ट्रम्पलाई अदालतको कठघरामा उभ्याइरहेकी पोर्न स्टार स्टर्मी डेनियल्स

विवाहेतर सम्बन्ध गोप्य राख्न ट्रम्पले डेनियल्सलाई पैसा दिएको आरोपमा अहिले अदालतमा मुद्दा चलिरहेको छ

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

स्टर्मी डेनियल्ससँग ट्रम्पको अफेयरको हल्ला वर्षौंदेखि चलिरहेकै थियो । अब भने यी पोर्न स्टार ट्रम्पको टाउको दुखाइ बन्दै गएकी छिन् । ट्रम्पविरुद्ध विचाराधीन ‘हस मनी’ (घटनाबारे मुख नखोल्न दिइने रकम) मुद्दाको केन्द्रीय पात्र अहिले डेनियल्स बनेकी छिन् । ट्रम्पविरुद्ध यी वयस्क फिल्मकी अभिनेत्रीलाई आफ्नो विवाहेतर ‘अफेयर’ गोप्य राख्न पैसा दिएको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ ।

सन् २००६ मा यो जोडीबीच अफेयर रहेको हल्ला बाहिरिएपछि डेनियल्सको नाम ट्रम्पसँग जोडिँदै आएको छ । सन् २०१६ मा पहिलोपटक राष्ट्रपतिका लागि प्रतिस्पर्धामा रहेका बखत डेनियल्सको मुखमा बुझो लगाउन गुपचुप दिइएको एक लाख ३० हजार डलरको भुक्तानीसम्बन्धी कागजातमाथि आपराधिक तवरले छेडखानी गरी हेरफेर गरेको आरोप लागेपछि न्युयोर्कमा उनीविरुद्ध मुद्दा चलिरहेको हो । 

 को हुन् स्टर्मी डेनियल्स ?
वास्तविक नाम स्टेफनी क्लिफर्ड रहेकी डेनियल्स दुई दशकभन्दा बढी समयदेखि वयस्क मनोरञ्जन व्यवसायमा संलग्न छिन् । उनले थुप्रै भिडियोमा अभिनय गर्नुका साथै केही वयस्क फिल्मको निर्देशन पनि गरेकी छन् ।  लुजियानामा जन्मेकी यी ४५ वर्षीया युवतीले ‘नक्ड अप’ र ‘द फोर्टी–इयर–ओल्ड भर्जिन’जस्ता मूलधारे कमेडी फिल्ममा पनि अभिनय गरेकी छन् । 

 डेनियल्स भन्छिन्– निर्वस्त्र ट्रम्पको त सामना गरेकी छु, लुगासहितका ट्रम्पसँग डराउने कुरै छैन
 टाइम्ससँगको अन्तर्वार्तामा डेनियल्स भन्छिन्, ‘ट्रम्पलाई छुनै सकिँदैन भन्ने होइन । सत्तासीन हुँदैमा कसैले पनि कानुनबाट उन्मुक्ति पाउँदैन । र, तपाईंको काम जुनसुकै होस्, वा तपाईंसँग जति नै पैसा होस्, तपाईंको कर्मका लागि तपाईंलाई जवाफदेही बनाइन्छ नै ।’ अदालतमा ट्रम्पको सामना गर्न नडराउने उनको कथन छ । ‘मैले नांगो ट्रम्पको त सामना गरेकी छु भने लुगासहितका ट्रम्पसँग म डराउने कुरै छैन,’ उनी भन्छिन् ।

सन् २००६ मा लेक ताहोमा रहेको एउटा होटेलमा ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र सो अफेयरलाई गोप्य राख्न ट्रम्पका वकिलले आफूलाई मौनताको बदलामा सन् २०१६ मा एक लाख ३० हजार डलर (हस मनी) भुक्तानी गरेको डेनियल्सको दाबी रहेको छ । ट्रम्पले भने आफूमाथि लगाइएको यो  आरोप अस्वीकार गरेका छन् र उनीसँग अफेयर कहिल्यै नरहेको बताएका छन् । डेनियल्सका अनुसार ट्रम्पकी पत्नी मेलानियाले छोरा ब्यारोनलाई जन्म दिएपछिको समयमा यो अफेयर चलेको थियो ।

डेनियल्सले सन् २०१८ मा सिबिएस टेलिभिजनको एउटा कार्यक्रमका लागि दिइएको एक अन्तर्वार्तामा सन् २००६ को जुलाईमा लेक ताहोको एउटा ‘सेलिब्रेटी गल्फ प्रतियोगिता’का क्रममा ट्रम्पसँग परिचय भएको र ट्रम्पले आफूलाई डिनरको निम्तो दिएको बताएकी छन् । डेनियल्सका अनुसार ट्रम्पलाई उनले होटेलमा भेटेको र कभरमा आफ्नो तस्बिर छापिएको एउटा गल्फ म्यागजिन पनि देखाएका थिए । उनले उक्त म्यागेजिनले डेनियल्सको पुठ्ठामा जिस्किँदै हिर्काएको र उनीतर्फ फर्किएर आफ्नो प्यान्ट केही तल सारेको तर आफूले उनलाई अस्वीकारोक्तिको मुडमा एकाधपटक धकेलेको बताएकी छिन् । ट्रम्पले उनलाई के तिमी मेरो टिभी कार्यक्रम ‘सेलिब्रेटी अपरेन्टिस’मा देखा पर्न चाहन्छ्यौ त भनेर लालच पनि देखाए । त्यसपछि आफूले बाथरुम जान बहाना बनाएको र फर्किएपछि सहमतिमै असुरक्षित यौनसम्बन्ध राखेको डेनियल्सको कथन छ ।

सन् २००६ मा लेकताहोस्थित होटेलमा ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र त्यसलाई गोप्य राख्न ट्रम्पका वकिलले आफूलाई मौनताको बदलामा सन् २०१६ मा एक लाख ३० हजार डलर (हस मनी) भुक्तानी गरेको डेनियल्सको दाबी

त्यसको अर्को वर्ष भने ट्रम्पले बारम्बार टेलिफोन गरेर उनलाई त्यो सम्बन्धलाई गोप्य राख्न आग्रह गरिरहे । सेलिब्रेटी अप्रेन्टिस कार्यक्रममा निम्त्याउनेबारे कुरा गर्न भनेर ट्रम्पकै निमन्त्रणमा उनले जुलाई २००७ मा लस एन्जलसको बेभर्ली हिल्सस्थित एक होटेलमा फेरि ट्रम्पसँग भेट गरिन् । ट्रम्प सो होटेलमा यौनसम्पर्क गर्न चाहन्थे तर आफूले अस्वीकार गरेको डेनियल्सको आरोप छ । डेनियल्सले यौनप्रस्ताव अस्वीकार गरेको एक महिनापछि ट्रम्पले फोन गरेर आफू उनलाई सेलिब्रेटी अप्रेन्टिसमा स्थान दिन असमर्थ रहेको जानकारी दिए ।

 डेनियल्सलाई चेतावनी र दबाब 
डेनियल्सको दाबीअनुसार उनी यो घटनालाई सन् २०११ मा इन टच पत्रिकाको भ्रातृ प्रकाशनलाई १५ हजार डलरमा सुनाउन राजी भएपछि उनलाई धम्क्याइएको थियो । ‘एउटा मानिस मेरो छेउमा आयो र ट्रम्पलाई छाडिदिन र सो घटनालाई बिर्सिन चेतावनी दियो,’ निहुरिँदै आफ्नी छोरीतर्फ निहाल्दै  उसले धम्कीको भाषा बोलेको डेनियल्स बताउँछिन्, ‘अहाँ सानी कति राम्री रहिछन् । यिनकी आमालाई केही भयो भने एकदमै नराम्रो हुनेछ ।’ 

ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिको रिपब्लिकनतर्फको उम्मेदवारी हात पारेपछि उक्त घटनाको विवरण सुनाउन पैसाको प्रस्ताव गर्दै फेरि मानिसहरू सम्पर्कमा आएको उनले अन्तर्वार्तामा बताएकी छन् । त्यसपछि ट्रम्पका तत्कालीन वकिल माइकल कोहेनले उनलाई यसबारे केही नबोल्न भन्दै हस मनीका रूपमा एक लाख ३० हजार डलर प्रस्ताव गरे । लस एन्जलस्थित संघीय अदालतमा पेस भएका कागजातअनुसार उनले एउटा गोप्य सम्झौतामा हस्ताक्षर गरेकी थिइन्, जसमा भुक्तानीको बदलामा सार्वजनिक रूपमा ट्रम्पसँगको सम्बन्धबारे छलफल नगर्ने वाचा गराइएको छ । उक्त सम्झौतामा डेनियल्सका तत्कालीन वकिल किथ डेभिडसन र कोहेनले पनि हस्ताक्षर गरेका थिए । ट्रम्पको हस्ताक्षरका लागि पनि ठाउँ राखिएको थियो । तर, ट्रम्पले त्यसमा हस्ताक्षर गरेनन् ।

डेनियल्सलाई गरिएको भुक्तानीका विषयमा वाल स्ट्रिट जर्नलले सन् २०१८ मा समाचार लेखेपछि कोहेनले सार्वजनिक रूपमा हस मनी प्रकरण स्विकारे । ‘मैले उनलाई आफ्नै पैसा दिएको हुँ, ट्रम्पले त्यसो गर्ने निर्देशन दिएका होइनन्’, उनले भनेका थिए । तर, पछि अदालतसमक्षचाहिँ सो भुक्तानीको आदेश ट्रम्पले नै आफूलाई दिएको बकपत्र गरिदिए ।सम्झौतालाई अवैध बनाउन खोजेको भन्दै डेनियल्सले ट्रम्प र कोहेनविरुद्ध मुद्दा दायर गरिन् । लगत्तै ट्रम्पका वकिलले अदालतलाई ट्रम्पले सो सम्झौतामा हस्ताक्षर नगरेको र यसलाई लागू गर्न नचाहेको बताए । साथै, यो विषय मिलिसकेको भन्दै उनले दिएको मुद्दालाई खारेज गरिदिन न्यायाधीशसमक्ष अनुरोध पनि गरियो ।

 किन चलिरहेको छ मुद्दा ?
७७ वर्षीय ट्रम्पमाथि डेनियल्सलाई गरिएको भुक्तानीलाई ढाकछोप गर्न आपराधिक रूपमा कारोबार फेरबदल गरेको आरोप लागेको छ । यसैगरी, प्लेब्वायकी पूर्वमोडल कारेन म्याकडोगसँग राखेको यौनसम्पर्कको कुरा सार्वजनिक हुन नदिन उनलाई एक लाख ५० हजार डलरको भुक्तानी गर्ने कार्यमा पनि ट्रम्पकै संलग्नता रहेको आरोप पनि छ ।

अभियोजकहरूका अनुसार तेस्रो आरोप ट्रम्पको विवाहेतर सन्तानबारे जानकारी रहेका ट्रम्प टावरका एक पूर्वद्वारपाललाई कथित ३० हजार डलर भुक्तानीका वरपर केन्द्रित छ । ट्रम्पले डेनियल्सलाई कोहेनले तिरेको रकम कोहेनलाई फिर्ता गरेको कुरा स्वीकार गर्दै यसलाई ट्रम्प अर्गनाइजेसनले कानुनी खर्चको रूपमा प्रतिपूर्ति गरिदिएको बताएका छन् । तर, उनले यी दुवै महिलासँग यौनसम्बन्ध राखेको आरोप भने अस्वीकार गरेका छन् । साथै यी भुक्तानीमा कुनै गलत कार्य नभएको दाबी गरेका छन् । 

उनीमाथि आफ्नाबारे नकारात्मक जानकारी पहिचान गर्न, किन्न र लुकाउन तथा आफ्नो चुनावी सम्भावनालाई अभिवृद्धि गर्न ‘पक्र र समाप्त गर’ योजना चलाएको पनि आरोप छ । ट्रम्पका वकिलहरूले भने यी भुक्तानी ट्रम्प र उनको परिवारलाई अनावश्यक बदनामीबाट जोगाउन र डेनियल्स र डिसिडोगललाई ‘झुटा लाञ्छना’ लगाउनबाट रोक्न गरिएको दाबी गर्ने गरेका छन् । 
– स्काई न्युजबाट

सुझावित समाचार