कोलकता नाइट राइडर्सले मंगलबार सन्राइजर्स हैदराबादमाथि ८ विकेटको सानदार जित निकाली १७औँ इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल स्थान पक्का गरेको छ । अहमेवाद रंगशालामा भएको पहिलो क्वालिफायरमा कोलकाताले ब्याटिङ र बलिङमा एकनासको प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा एक सय ५९ रनको मध्यम योगफलमा समेटियो ।
प्रत्युत्तरमा कोलकाताले १३.४ ओभरमा २ विकेटको क्षतिमा १६४ रन बनाउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । पहिलो क्वालिफायरमा पराजित हैदराबादसमक्ष फाइनल पुग्ने अवसर छ । राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीचको विजेताविरुद्ध हैदराबादले प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेताले कोलकाताविरुद्ध उपाधिका लागि खेल्नेछ ।
चौथोपटक आइपिएलको फाइनल खेल्ने क्रममा कोलकाताका लागि कप्तान श्रेयश ऐयर र वि ऐयरले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेका थिए । दुवैले तेस्रो विकेटका लागि ४४ बलमा ९७ रनको साझेदारी गरेका थिए । श्रेयशले २४ बलमा चार छक्का र पाँच चौका प्रहार गर्दै सर्वाधिक ५८ रन बनाए । वैकश्वरले २८ बलमा पाँच चौका र चार छक्का प्रहार गरी ५१ रनको नटआउट योगदान दिए ।
हैदराबादको कमजोर ब्याटिङ
पहिलो प्ले अफमा हैदराबादको कमजोर ब्याटिङ प्रदर्शन रह्यो । लिग चरणमा उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेको हैदराबादले कोलकाताविरुद्ध फाइनल प्रवेश खेलमा आशाविपरीत ओपनिङ र मध्यक्रम ब्याटिङ गरेको थियो । मिचेल स्टार्कले पहिलो स्पेलमै घातक बलिङ गरेपछि अंक तालिकाको दोस्रो स्थानमा रही प्ले अफ खेलेको हैदराबादले दोस्रो बलमै विकेट गुमायो । मिचेलले ओपनर तथा उत्कृष्ट फर्ममा रहेका ट्रेभिज हेडलाई शून्य रनमा बोल्ड गरे । १.३ ओभरमा अर्का ओपनर अभिषेक शर्मा तीन रनमा क्याच आउट भए । स्टार्कले तीन विकेट लिँदा हैदराबाद ४.६ ओभरमा ३९–४ को दयनीय अवस्थामा रह्यो । नितिष कुमार रेडी र सहवाज अहमेद शून्यमा पेभेलियन फर्के ।
राहुल त्रिपाठी र हेनरिक क्लासेनले पाँचौँ विकेटका लागि ६२ रनको साझेदारी गर्दै हैदराबादलाई १०१–५ को स्थितिमा राखे । हेनरिकले २१ बलमा एक छक्का र तीन चौका प्रहार गरी ३२ रन बनाए । राहुल इनिङ्सको १३.२ ओभरमा आउट भए । रुसेलबाट रन आउट हुनुअघि उनले ३५ बलमा सात चौका र एक छक्का प्रहार गरी सर्वाधिक ५५ रन बनाए । कप्तान प्याट कुमिन्सले २४ बलमा ३० रन बनाउन समान दुई चौका र छक्का प्रहार गरे ।