युवा उमेरमै मस्तिष्कघात हुनु चिन्ताको विषय : उपराष्ट्रपति यादव

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

उपराष्ट्रपति रामसहायप्रसाद यादवले मस्तिष्कघात सामान्यतया ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन्।

उनले ‘नेप्लिज एकेडेमी अफ न्युरोलोजी’को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै उक्त चिन्ता व्यक्त गरेका हुन्। ‘हाम्रो देशमा ४५ वर्षमुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुनु चिन्ताको विषय हो,’ उनले भने, ‘यो डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक छ।’

उपराष्ट्रपति यादवले रोगहरू बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए। ‘आरामदायी जीवनशैली, धुम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ,’ उनले भने, ‘नियमित व्यायाम, स्वस्थकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ।’

उनले न्युरोसँग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अंगमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नुपर्ने बताए। उनले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँबस्तीमा बसोवास गर्ने आमनागरिकलाई समयमै उपचार पाउन अझै गाह्रो रहेकोसमेत बताए।

‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ। यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नुपर्दछ,’ उनले भने, ‘न्युरोसँग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवनरक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील संघसंस्था पनि प्रतिबद्ध हुन जरुरी छ।’

उपराष्ट्रपति यादवले ‘नेप्लिज एकेडेमी अफ न्युरोलोजी’ले न्युरोलोजीसँग सम्बन्धित रोगहरूको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्युरोलोजीको क्षेत्रमा देखिएका समस्या पहिचान गर्न र त्यसको समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा उपराष्ट्रपति यादवले प्रा.डा. दिनेशविक्रम शाह, प्रा.डा. रवीन्द्र श्रेष्ठ र डा. वीरेन्द्रकुमार विष्टलाई संस्थाका तर्फबाट सम्मानपत्रसमेत समर्पण गरे।  संस्थाका अध्यक्ष डा. कृष्णकुमार ओलीले कार्यक्रममा न्युरोलोजीमा देखिएका समस्या र तिनीहरूको निराकरणबारे आफ्नो महत्त्वपूर्ण विचार तथा अनुभव प्रस्तुत गर्ने डाक्टरहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरेका थिए। डा. ओलीले न्युरोलोजीको वर्तमान अवस्था र यसको निराकरणबारे पनि प्रकाश पारेका थिए।

कार्यक्रममा डा. अरुण सायमी, प्रा.डा. दिनेशविक्रम शाह, प्रा.डा. रवीन्द्र श्रेष्ठ र डा. वीरेन्द्रकुमार विष्टलगायतले बोलेका थिए। कार्यक्रम दुई दिनसम्म चल्ने बताइएको छ।

सुझावित समाचार