प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद-बिक्रीबारे निकै गम्भीर र संवेदनशील रूपमा हेरेको बताएका छन्।
प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था समितिको बैठकमा जवाफ दिँदै उनले विधि–विधानअनुरूप छ–छैन भन्ने हिसाबले गम्भीर रूपमा लिएको छु।
‘एनसेलको ८० प्रतिशत कम मूल्यांकनबारे चासो व्यक्त गरिएको छ। त्यतिवेला म देशबाहिर थिएँ। कोप– २८ मा थिएँ। मैले नियमन सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरण निकायसँग छलफल गरी आवश्यक निर्देशन दिएको छु,’ उनले भने, ‘टंकमणि शर्माको नेतृत्वमा छानबिन समिति गठन भएको छ। समिति बनाएर हामीले ओभरल्याप गरेको होइन। छानबिन समितिले नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा के असर गर्छ भन्ने विषयमा छानबिन गर्छ। त्यहीबमोजिम समितिले अध्ययन प्रतिवेदन एक महिनाभित्र दिन्छ। अहिले छानबिन जारी छ।’
प्रधानमन्त्री प्रचण्डले छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कर प्रशासन सुधारलगायतका विषयमा सरकारले आवश्यक काम–कारबाही अघि बढाउने बताए।
उनले भने, ‘छानबिन समितिको प्रतिवेदन प्राप्त भएपछि कर प्रशासन सुधारका लागि आवश्यक काम–कारबाही अघि बढ्छ। यसबीचमा कतै कसैले कानुनविपरीत काम भएको पाइएमा कानुनबमोजिम कारबाही हुन्छ।’