२९ वैशाखमा सप्तरीको राजविराज नगरपालिका– ९ का अर्जुन ठाकुर र वडा नम्बर ८ का विवेक मण्डल जन्तीका लागि घरबाट हिँडेका थिए । मोटरसाइकल विवेकले चलाएका थिए । पछाडि अर्जुन बसेका थिए । उनीहरूको मोटरसाइकल राजविराज–रुपनी सडकखण्डअन्तर्गत मलेठमा दुर्घटनामा पर्यो । विवेकले चलाएको मोटरसाइकलले गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा सामान्य घाइते भएका चालक विवेक तत्काल फरार भए । तर, अर्जुनको टाउकोमा गम्भीर चोट लाग्यो । उनलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगियो । त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना गरियो ।
टाउकोको अप्रेसन तथा ४० दिनको उपचारपछि उनी ९ असारमा डिस्चार्ज भए । उपचारमा १२ लाख रुपैयाँ खर्च भयोे । जुन दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने व्यक्तिका लागि सामान्य थिएन । अर्जुनको परिवारमा पत्नी तथा दुई साना छोरा छन् । घर खर्चको पूर्ण जिम्मेवारी अर्जुनमाथि नै छ । तर, छरछिमेक, वित्तीय संस्थाबाट कर्जा तथा चन्दा संकलन गरेर अस्पतालको खर्च तिरेको अर्जुनकी पत्नी आरती ठाकुरले बताइन् ।
अर्जुनको उपचार पूरा भएको थिएन । टाउकोको एक भागको अप्रेसन गर्न बाँकी थियो । गत २ असोजमा टाउकोको अप्रेसन गरी २५ असोजमा अर्जुनलाई अस्पतालले डिस्चार्ज गर्यो । त्यसवेलासम्म अस्पतालको बिल एक लाख ८० हजार रुपैयाँको भइसकेको थियो । तर, तत्काल अर्जुनको परिवारसँग त्यति पैसा थिएन । पैसा तिर्न नसकेपछि डेढ महिनादेखि अर्जुन अस्पतालमा बन्धकझैँ छन् ।
अर्जुनका भाइ वीरबलका अनुसार उनीहरूसँग त्यहाँ खाने पैसासमेत छैन । ‘घरबाट ल्याएको पैसा सकिसकेको छ, अस्पतालमा रहेका अन्य कुरुवा, सडकमा चन्दा उठाएर खाना खान्छौँ । पैसा तिर्न नसक्दा दाइ अस्पतालमै छ । अस्पतालको बिल दैनिक बढिरहेको छ,’ उनले भने, ‘दैनिक २७ सय रुपैयाँ बेड चार्ज लाग्छ । राउन्डमा आएका चिकित्सकको छुट्टै चार्ज लिइरहेको छ । अस्पतालले उपचारको बिल चार लाख २५ हजार रुपैयाँ भइसक्यो भन्छ ।’
अस्पतालका प्रबन्धक सुधीरसिंह राठौरले अर्जुन अस्पतालमै रहेको बताए । ‘उनी अस्पतालमा छन्, रकम के–कति बाँकी छ, त्यसका लागि फाइल नै हेर्नुपर्छ । यो प्राइभेट अस्पताल हो, उपचार गराएपछि बिल तिर्नैपर्छ, त्यसमा हामी केही गर्न सक्दैनौँ,’ उनले भने । मोटरसाइकलचालक विवेक अझै फरार छन् । अर्जुनकी पत्नी आरतीका अनुसार प्रहरीमा जाहेरी दिएर पटक–पटक ताकेता गरे पनि उनी पक्राउ परेका छैनन् । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेले त्यतिवेला विवेक पनि घाइते रहेकाले छाडेको बताए । ‘त्यतिवेला ऊ पनि घाइते थियो, त्यसैले छाडेका थियौँ, उसको गाडी प्रहरीमै छ । पीडितलाई भेटेर विवेकमाथि कारबाही अगाडि बढाउनेछौँ,’ उनले भने ।
अधिकारकर्मी मनोहर पोखरेलले पैसा तिर्न नसकेकै कारण बिरामी निको भइसक्दा पनि अस्पतालमा राख्न नहुने बताए । ‘नेपालको संविधानले पनि नागरिकलाई उपचारको हक दिएको छ । निको भइसकेका व्यक्तिलाई बन्धक बनाएर अस्पतालमा राख्नु राम्रो कुरा होइन । यो मानवीय दृष्टिकोणले पनि उचित होइन,’ उनले भने ।