क्यान्डी रंगशालामा भारतीय कप्तान रोहित शर्माले टस जितेका छन्। उनले नेपाललाई पहिलो ब्याटिङ गर्न निम्तो दिएका छन्।
नेपाल र भारतबीच समूह ‘ए’ को महत्वपूर्ण खेल हुँदै छ। खेल ३ः१५ बजे सुरु हुनेछ। नेपाली खेलाडीले ब्याटिङका लागि तयारी गरेका छन्। यस खेलको विजेता सुपर फोरमा पुग्नेछ। टसपछि विश्वप्रसिद्ध अस्ट्रेलियन ब्याट्सम्यान म्याथ्यु हेडनले नेपाली खेलाडीले आत्मविश्वासका साथ खेल्नुपर्ने बताएका छन्।
उनले नेपालका लेग स्पिनर सन्दीप लामिछानेले भारतलाई दबाब राख्न सक्ने जनाएका छन्। अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजका अनुभवी सन्दीपले भारतीय खेलाडीसँग आइपिएलमा खेलेको अनुभव प्रयोग गर्न सक्ने म्याथ्युले बताए।
सन् २०११ को एकदिवसीय विश्वकप विजेता भारतका ओपनर गौतम गम्भीरले पनि नेपालका युवा खेलाडीबाट आशा गर्न सकिने जनाए।
टस हुँदा कप्तानका प्रतिक्रिया
रोहित शर्मा (भारत) : पिचअनुसार पहिलो फिल्डिङकाे निर्णय लिएँ । आजको खेलमा एक खेलाडी परिवर्तन भएको छ। मोहमद सामीले ब्रुमराहको स्थान लिनेछन्।
रोहित पौडेल (नेपाल) : नेपाली क्रिकेटको नजरमा आजको दिन ऐतिहासिक हो । हामीले विश्व क्रिकेटमा आफूलाई प्रमाणित गर्न अवसर पाएका छौँ । यसलाई जतिसक्दो सदुपयोग गर्नेछौँ। भारतसँगको खेलमा एक खेलाडी परिवर्तन भएको छ। आरिफ सेखको स्थानमा भीम सार्कीले स्थान लिनेछन्।