यू–१९ एसिया कप : नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित

लगातार दुई खेलमा पराजित भएपछि नेपालको समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने आशा समाप्त

सोमबार, २५ मंसिर, २०८०
डिजिटल संस्करण

एसिसी यू–१९ एसिया कपमा लगातार दोस्रो खेलमा पनि हारेपछि नेपाल सेमिफाइनल दौडबाट बाहिरिएको छ । युएईको आइसिसी मैदान–२ मा आइतबार अफगानिस्तानले नेपालमाथि ७३ रनको सानदार जित निकाली अन्तिम चारको आशा जीवितै राखेको छ । नेपालले अंक जोडेको छैन । अफगानिस्तान र भारतले समान दुई खेलबाट २ अंक जोडेको छ । समूह ‘ए’मा पाकिस्तानले लगातार दोस्रो जित निकाली सेमिफाइनल दौड बलियो बनाएको छ । 

पाकिस्तानले पहिलो खेलमा नेपाल र दोस्रो खेलमा भारतलाई हराएको हो । पहिलो ब्याटिङ गरेको अफगानिस्तानको यू–१९ टोलीले ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रनको बलियो योगफल खडा गर्‍यो । प्रत्युत्तरमा नेपालले ४०.१ ओभरमा अलआउट हुँदै १८८ रन बनाएको थियो । नेपालका लागि ओपनर अर्जुन कुमाल शतकीय इनिङ्स खेल्नबाट वञ्चित भए । 

अर्जुनको सर्वाधिक ९१ रन
लक्ष्य पछ्याएको इनिङ्समा नेपालले चौथो बलमै दोस्रा ओपनर विपिन रावललाई शून्यमा गुमायो । अफगानिस्तानका फरिडोनले ७.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिँदा नेपालले सुरुवाती तीन खेलाडीलाई गुमाएको थियो । अफगानी बलर फरिडोनले नेपालका शीर्ष तीन ब्याट्सम्यानलाई पेभेलियन फर्काएका थिए । उनले दीपक बोहरोलाई १५ रन तथा अर्जुनलाई समेत आउट गरे । नेपालले पहिलो पाँच विकेट गुमाउँदा स्कोर बोर्डमा ७९ रन जोडेको थियो । 

इनिङ्सको एक छेउबाट विकेट पतन भइरहँदा पनि ओपनर अर्जुनले आफ्नो विकेट जोगाइराखेका थिए । यद्यपि, उनलाई नेपालका कुनै पनि खेलाडीले गतिलो साथ दिन सकेनन् । नेपालको ब्याटिङमा अन्तिम खेलाडीका रूपमा अर्जुन आउट भएका थिए । उनले पहिलोदेखि १० विकेटसम्म साझेदारी गर्दै नेपाललाई फराकिलो हारबाट जोगाए । अर्जुन इनिङ्सको ४०.१ ओभरमा आउट भएका हुन् । उनले १०८ बलमा १३ चौका प्रहार गर्दै सर्वाधिक ९१ रनको योगदान दिए । 

नेपालका लागि कप्तान देवले ३७ बलमा एक चौका प्रहार गरी २४ रन बनाए । सिनियर राष्ट्रिय टोलीका सदस्य गुलसन झाले २० बलमा दुई छक्काको सहयोगमा १७ रन बटुले । दीपेश कँडेलले १९ बलमा ११ रन बनाए । नेपालको इनिङ्समा चार ब्याट्सम्यानले रन नै बनाएनन् । अफगानिस्तानले नेपाललाई १८ अतिरिक्त रन दिएको थियो । 

जमसिदको शतकीय योगदान
अफगानिस्तानको ब्याटिङमा तीन खेलाडीले उत्कृष्ट योगदान दिए । तेस्रो क्रमका ब्याट्सम्यान जमसिद जार्दानले १०६ रनको शतकीय इनिङ्स खेले । रहिमुल्लाह जुर्मातीले ३५ तथा विकेटकिपर ब्याट्सम्यान नुमान साहले ६० रनको महŒवपूर्ण योगदान दिए । नुमान र जमसिदबीच पाँचौँ किवेटका लागि ९७ रनको साझेदारी भएको थियो । यी दुवै ब्याट्सम्यानले साझेदारी गर्नुअघि अफगानिस्तान ११४–४ को स्थितिमा थियो । नुमान आउट हुँदा अफगानिस्तान ४१.४ ओभरमा २११–५ को बलियो अवस्थमा रह्यो । नुमानले ४१ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

 जसमिदले १५२ बलमा आठ चौका प्रहार गरे । उनी खेलमा रिटायर्ड हट भएका थिए । नेपाली बलरले अफगानिस्तानलाई १६ अतिरिक्त रन दिएका थिए । नेपालका लागि हेमन्त धामीले ६ ओभरमा ३७ रन खर्चेर दु्ई विकेट लिए । गुलसनले ८.३ ओभरमा दुई विकेट लिन ४६ रन खर्चे । यसैगरी सुवास भण्डारीले १० ओभरमा ४९ रन खर्चदै दुई विकेट लिए । 

पाकिस्तानले भारतलाई हरायो 
प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा पाकिस्तानले भारतमाथि आठ विकेटको जित निकालेको छ । पहिलो ब्याटिङ गरेको भारतले ५० ओभरमा नौ विकेट गुमाएर २५९ रनको योगफल खडा गर्‍यो । प्रत्युत्तरमा पाकिस्तानले दुई विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।

पाकिस्तानको जितमा अजान आविस र साद वैगले तेस्रो विकेटका लागि १२५ रनको साझेदारी गरेका थिए । अजानले १३० बलमा १०५ रनको शतकीय इनिङ्स खेले । उनले १० चौका प्रहार गरे । सादले ५१ बलमा आठ चौका र एक छक्का प्रहार गरे । यसअघिको ब्याटिङमा भारतका लागि तीन खेलाडीले अर्धशतक प्रहार गरेका थिए । ओपनर आदर्श सिंहले ६२, कप्तान उदय सहरानले ६० र सचिन दासले ५८ रनको योगदान दिएका थिए । 

सुझावित समाचार