२९ अप्रिलमा जर्जियाको सत्तारूढ ड्रिम पार्टीका संस्थापक एवं मुखिया तथा अर्बपति बिद्जिना इभानिसविलीले आफ्नो दुर्लभ सार्वजनिक सम्बोधनमा अमेरिका र युरोपेली संघलाई ‘विश्वयुद्धका पक्षधर’ भएको र जर्जियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाए । इभानिसविलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लवज टिप्दै विदेशी एजेन्टसम्बन्धी कानुन पुनः लागू गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो कानुनले विदेशबाट २० प्रतिशतभन्दा बढी अनुदान प्राप्त गर्ने संस्थालाई विदेशी प्रभावमा रहेको लेबल लगाउँछ । क्रेमलिन शैलीको यो कानुनले सरकारलाई लोकतन्त्र र विधिको शासनका लागि काम गर्ने एनजिओहरूलाई सिध्याउने, स्वतन्त्र मिडियालाई दबाउने र विपक्षीहरूलाई उन्मूलन गर्ने अनुमति दिनेछ । यस्तोमा जर्जियालाई इयूमा प्रवेश गराउने वाचा गर्दै दिएको उनको भाषण निष्कर्षमा ओर्वेलियन मजाकजस्तो सुनिन्थ्यो ।
१४ मेमा यो कानुन पारित भएपछि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्केको जस्तै निरंकुशतन्त्रतर्फ जर्जियाले मोड लियो । जर्जियाली युवाहरूको अगुवाइमा दसौँ हजार प्रदर्शनकारी आफ्नो असहमति व्यक्त गर्न सडकमा उत्रिएका छन् र सरकारको हिंसात्मक दमनका बाबजुद विपक्षी राजनीतिज्ञ र प्रदर्शनकारीको संख्या बढ्दै गइरहेको छ ।
यही कदम जर्जियाले पहिले पनि उठाएको थियो । पहिलोपटक सरकारले सन् २०२३ को मार्चमा विदेशी एजेन्टविरुद्धको एउटा कानुन ल्याएको थियो, तर व्यापक विरोध प्रदर्शनपछि त्यसलाई फिर्ता लिइयो । त्यसपछि जर्जियालाई इयू सदस्यताको उम्मेदवारको दर्जा दिइयो । यो कदमले धेरै जर्जियालीलाई आफ्नो युरोपेली भविष्यबारे आश्वस्त पार्ने काम ग¥यो । तर, किन इभानिसविलीले युटर्न गरे त त्यो पनि इयू प्रवेशलाई ९० प्रतिशत जनसंख्याको समर्थन रहेको र संसदीय निर्वाचनको सम्मुख ?यसको जवाफ रुसमा छ, जहाँ इभानिसविलीले आफ्नो धन थुपारेका छन् । युरोपलाई चीन र मध्यएसियासँग जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा जर्जिया पुटिनका लागि बहुमूल्य पुरस्कार हो ।
पश्चिमी राजनीतिज्ञ युक्रेन र गाजाका युद्धमा अल्झिरहेका वेला उनीहरूले कृष्णसागर क्षेत्रको एउटा सानो तर रणनीतिक रूपमा महत्वपूर्ण मुलुकमा भूराजनीतिक प्रभाव गुमाउने खतरा देखिएको छ ।
जर्जियाको अनाक्लिया सहरकोे समुद्री बन्दरगाह परियोजनालाई उदाहरणका रूपमा लिन सकिन्छ । सन् २०१६ मा यो बन्दरगाह निर्माण र सञ्चालनको ठेक्का जर्जियाको टिबिसी होल्डिङ र अमेरिकास्थित कोन्टी इन्टरनेसनलको जोइन्ट भेन्चरलाई दिइएको थियो । तर, सन् २०२० मा जर्जियाली सरकारले रुसको दबाबमा त्यो सम्झौता रद्द ग¥यो र अहिले चिनियाँ लगानीकर्ताको बोलपत्रमाथि विचार गरिरहेको छ । यद्यपि, पश्चिमलाई जर्जिया प्रवेश गर्नबाट रोक्न भूराजनीतिक षड्यन्त्र मात्र पर्याप्त हुँदैन । जर्जियाली सरकारलाई मुलुकलाई इयू र नेटोको सदस्यता दिलाउने प्रतिबद्धतातर्फको प्रगति रोक्न घरेलु दमनमा फर्काउनुपर्छ ।
सन् २०१२ देखि सत्ता सम्हाल्दै आएका इभानिसविली सधैँ रुसको ‘ट्रोजन हर्स’ रहिआएका होऊन् वा हालै मात्र लोकतन्त्रले आफ्नो व्यक्तिगत र राजनीतिक स्वार्थ पूरा गर्दैन भन्ने निष्कर्षमा पुगेका हुन् भन्ने कुराले यहाँनेर कुनै अर्थ राख्दैन । दुवैमा परिणाम समान रहनेछ । पुटिनले इभानिसविलीमा एउटा बलियो सहयोगी फेला पारेका छन्, जो जर्जियालाई पश्चिमबाट टाढा राख्न कटिबद्ध देखिन्छन् । युक्रेनको भविष्यका लागि चलिरहेको लडाइँ निर्णायक चरणमा प्रवेश गरिरहेको परिप्रेक्ष्यमा यो उद्देश्य विशेषगरी खतरनाक हो ।
रसियाले उच्च दाउ खेलिरहेको छ । जर्जियाको युरोपेली भविष्यलाई सिध्याइदिँदा क्यास्पियन सागर क्षेत्र र मध्यएसियामा क्रेमलिनको प्रभाव बलियो हुनेछ भने पुटिनलाई रुसी साम्राज्यको पुनर्निर्माण गर्ने आफ्नो उद्देश्य नजिक पुर्याउनेछ । सन् २०२३ को डिसेम्बरमा जब इयूले जर्जियालाई इयू उम्मेदवारको दर्जा दियो, उसका छिमेकी विशेषगरी अर्मेनिया र अजरबैजानलाई इयू यस क्षेत्रको दीर्घकालीन एकीकरणका लागि प्रतिबद्ध रहेको सन्देश सम्प्रेषित भयो । यसले ककेससमा रुसको रणनीतिक पकडको क्षेत्रका रूपमा रहेको अर्मेनियालाई इयूसँग घनिष्ठ सम्बन्ध खोज्न अभिप्रेरित गरेको छ । ऊर्जा र खनिज स्रोतमा धनी यी मध्यएसियाली मुलुकले समेत इयूसँग सहकार्यमा चासो देखाएका छन् । जर्जियाको लोकतान्त्रिक र पश्चिमा आकांक्षालाई कुल्चिँदा यी आफ्ना लागि अवाञ्छित घटनाक्रमको अन्त्य हुने पुटिनको बुझाइ छ ।
जर्जियालीले देशको पुनः रुसीकरणको विरोध गरिरहँदा पश्चिमले पनि प्रतिक्रिया जनाउनुपर्छ । अमेरिका सही दिशामा अघि बढिरहेको छ । जर्जियाको लोकतन्त्रलाई समर्थन गर्ने र यसलाई नष्ट गर्न खोज्ने राजनीतिज्ञ र अधिकारीलाई प्रतिबन्ध लगाउने दुई विधेयक हाउस अफ रिप्रेजेन्टेटिभ्स र सिनेटमा पेस गरिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले जर्जियामा लोकतान्त्रिक प्रक्रिया वा संस्थालाई कमजोर पार्ने जोकोहीलाई भिसा प्रतिबन्ध लगाउने घोषणा गरिसकेका छन् ।
तर, प्रस्तावित यात्रा एवं वित्तीय प्रतिबन्धहरू खोक्रो धम्की मात्र नहून् भन्ने सुनिश्चितता गर्न अमेरिका र इयूले इभानिसविली र उनका सहयोगी र मुख्य खेलाडीमाथि प्रतिबन्ध लागू गर्न आवश्यक छ । यसले जर्जियाको लोकतन्त्रका लागि पश्चिमाहरूको समर्थनको स्पष्ट सन्देश दिनेछ ।
यसबीच जर्जियालाई सन् २०२४ को अक्टोबरमा हुन गइरहेको संसदीय चुनावका दौरान पर्याप्त निर्वाचन पर्यवेक्षकसहित
अभूतपूर्वस्तरको सहयोगको पनि खाँचो छ । जर्जियाका विपक्षी दलले सत्तारुढ दललाई चुनौती दिन युरोप पक्षधर मोर्चा गठन गर्न थालेका छन, उनीहरूलाई बलियो अन्तर्राष्ट्रिय समर्थनको खाँचो हुनेछ ।
आगामी चुनाव जर्जियाको युरोपेली भविष्यबारे जनमतसंग्रह नै हो । यदि ती स्वच्छ भएनन् भने पश्चिमले यो क्षेत्रमा आफ्नो प्रभाव गुमाउने सम्भावना रहन्छ । यस संकटबाट जर्जियाको लोकतन्त्रलाई बचाउन अमेरिका र युरोपेली संघबीच समन्वयात्मक नीति आवश्यक छ । पुटिनका सहयोगीको विजयले जर्जियाली र पश्चिमा दुवैका लागि विनाशकारी परिणाम निम्त्याउनेछ ।
– प्रोजेक्ट सिन्डिकेट (इयूमा जर्जिया मिसनकी पूर्वप्रमुख समदासिविली जर्जियाकी सांसद हुन्)