एन्फाको विशेष साधारणसभामा भौतिक उपस्थितिको माग

बिहिबार, ७ भदौ, २०८०
डिजिटल संस्करण

सहिद स्मारक ए, बी र सी डिभिजन लिगका ३२ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)को २४ भदौमा हुने विशेष साधारणसभामा अनिवार्य रूपमा भौतिक उपस्थितिको माग राखेका छन् । साधारणसभामा केन्द्रीय सदस्य, जिल्ला, प्रदेश र चार संघसँगै अन्य पदाधिकारी भौतिक रूपमै उपस्थित हुनुपर्ने क्लबहरूले बुधबार माग राखेका हुन् । पदाधिकारीहरूलाई दबाब दिन क्लबहरूले बुधबार संयुक्त हस्ताक्षर गर्दै एन्फा र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरीसमेत दिएका छन् ।

सातदोबाटोस्थित एन्फाको केन्द्रीय भवनमा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्का, कार्यवाहक महासचिव अरुणमान जोशी र कोषाध्यक्ष रवीन्द्र जोशीलाई उजुरीपत्र बुझाए । अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अस्ट्रेलिया पुगेका छन् । क्लबका पदाधिकारीहरूले राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई भेटेरै पत्र बुझाए । 

एन्फाको यसअघिका बैठकमा पदाधिकारीहरूलाई भौतिक उपस्थिति अनिवार्य थिएन । उनीहरूलाई ‘भर्चुअल उपस्थिति’को व्यवस्था गरिएको थियो । तर, महत्वपूर्ण साधारणसभा भएका कारण सबै पदाधिकारी अनिवार्य रूपमा भौतिक रूपमै आउनुपर्ने ३२ क्लबले माग राखेका हुन् । ए डिभिजनको जावलाखेल युथ, बी डिभिजनका पुल्चोक युथ, प्लानिङ ब्वाइज र झम्सिखेल युथ तथा सी डिभिजनबाट स्वयम्भू, बागमती युवा क्लब र खालीबारी युवा क्लबले हस्ताक्षर गरेका छैनन् । नेपाल पुलिस, त्रिभुवन आर्मी र एपिएफ क्लबले पनि हस्ताक्षर गरेका छैनन् । 

एन्फाको धारा ३६ अनुसार विशेष साधारणसभा वा बैठकमा पदाधिकारी भौतिक रूपमै उपस्थित हुनुपर्ने उल्लेख छ । विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्चुअल कार्यक्रम गर्न पाइन्छ । 

गत १९ साउनमा एन्फाको कार्यसमितिले २४ भदौमा विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो । महासचिव राईले २३ साउनमै साधारणसभामा उपस्थित हुन ४५ जिल्ला, चार संघ, ए, बी, सी डिभिजन लिग क्लब, राष्ट्रिय लिगमा छनोट भएका चार क्लब, सात प्रदेश र एन्फा कार्यसमिति पदाधिकारीलाई पत्र पठाएका थिए । २४ साउनमा बोलाइएको साधारणसभा भर्चुअल माध्यमबाट गर्ने भनिएको छ । 

 बहिष्कार गर्ने चेतावनी
एन्फा र राखेपमा उजुरी गरेका ३२ क्लबले भौतिक उपस्थिति अनिवार्य नगरे बहुमत सदस्यद्वारा साधारणसभा बहिष्कार गर्ने चेतावनी दिएका छन् । एन्फाको विधानमा विशेष साधारणसभामा अनिवार्य उपस्थित हुनुपर्ने लेखिएको छ । विधान मिचेर भर्चुअल माध्यमबाट विशेष साधारणसभा आयोजना हुँदा बहिष्कार गर्ने क्लबका एक पदाधिकारीले बताए । ‘नेतृत्व पक्षले विधानमै उल्लेख नभएको काम गर्दा हामी पनि बहुमत सदस्यद्वारा साधारणसभा नै बहिष्कार गर्छाैं,’ उनले नयाँ पत्रिकासँग भने । बहुमत सदस्यले साधारणसभा बहिष्कार गरे कार्यसमिति बैठक बसी १५ दिनभित्र अर्काे साधारणसभा बोलाउनुपर्ने प्रावधान छ । 

 निर्वाचनपछिको पहिलो साधारणसभा
०७९ असारमा चुनावी साधारणसभापछि पहिलोपटक एन्फा साधारणसभा हुन लागेको हो । क्लबहरूले विधानको धारा ३६ बमोजिम भौतिक उपस्थिति गराउन जोडदार माग राखेका छन् । ‘एन्फा विधानको धारा ३६ बमोजिम सम्पूर्ण सदस्यको भौतिक उपस्थितिमा साधारणसभा गराउन जोडदार माग छ,’ संयुक्त रूपमा हस्ताक्षर भएको विज्ञप्तिमा उल्लेख छ, ‘विधानमा स्पष्ट रूपमा विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्चुअल बैठक गर्न मिल्ने व्यवस्था भएकाले सदस्यहरूको भौतिक उपस्थितिमा विभिन्न विषयमा समेत सहज छलफल गर्न पाउने विधानको धारा ३७ (६) सम्बद्ध व्यवस्थालाई कुण्ठित नगरियोस् भन्ने हाम्रो ठम्याइ छ ।’ विधानमा महामारी र असहज अवस्था मात्र भर्चुअल बैठक वा साधारणसभा गर्न सकिने प्रावधान छ । 

सुझावित समाचार