भारत र पाकिस्तानबीचको खेललाई सधैँ हेभिवेट भिडन्तका रूपमा लिने गरिन्छ । संसारको जुनसुकै कुनामा भए पनि यी दुईबीचको भिडन्त रोमाञ्चकताले भरिएको हुन्छ । दुई छिमेकी राष्ट्रबीचको राजनीति र आन्तरिक कारणले क्रिकेट खेलमा एक–आपसका प्रतिद्वन्द्वी हुँदा खेल प्रतिस्पर्धात्मक बन्ने गरेको हो । आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा दुई राष्ट्रबीच सन् १९९२ देखि प्रतिस्पर्धा भइरहेको छ । चालू विश्वकपमा भारत र पाकिस्तानबीच शनिबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा खेल हुँदै छ ।
विश्वकपमा उनीहरू लगातार आठौंँपटक भिड्न लागेका हुन् । भारतले अघिल्ला सात भेटमा पाकिस्तानलाई एकपक्षीय रूपमा हराएको छ । पाकिस्तानले भारतलाई एकपटक पनि एकदिवसीय विश्वकपमा हराउन सकेको छैन । यसपटक पाकिस्तान उत्कृष्ट फर्ममा छ । पाकिस्तानका कप्तान बाबर अजाम र भारतका कप्तान रोहित शर्मा पनि लयमा देखिएका छन् । यो खेल ब्याटिङ र बलरबीचको होडबाजीसमेत हो । भारतमा आयोजना भइरहेको विश्वकपमा दुवै टोलीले समान दुई खेल जितेका छन् । भारतले घरेलु मैदान र दर्शकको फाइदा लिन सक्छ । नरेन्द्र मोदी रंगशालामा भारत पाकिस्तानमाथि विश्वकपमा अपराजित यात्रा राख्न चाहन्छ । पाकिस्तान भने विश्वकपमा भारतलाई पहिलोपटक हराउने योजनामा छ ।

सन् १९९२
भारत: २१६/७
पाकिस्तान: १७३/१०
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबीच पहिलो भेट पाँचौँ संस्करणमा भएको थियो । न्युजिल्यान्ड र अस्ट्रेलियाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपको नाम वेन्सन हेड्गेस राखिएको थियो । अस्ट्रेलियाको सिड्नीमा भारतले पाकिस्तानलाई विश्वकपको पहिलो भेटमै ४३ रनले निराश बनाएको थियो । यसै विश्वकपमा सचिन तेन्दुलकरले डेब्यु गरेका थिए । भर्खरका युवा खेलाडी सचिनले पाँचौँ क्रममा ब्याटिङ अर्डर पाएका थिए । एकदिवसीयमा पहिलोपटक उत्कृष्ट ब्याटिङ गरी उनले ५४ रनको महत्ववपूर्ण योगदान गरे । भारतले ४९ ओभरमा सात विकेटको क्षतिमा दुई सय २१ रन बनाएको थियो ।
प्रत्युत्तरमा पाकिस्तान ४८.१ ओभरमा एक सय ७३ रनमा समेटियो । भारतको जितमा मनोज प्रभाकर, कपिल देव र जगवाल श्रीनाथले समान दुई विकेट लिएका थिए । प्रभाकरले एक मेडन राखी २२ रन खर्चेका थिए । पाकिस्तानका लागि आमिर सोहेलले एक सय तीन बलमा ६२ रन र जाभेद मियादाँदले एक सय १३ बलमा ३० रन बनाए । भारतको ब्याटिङमा सचिनले ६२ बलमा तीन चौका प्रहार गरे । ओपनर अजय जडेजाले ४६ रन तथा कप्तान कपिलले २६ बलमा दुई चौका र एक छक्का प्रहार गरी ३५ रन बनाए । भारतसँग पराजित भएको पाकिस्तानले पहिलोपटक विश्वकप उपाधि नै उचाल्यो । पाकिस्तानमा त्यसवेला विश्वस्तरीय फास्ट बलर इमरान खान, अकिव जाभेद र वासिम अक्रम थिए ।
सन् १९९६
भारत : २८७/८
पाकिस्तान : २४८/९
बेंग्लोरको चिन्नस्वामी रंगशालामा भारत र पाकिस्तानबीच क्वार्टरफाइनल भयो । भारतले लगातार दोस्रोपटक पाकिस्तानलाई ३९ रनले हरायो । पहिलो ब्याटिङ गरेको भारतले सात विकेटको क्षतिमा दुई सय ८७ रन बनायो । पाकिस्तानले ४९ ओभरमा दुई सय ४८ रनको योगफल बनायो । भारतको जितमा ओपनर नवज्योतसिंह सिन्धुले सर्वाधिक ९३ रन बनाए । उनले एक सय १५ बलमा ११ चौका प्रहार गरेका थिए । ओपनर सचिन तेन्दुलकरले ३१ रन जोडे । मध्यक्रममा अजय जडेजाले आक्रामक ब्याटिङ गरी २५ बलमा चार चौका र दुई छक्का प्रहार गरी ४५ रन बनाए । पाकिस्तानका लागि वकार युनिस र मुस्ताक अहमेदले समान दुई विकेट लिए । फास्ट बलर अकिव जाभेदले एक विकेट लिन ६७ रन खर्चे ।
प्रत्युत्तरमा पाकिस्तानले ४९ ओभरमा नौ विकेट गुमाएर दुई सय ४८ रन जोड्यो । पाकिस्तानलाई ३९ रनले निराश बनाउन भारतका विंकेटेश्वर प्रसादले तीन तथा अनिल कुम्बलेले तीन विकेट लिए । पाकिस्तानका लागि आमेर सोहेलले ५५ रन र सइद अनवरले ४८ रन बनाए । मध्यक्रममा सलिम मलिका र जाभेद मियादाँदले समान ३८ रन बनाए । पाकिस्तानले पाँच छक्का प्रहार गरेको थियो ।
सन् १९९९
भारत : २२७/६
पाकिस्तान : १८०/१०
मध्यम गतिका फास्ट बलर वेंकेटेश्वर प्रसादले विश्वकपमै पहिलोपटक पाँच विकेट लिएको खेलमा भारतले पाकिस्तानलाई ४७ रनले हरायो । इंग्ल्यान्डको म्यानचेस्टरमा भएको खेलमा भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेट गुमाएर दुई सय २७ रन बनायो ।
खेलमा सचिनले ६५ बलमा ४५ रन र राहुल द्रविडले ६१ रनको योगदान दिए । कप्तान मोहमद अजुरुद्दिनले ५९ रन बनाए । बलिङमा पाकिस्तानका वासिम अक्रमले २७ रन खर्चेर दुई विकेट हात पारे । अजर महमुदले दुई विकेट लिए । सोयब अख्तरले एक विकेट हात पारे ।
पाकिस्तानले तेस्रो भेटमा भारतलाई हराउन सक्ने अवस्था थियो । तर, प्रसादले घातक बलिङ गरेपछि पाकिस्तानले मध्यम योगफल पनि कटाउन सकेन । पाकिस्तान ४५.३ ओभरमा एक सय ८० रनमा अलआउट भयो । पाकिस्तानका लागि मोइन खानले ३४ रन, इन्जमाम उलहकले ४१ रन र सइद अनवरले ३६ रन बनाएका थिए । खेलमा पाकिस्तानका अन्य कुनै पनि ब्याट्सम्यानले गतिलो योगदान दिन सकेनन् ।
सन् २००३
पाकिस्तान : २७३/७
भारत : २७६/४
दक्षिण अफ्रिकाले पहिलोपटक आयोजना गरेको विश्वकपमा भारत र पाकिस्तान पोल ‘ए’मा रहे । विश्वकपमा भारतविरुद्ध पहिलोपटक ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा दुई सय ७३ रनको चुनौतीपूर्ण योगफल खडा गर्यो । प्रत्युत्तरमा भारतले सचिन तेन्दुलकरको विस्फोटक ब्याटिङ मद्दतमा पाकिस्तानमाथि ६ विकेटको जित निकाल्यो । भारतले ४५.४ ओभरमा बाजी मारेको थियो । म्यान अफ दी म्याच सचिनले ७५ बलमा १२ चौका र एक छक्का प्रहार गरी ९८ रन जोडे ।
युवराज सिंहले ५० रन र राहुल द्रविडले ४४ रनको योगदान दिए । पाकिस्तानका लागि वकार युनिसले दुई विकेट लिन ७१ रन खर्चे । फास्ट बलर सोयब अख्तरले ७२ रन दिँदै एक विकेट लिए । यसअघि पाकिस्तानको ब्याटिङमा ओपनर सइद अनवरले एक सय एक रनको शतकीय इनिङ्स खेलेका थिए । उनले एक सय २६ बलमा सात चौका प्रहार गरे । युनिस खानले ३२ रन र मोहमद युसुफले २५ रन बनाए । भारतका लागि जाहिर खानले दुई विकेट हात पारे ।
सन् २०११
भारत : २६०/९
पाकिस्तान : २३१/१०
सन् १९९२ देखिको विश्वकपमा भारत र पाकिस्तानबीचको भिडन्तले निरन्तरता पाइरह्यो । सन् २०११ को सेमिफाइनलमा भारतले पाकिस्तानलाई २९ रनले निराश बनाउँदै फाइनल स्थान पक्का गर्यो । पन्जाब रंगशालामा भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ६० रन बनायो । पाकिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर दुई सय ३१ रन जोड्यो । भारतका लागि ओपनर सचिन तेन्दुलकरले एक सय १५ बलमा ११ चौकाको सहयोगमा ८५ रन र वीरेन्द्र सेहवागले ३८ रन बनाएका थिए । मध्यक्रममा कप्तान महेन्द्रसिंह धोनीले २५ रन र सुरेश रैनले ३६ रन बटुले । पाकिस्तानका लागि वाहव रिआजले ४६ रन खर्चेर पाँच विकेट हात पारे ।
विश्वकपमा तेस्रोपटक फाइनल पुग्ने अवसर पाएको पाकिस्तान दुई सय ३१ रनमा समेटियो । पाकिस्तानका लागि मिस्वाउल हकले सर्वाधिक ५६ रनको योगदान दिए । ओपनर मोहमद हफिजले ४३ रन र असान सफिकले ३० रन बनाए । भारतका लागि पाँचै बलरले समान दुई विकेट हात पारेका थिए ।
सन् २०१५
भारत : ३००/७
पाकिस्तान : २२४/१०
सन् २०१५ को विश्वकपमा भारत र पाकिस्तान पोल बीमा रह्यो । भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा सात विकेटको क्षतिमा तीन सय रन बनायो । पाकिस्तानले ४७ ओभरमा सबै विकेटको क्षतिमा दुई सय २४ रन बनायो । भारतको ब्याटिङमा विराट कोहलीले एक सय सात रनको शतकीय इनिङ्स खेल्न आठ चौका प्रहार गरे । शिखर धवनले ७३ रन र सुरेश रैनले ७४ रन जोडे । बलिङका क्रममा पाकिस्तानका सोहेल खानले ५५ रनमा पाँच विकेट हात पारे । प्रत्युत्तरमा पाकिस्तानका लागि मिस्वाउल हकले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ८४ बलमा नौ चौका र एक छक्का प्रहार गरे । ओपनर अहमेद सेजाहदले ४७ रन बनाए । भारतका लागि मोहमद सामीले ३५ रनमा चार विकेट लिए ।
सन् २०१९
भारत : ३३६/५
पाकिस्तान : २१२/६
गत संस्करणको २२औँ खेलमा भारतले पुनः एकपटक चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानमाथि डिएलएस नियमअनुसार ८९ रनले हरायो । म्यानचेस्टरमा भएको खेलमा भारतले पहिलो ब्याटिङ गरी ५० ओभरमा ६ विकेट गुमाएर तीन सय ३६ रन जोडेको थियो । वर्षाले प्रभावित पारेको खेलमा पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाएर दुई सय १२ रन बनाएको थियो । भारतका लागि म्यान अफ दी म्याच रोहित शर्माले एक सय १३ बलमा एक सय ४० रन बनाए । उनले १४ चौका र तीन छक्का प्रहार गरे । ओपनर लोकेश राहुलले ५७ रन र हार्दिक पाण्ड्याले २६ रन जोडे । पाकिस्तानको ब्याटिङमा फखर जमानले ६२ रन र बाबर अजामले ४८ रन जोडे । यी दुवैबीचको साझेदारी हुँदा पाकिस्तानले जितको आशा देखेको थियो । पुछारका इमाद वासिमले ३९ बलमा ४६ रन र सदाव खानले २० रन बनाए । बलिङमा भारतका लागि विजय शंकर, हार्दिक र कुलदीप यादवले समान दुई विकेट लिए ।
(एजेन्सीको सहयोगमा)