्पत्ति रहेको छ। जब कि संगठनको नेतृत्वले जम्मा एक अर्ब डलरको लगानी पोर्टफोलियो नियन्त्रण गर्ने इजरायलको प्रेस सर्भिसले सेप्टेम्बरमा जानकारी गराएको हो।
युद्धअघि, हमासले इजिप्टबाट तस्करी गरिएका सामानमा २० प्रतिशत कर लगाउने गरेको थियो र गाजाको कालो बजारी व्यापारबाट वार्षिक ४० करोडभन्दा बढी अमेरिकी डलर कमाएको थियो।
अक्टोबर ७ मा गाजाको सीमानजिकै इजरायली समुदायमा हमासको आक्रमणमा कम्तीमा एक हजार दुई सय मानिसले ज्यान गुमाउनुका साथै दुई सय ५२ इजरायली र विदेशीलाई बन्धक बनाइएको थियो। बाँकी रहेका एक सय २५ बन्धकमध्ये ३९ जनाको मृत्यु भएको विश्वास गरिएको छ।