श्रीमती हत्या गर्ने पूर्वमन्त्रीलाई २४ वर्ष जेल

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

आफ्नी श्रीमतीलाई यातना दिएर हत्या गरेको अभियोगमा कजाकिस्तानका एक पूर्वमन्त्रीलाई २४ वर्षको जेल सजाय सुनाइएको छ । यस घटनाले कजाकिस्तानमा बढ्दै गएको घरेलु हिंसाको घटनाबारे ठूलो बहस सिर्जना गरेको थियो । ४४ वर्षीय कुआन्डिक बिसिम्बेभले उनकी ३१ वर्षीया श्रीमती साल्टनाट नुकेनोभालाई गतवर्ष नोभेम्बरमा बिसिम्बेभकै स्वामित्वमा रहेको रेस्टुरेन्टमा झगडापछि बारम्बार पिटेको सिसिटिभी फुटेज बाहिरिएको थियो । नुकेनोभाको शवको फोरेन्सिक जाँच गर्दा घाँटी थिचेको प्रमाण फेला परेको थियो । 

उच्चपदस्थ व्यक्तिबाट भएको हत्या र घटनाको डरलाग्दो विवरणले देशव्यापी विरोध जन्माएको थियो । त्यस्तै युट्युबमा प्रत्यक्ष प्रसारण गरिएको यस मुद्दाको फैसलालाई लाखौँले हेरेका थिए । यस घटनाले कजाकिस्तानमा महिला हत्याको उच्च दरमाथि पनि प्रकाश पारेको छ । संयुक्त राष्ट्रसंघका अनुसार यो देशमा हरेक वर्ष ४०० महिला तिनका श्रीमान् वा प्रेमीबाट मारिने गरेका छन् । 

अदालतमा बिसिम्बायेभले आफ्नी श्रीमतीलाई कुटपिट गरेको स्वीकार गरे पनि हत्याको आरोप अस्वीकार गरेका थिए । बिसिम्बायेव देशका पूर्वअर्थमन्त्री हुन् । उनी सन् २०२२ मा सत्ता त्याग्नुअघि कजाकिस्तानमा तीस वर्ष शासन गरेका पूर्वराष्ट्रपति नुरसुल्तान नजरबायेभका नजिकका मानिस मानिन्छन् । यसअघि पनि सन् २०१८ मा बिसिम्बायेवलाई भ्रष्टाचारको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो । तर, एक वर्षपछि पनि उनलाई राष्ट्रपति नजरबायेभले माफी दिँदै रिहा गरिएको थियो । नुकेनोभाको हत्यापछि बिसिम्बायेव हिरासतमा थिए । तर, बाहिर भने केही मिडियाले मृतक नुकेनोभाविरुद्ध नै सिलसिलेबद्ध मिथ्या सूचना दिन थालेका थिए । उनले औषधि सेवन गरिरहेकी र मानसिक रूपमा अस्थिर भएकोजस्ता खबर बारम्बार आइरहँदा उनको परिवारले भने ती दाबी गलत भएको बताइरहे ।

सन् २०२२ डिसेम्बरमा बिसिम्बायेभसँग विवाह गरेका नुकेनोभाप्रति बिसिम्बायेभ सुरुदेखि नै हिंसात्मक भएको उनका भाइ अमान्जेल्डीले बताए । अमान्जेल्डीका अनुसार सन् २०२३ को सुरुतिर उनकी दिदीले बिसिम्बायेभको कुटपिटबाट लागेको चोटपटकका फोटोहरू पठाउँदै उनलाई बचाउन आग्रह गरेकी थिइन् । साथै दिदीले ती फोटो आफ्नो मोबाइलमा राख्न डराएकाले भाइलाई बचाएर राख्न भनेकी पनि अमान्जेल्डीले भने ।

नुकेनोभाको हत्यापछि देशमा महिला र बालबालिकाविरुद्ध हुने घरेलु हिंसाविरुद्ध कठोर हुन आह्वान गर्दै अनलाइन अभियान सुरु भएको थियो । त्यस अभियानको समर्थनमा केही हप्ताभित्रै डेड लाखभन्दा बढी हस्ताक्षर प्राप्त भएको थियो । मुद्दाको सुनुवाइ भइरहँदा धेरैले देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनताको कारण यस मुद्दाकी पीडितका परिवारले न्याय पाउनेमा शंका व्यक्त गरेका थिए । नुकेनोभाका परिवार पनि हाल प्राप्त न्यायका पछाडि सार्वजनिक आक्रोशको योगदान रहेको मान्छन् । ‘उनी देशका नाम चलेका राजनीतिज्ञमध्ये एक हुन् । उनी पूर्वराष्ट्रपतिबाट संरक्षित भएकाले पनि धेरैले आशा मारेका थिए,’ नुकेनोभाको परिवारको पक्षबाट वकालत गरेकी झान्ना उराज्बाखोवाले भनिन् । 
 

सुझावित समाचार