काठमाडौं/ नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सले उत्कृष्ट सुरुवात गरेको छ । एनपिएलको तेस्रो सिजनको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै अलआउट गरेको छ।
लुम्बिनीका लागि किशोर महतो र शेर मल्लले उत्कृष्ट बलिङ गरे। महतोले चार ओभरमा २८ रन दिएर ४ विकेट लिए भने मल्लले ११ रन ३ विकेट लिए।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रनको योगदान दिए ।
पावरप्लेमै चार विकेट गुमाएको सुदूरपश्चिमले त्यसपछि कमब्याक गर्न सकेन। १७.२ ओभरमा सुदूरपश्चिम अलआउट भएको हो।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पोडेलले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय लिँदा सफल भए । बलर हाबी भएपछि सुदूरपश्चिमका ब्याटर चल्नै सकेनन् । सुदूरपश्चिम १७.२ मा अल आउट हुँदा मात्र ८७ रनमा आउट भएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीबाहेक कुनै पनि खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् ।
दीपेन्द्रले २३ बलमा चार चौकासहित सर्वाधिक २७ रन बनाए । दीपेन्द्रलाई किशोर महतोले १२.३ ओभरमा बोल्ड गर्दा सुदूरपश्चिमले ८ विकेट गुमाउँदा मात्र ७० रन बनाएको थियो । यसअघि ओपनर साइफ जैबले १३ रन बनाए । उनले १४ बलमा २ रन हिर्काएका थिए । ओपनर विनोद भण्डारी ९, आसिफ शेख डक आउट, ब्रान्डन म्याकमुलेन २, ईशान पाण्डे ७ तथा वेस्ट इन्डिजका ब्याटर सेरफन रुथरफोर्डले मात्र १ रन बनाए । स्कट कुगेलेइन पनि डक आउट हुँदा सुदूरपश्चिमले ९.५ ओभरमा ७ विकेट गुमाउँदा ५७ रन बनायो ।
१०औँ ओभरमा स्पिनर शेर मल्लले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भएको थियो । किशोरले पनि १३ ओभरमा लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम सानो स्कोरमै खुम्चिन बाध्य भयो । हेमन्त धामी पनि डक आउट भए । लुम्बिनीको लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिएका थिए । उनले मात्र २८ रन खर्चिए । यसबाहेक शेर मल्लले ३ तथा साड्ली भान, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान १ विकेट लिएका थिए ।
यसअघि जनकपुरले पहिलो संस्करणमा सुदूरपश्चिमविरुद्ध नै मात्र ५१ रन बनाएर अल आउट भएको थियो । यस्तै, दोस्रोमा पोखराले चितवनविरुद्ध मात्र ७४ रन बनाएको थियो । लुम्बिनी गत संस्करणको विजेता हो । सुदूरपश्चिमलाई नै हराएर लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन भएको थियो । सुदूरपश्चिमको प्लेइङ लिस्टमा विदेशी खेलाडीहरू सइब जैब, ब्रान्डन म्याकमुलन, स्कट कुग्लिन, सेरफन रुथरफर्डलाई खेलाएको छ । नेपाली खेलाडीमा विकेटकिपर विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, हेमन्त धामी, अविनाश बोहोरा र अनिल खरेल छन् । लुम्बिनी लायन्सको प्लेइङ लिस्टमा कप्तान रोहित, सन्दीप जोरा, तिलक भण्डारी, आसिफ शेख, दिलीप नाथ, शेर मल्ल र किशोर महतो छन् ।
विदेशी खेलाडीमा दिलन्था डिकवेला, डार्सी सर्ट, साड्ले भान र समिम हुसैन छन् । यसअघि प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए ।