ब्राजिलको रियो दी जेनेरियोमा सञ्चालन भइरहेको आइएसएफ यू–१५ जिम्नासाइडमा तीन नेपालीले निर्णायकको भूमिका निर्वाह गरेका छन् । निर्णायक समूहमा बक्सिङबाट धनकुमार मैनाली तथा तेक्वान्दोका रोशन बोहोरा र राकेशकुमार राई रहेका छन् । रियो दी जेनेरियोको ओलम्पिक पार्कमा भइरहेको प्रतियोगितामा ४४ देशका खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । धनकुमार अन्तर्राष्ट्रिय बक्सिङ महासंघ (आइबा)को मान्यताप्राप्त नेपालका एक मात्र सेकेन्ड स्टार अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
यसअघि उनले थाइल्यान्डको फुकेतमा सम्पन्न फुकेत अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप तथा थाइल्यान्डमै सम्पन्न एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा निर्णायक बनेका थिए । यसैगरी, उज्वेकिस्तानको तासकन्दमा भएको रेफ्री जज सेमिनारमा पनि धन सहभागी भएका थिए । ब्राजिलको अनुभवले आफूलाई थ्री स्टार निर्णायक बन्न महत्वपूर्ण भूमिका खेल्ने र अन्य अवसर पनि प्राप्त गर्न सक्ने धनकुमार बताउँछन् ।
‘आसन्न एसियाली खेलकुदमा सिफारिस हुन सके मैले एसियाली खेलकुदमा निर्णायक बन्ने अवसर छ । ब्राजिलको यो अनुभवले मलाई थप अनुभवी बनाउन मद्दत पुगेको छ,’ धनले भनेका छन् । त्यसैगरी, तेक्वान्दोका रोशन र राकेश तीन दिनसम्म सञ्चालन भएको तेक्वान्दो प्रतिस्पर्धामा निर्णायक बनेका थिए ।