सन् २०२३ को अन्त्य नजिकिँदै गर्दा युद्ध फेरि अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्र बनिरहेको देख्न सकिन्छ । शक्तिका संसाधन अब समकालीन विश्व–व्यवस्थाको मुख्य हिस्सा मात्रै बनेको छैन, यिनको क्षमताले सिर्जना गर्ने अन्तर्राष्ट्रिय राजनीतिको अराजक प्रकृतिले राष्ट्रको व्यवहारमा पनि प्रभाव पारिरहेको देखिन्छ । यसमा विविध संस्था, बजार र मापदण्डले कुनै राहत उपलब्ध गराउँदैन । बलिया राष्ट्र आफ्नो इच्छाअनुसार काम गर्छन् भने कमजोर मुलुकले सबैभन्दा बढी कष्ट सहनुपर्छ । आजको विश्वमा यही नै ‘न्यु नर्मल’ हो ।
रुसी आक्रामकताविरुद्ध युक्रेनको जवाफी कारबाहीले यस्तो गतिरोध पैदा गरेको छ, जसको कुनै समाधान देखिँदैन । जसै जाडो बढिरहेको छ, यो युद्ध पनि तन्किरहेको छ । दुवै पक्ष युद्ध जित्न ड्रोनमा चाहिनेभन्दा बढी भर परिरहेका छन् । जब कि यी दुवै मुलुकले तुरुन्तै युद्ध जित्ने सम्भावना देखिँदैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दशकदेखिको सत्तालाई निरन्तरता दिन अभियान चलाइरहेका छन् । उनी रुसलाई पश्चिमसामु एक सम्प्रभु–आत्मनिर्भर शक्ति बनाउने वाचा गरिरहेका छन् । उनी रुसले आफ्नो सम्प्रभुतासँग कुनै हालतमा सम्झौता नगर्ने वाचा गरिरहेका छन् ।
यी सबैले युक्रेनका लागि राजनीतिक र कूटनीतिक चुनौती बढाइरहेको छ । उसो त हंगेरीको विरोधका बाबजुद युरोपियन युनियनले युक्रेनसँग सदस्यता–वार्ता सुरु गर्ने निर्णय गरेको छ । निर्णय गरे पनि युरोपियन युनियनका सदस्य किएभलाई सहायता प्याकेज दिनमा सहमत हुन सकिरहेका छैनन् जब कि युक्रेनलाई यस्तो प्याकेज आवश्यक छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालै अमेरिकाको भ्रमण गरेका छन् । तर, उनले ६१ अर्ब डलरबराबरको सैन्य सहायताको मुद्दामा विभाजित अमेरिकाको रिपब्लिकन पार्टीलाई मनाउन सकेनन् । यदि किएभ मस्कोविरुद्ध रणमैदानमा डटिरहने हो भने युक्रेनका लागि अमेरिकी सहयोगको ठूलो महत्व छ । तर, अमेरिकी कांग्रेस (संसद्) सहयोगको बदला उचित प्रत्याभूति र स्पष्ट रूपमा परिभाषित लक्ष्यको माग गरिरहेको छ ।
यसले भ्लादिमिर पुटिनलाई युद्ध जित्न पश्चिमा एकता भाँडिने दिन कुर्नुपर्नेमा विश्वस्त बनाएको छ । परिणामस्वरूप उनले युक्रेनलाई तेस्र्याएको आत्मसमर्पण सर्तलाई थप सख्त बनाएका छन् । पुटिन स्पष्ट रूपमा युक्रेनमा तब मात्र शान्ति आउनेछ, जब रुस आफ्ना लक्ष्य हासिल गर्नेछ भन्ने संकेत दिइरहेका छन् । यसले युक्रेनलाई उसको हैसियत देखाउने पुटिनको इच्छा पूरा भइरहेको देखिन्छ, तर यो इच्छा पूरा गर्ने नाममा पुटिनले रुसको अर्थ–व्यवस्था भने खोक्रो बनाएका छन् ।
युरेसियाको युद्ध कम थियो भन्ने झल्को दिने गरी ७ अक्टोबरमा हमासका लडाकुले पश्चिम एसियामा युद्ध भड्काए । इजरायल आफ्नो गुमेको प्रतिष्ठा फिर्ता पाउन रणमैदानमा उत्रेको छ । तर, इजरायलको युद्ध जतिजति तन्किँदै छ त्यति नै उसले आफ्ना सहयोगीबाट आउनुपर्ने समर्थन गुमाइरहेको देखिन्छ । फ्रान्सले तत्कालै युद्धविरामको पैरवी गरेको छ ।
बेलायत र जर्मनीले अस्थायी युद्धविरामको आह्वान गरेका छन् । यसले इजरायलमाथि आफ्ना कदम फिर्ता लिन दबाब परेको छ । आमनागरिकको मृत्युका खबर दिनानुदिन बढिरहेका छन् । इजरायलले अहिलेसम्म पछाडि हट्न अस्वीकार गरेको छ । उसले युद्धविरामलाई एक गल्तीको संज्ञा दिएको छ किनभने इजरायलका अनुसार यसले हमासका लागि उपहारको काम गर्नेछ । तर, इजरायलभित्र गतिरोध अत्यधिक बढेको छ र यो गतिरोध इजरायली सैन्यबल आइडिएफले बन्धक आदान–प्रदानका वेलामा आफ्नै तीनजना नागरिकको हत्या गरेपछि थप चर्केको छ ।
अहिले इजरायलका लागि टाउको दुखाइको विषय भनेको तेलअभिभ र बाइडेन प्रशासनबीचको बढ्दो चिसोपना हो । अहिले बाइडेनलाई आफ्नै पार्टीभित्र सैन्य अभियानप्रतिको सहयोगलाई नरम बनाउन दिनानुदिन दबाब बढिरहेको छ । यसबाहेक अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलले गाजामाथि अन्धाधुन्ध बमबारी गर्दा वैश्विक समर्थन गुमाउने सुझाव दिएका छन् । यसले पनि बाइडेनको प्राथमिकता झल्काउँछ । परिस्थितिलाई मध्यनजर गर्दा अमेरिकी सरकारमाथि बढिरहेको स्थानीय दबाब हेर्दा राष्ट्रपति बाइडेन इजरायलका लागि लामो समयसम्म कूटनीतिक कवच बनिरहनेछैनन् भन्ने देखिन्छ ।
यी सबै कारणले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि आशाको सम्भावना कमजोर देखिन्छ । निःसन्देह नेतन्याहु आफूलाई सैन्यशक्तिका रूपमा पेस गर्दै उनले आफ्नो उद्देश्य हमासको समूल नाश गर्नु बनाएका छन् । तर, हमासको विचारधारा दिनानुदिन बलियो हुँदै गइरहेको छ । हालैको एक सर्वेक्षणअनुसार वेस्ट–बैंकमा हमासप्रति दिनानुदिन समर्थन बढिरहेको छ । यो समर्थन रोक्न इजरायलसँग कुनै पनि विश्वसनीय अस्त्र अहिले देखिँदैन ।
यी तमाम टकराव भइरहँदा अमेरिका र चीनबीच को श्रेष्ठ हुने भन्ने होडबाजी चलिरहेको छ । धेरै अर्थमा यो होडबाजीको केन्द्र हिन्द–प्रशान्त क्षेत्रमा देख्न सकिन्छ, किनभने सो क्षेत्रमा तनाव अत्यधिक देखिन्छ । पर्दापछाडि पनि कैयौँ तनाव चर्किरहेका छन् । आज ठूला शक्ति परोक्ष युद्धमा संलग्न छन् । यी युद्धमा शत्रुलाई विष खुवाएर हत्या गर्नेसम्मका योजना पनि छन् । यसै वर्ष रुसी सेनाविरुद्ध विद्रोहको आरोप लागेका वाग्नर समूहका प्रमुखको विमान दुर्घटनामा मृत्यु भए पनि औँला भने रुसी राष्ट्रपति पुटिनतर्फ सोझिएको छ । क्यानडामा खालिस्तानी आतंकवादी नेताको हत्याका लागि भारतीय गुप्तचर निकायमाथि आरोप लागेको छ ।
अहिले पाकिस्तानमा दाउद इब्राहिमलाई विष खुवाएको चर्चा पनि सतहमा आएको छ । हाल बल प्रयोगको विश्वव्यापी अव्यवस्था निमिट्यान्न पार्न आवश्यक सामूहिक नेतृत्वको अभाव देखिन्छ । यसको सीधा अर्थ भनेको सन् २०२४ मा थप अनिष्टको सम्भावना देखिन सक्छ ।
(पन्त लन्डनस्थित किंग्स कलेजका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक हुन्) हिन्दुस्तानबाट