साबिक विजेता लुम्बिनीको विजयी सुरुवात

सोमबार, ९ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौं/ साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो सिजनको उद्घाटन खेलमा सानदार जित निकालेको छ। लज्जास्पद ब्याटिङ गरेपछि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स लुम्बिनीसँग ७ विकेटले पराजित भयो।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर सुरुमा बलिङ गर्ने निर्णय लिएका थिए। बलर हाबी भएपछि टस हारेको सुदूरपश्चिमका ब्याटर चल्नै सकेनन्। सुदूरपश्चिम १७.२ ओभरमा अल आउट हुँदा मात्र ८७ रन बनाउन सक्यो। प्रत्युत्तरमा लुम्बिनीले ९.५ ओभरमै ३ विकेट गुमाएर ८८ रन बनायो।

कम स्कोर बनाउने खराब इतिहासबाट भने सुदूर बच्यो। यसअघि जनकपुरले एनपिएलको इतिहासमा सबैभन्दा कम स्कोर बनाएको थियो। पहिलो संस्करणमा जनकपुर सुदूरपश्चिमविरुद्ध मात्र ५१ रन बनाएर अल आउट भएको थियो। यस्तै, दोस्रोमा पोखराले चितवनविरुद्ध ७४ रन बनाएको थियो।

लुम्बिनी गत संस्करणको विजेता हो। सुदूरपश्चिमलाई नै हराएर लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन भएको थियो।

लुम्बिनी लायन्सले प्लेइङ लिस्टमा कप्तान रोहित, सन्दीप जोरा, तिलक भण्डारी, आसिफ शेख, दिलीप नाथ, शेर मल्ल र किशोर महतोलाई अवसर दिएको थियो। विदेशी खेलाडीमा दिलन्था डिकवेला, डार्सी सर्ट, साड्ले भान र समिम हुसैन खेलेका थिए।

सुदूरपश्चिमले विदेशी खेलाडीहरू सइब जैब, ब्रान्डन म्याकमुलन, स्कट कुग्लिन, सेरफन रुथरफर्डलाई खेलाएको थियो । नेपाली खेलाडीमा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा र अनिल खरेल खेलेका थिए।

तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए।

दोस्रो इनिङ्समा लुम्बिनीलाई जित दिलाउन अस्ट्रेलियन ब्याटर डार्सी सर्टले १८ बलमा ४० रन बनाए । ४ चौका र ३ छक्का प्रहार गरेका उनलाई अनिल खरेलले वेष्ट इन्डिजका ब्याटर रुथफोर्डबाट क्याच गराएका थिए । जनकपुरबाट लुम्बिनी पुगेका आसिफ शेखले ३२ रनको योगदान दिए । डेब्यु खेलमा उनले २५ बल खेल्दा समान दुई चौका र छक्का हिर्काए। श्रीलंकन निरोशान डिकवेलाले ७ रनमात्रै बनाए। कप्तान रोहित ५ रनमा अविजित रहे।

सुदूरपश्चिमको लागि अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रले एक विकेट लिए।

पहिलो इनिङ्समा सुदूरपश्चिम रोयल्सको लागि कप्तान दीपेन्द्र सिंह ऐरीबाहेक कुनै पनि खेलाडीले ठूलो स्कोर बनाउन सकेनन्। दीपेन्द्रले २३ बलमा चार चौकासहित सर्वाधिक २७ रन बनाए। दीपेन्द्रलाई किशोर महतोले १२.३ ओभरमा बोल्ड गर्दा सुदूरपश्चिमले ८ विकेट गुमाउँदा मात्र ७० रन बनाएको थियो।

यसअघि ओपनर साइफ जैवले १३ रन बनाए । उनले १४ बलमा २ रन हिर्काएका थिए । ओपनर विनोद भण्डारी ९, आसिफ शेख डक आउट, ब्रान्डन म्याकमुलेन २, इशान पाण्डे ७ तथा दर्शकले रुचाएका वेष्ट इन्डिजका ब्याटर शेरफन रुथरफोर्ड पनि मात्र १ रन बनाएर आउट भएक थिए । स्कट कुगेलेइन पनि डक आउट हुँदा सुदूरपश्चिमले ९.५ ओभरमा ७ विकेट गुमाउँदा ५७ रन बनायो । १०औं ओभरमा स्पिनर शेर मल्लले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भएको थियो । किशोरले पनि १३ ओभरमा लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम सानो स्कोरमै खुम्चिन बाध्य भयो । हेमन्त धामी पनि डक आउट भए । 

लुम्बिनीको लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिएका थिए । उनले मात्र २८ रन खर्चिए । यसबाहेक शेर मल्लले चार ओभरमा ४ विकेट दिएर ३ विकेट हात पारे । साड्ली भान, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १ विकेट लिएका थिए । 

भोलि मंगलबार दुई खेल हुनेछन् । पहिलो खेलमा १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो ५ बजे हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछन् ।

सुझावित समाचार