काठमाडाैं- तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि भिडन्तअगाडिसम्म तीनपटक मात्र दुई सय रनको योगफल बनेको छ । लगातार दोस्रोपटक लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् । समूह चरणदेखि क्वालिफायर २ सम्म एनपिएलमा कुल ३१ खेल भए । तर, तीनपटक मात्र दुई सय रनको योगफल बनेका छन् । यसमध्ये पोखरा एभेन्जर्सले दुई र चितवन राइनोजले एकपटक दुई सय रनभन्दा धेरैको योगफल बनाए । त्रिवि मैदानमा पछिल्लो बुधबार भएको पहिलो इलिमिनेटर खेलमा चितवनले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरी एनपिएलकै सर्वाधिक योगफल खडा गर्यो । उसले काठमाडौं गोर्खाजविरुद्ध रेकर्ड राखेको थियो । समग्रमा पाँच ठुला योगफल यस्ता छन् :
१. पोखरा एभेन्जर्स २२४/३, काठमाडौं गोर्खाज १६९/१०,
पोखरा ५५ रनले विजयी
चालू एनपिएलमा पोखराले आफ्नो अन्तिम खेलमा आक्रामक ब्याटिङ गर्यो । समूह चरणकै अन्तिम खेलमा पोखराले काठमाडौं गोर्खाजविरुद्ध एनपिएल इतिहासकै सबैभन्दा ठुलो योगफल खडा गर्यो । पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा तीन विकेट गुमाएर दुई सय २४ रन बनायो । प्रत्युत्तरमा काठमाडौं एक सय ६९ रनमा समेटिँदा पोखरा ५५ रनले विजयी भयो । यस खेलमा पोखराका कुशल भुर्तेलले ५१ बलमा ९९ रनको योगदान दिएका थिए । उनी एक रनले शतकीय इनिङ्स खेल्न चुकेका थिए । उनले आफ्नो विस्फोटक इनिङ्समा समान आठ चौका र छक्का प्रहार गरेका थिए । पोखराले ठुलो योगफल खडा गर्नुपछाडि क्यानडाका युवा ब्याट्सम्यान युवराज सम्राले ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरेका थिए ।
२. पोखरा एभेन्जर्स २१७/३, कर्णाली याक्स १५४/१०
पोखरा ६३ रनले विजयी
एनपिएल इतिहासमा दुई खेलमा दुई सय रनको योगफल कटाउने पोखरा पहिलो टोली हो । त्रिवि क्रिकेट मैदानमा १९औँ खेलमा पोखराले कर्णाली याक्सविरुद्ध २१९/३ को प्रदर्शन गरेको थियो । पहिलो ब्याटिङ गरेको पोखराका लागि युवराज सम्राले ४८ बलमा एक सय दुई रनको योगदान दिएका थिए । चालू एनपिएलमा उनी शतक बनाउने पहिलो ब्याट्सम्यान हुन् । उनले आफ्नो इनिङ्समा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी, कुशल भुर्तेलले ३९ बलमा सात छक्काको सहयोगमा ६२ रन तथा कप्तान चमिका करुनारत्नेले ११ बलमा समान तीन छक्का र चौका प्रहार गरी ३५ रन जोडेका थिए । कर्णालीले १८.३ ओभरमा सबै विकेट गुमाएर एक सय ५४ रन जोडेको थियो ।
३. चितवन राइनोज २०४/४, काठमाडौं गोर्खाज १४३/९
चितवन ६५ रनले विजयी
चितवनले इलिमिनेटर चरणमा उत्कृष्ट ब्याटिङ गर्यो । ‘गर या मर’को प्रतिस्पर्धामा पहिलो ब्याटिङ गरेको चितवनले २० ओभरमा चार विकेट गुमाएर दुई सय चार रन बनाएको थियो । बलियो ब्याटिङ मानिएको काठमाडौंले चितवनविरुद्ध उत्कृष्ट प्रदर्शन गर्न सकेन ।
अस्ट्रेलियाका डेभिड वार्नर घर फर्किंदा काठमाडौंले आक्रामक ब्याटिङ गर्न नसकेको मानिन्छ । चितवनले एनपिएल इतिहासमा आफ्नो सबैभन्दा धेरै योगफल खडा गर्ने क्रममा श्रीलंकाली खेलाडी कमिल मिसराको साथ पायो । उनले एक सय २० रनको शतकीय इनिङ्स खेले । यसक्रममा उनले ५९ बलमा १० छक्का र पाँच चौका प्रहार गरेका थिए । यसैगरी, कप्तान रवि बोपाराले ५३ रनको महत्वपूर्ण योगदान दिए ।
४. विराटनगर किंग्स १८६/७, कर्णाली याक्स १८७/६
कर्णाली चार विकेटले विजयी
चालू एनपिएलमा सबैभन्दा रोमाञ्चक खेल विराटनगर र कर्णालीबिचको रह्यो । यस खेलमा कुल तीन सय ७३ रन बनेको थियो । विराटनगरले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर एक सय ८६ रन बनाएको थियो । प्रत्युत्तरमा कर्णालीले १९.५ ओभरमा ६ विकेटको क्षतिमा एक सय ८७ रन जोड्यो । कर्णालीलाई सनसनी जित दिलाउन कप्तान सोमपाल कामीले अलराउन्ड प्रदर्शन गरेका थिए । उनले ब्याटिङमा ३२ बलमा ६२ रन तथा बलिङमा ३३ रन खर्चेर चार विकेट लिएका थिए । विराटनगरको ब्याटिङमा लोकेश बमले ५२ बलमा नौ छक्का र तीन चौका प्रहार गरी ८७ रन बनाए ।
५. कर्णाली याक्स १८०/६, काठमाडौं गोर्खाज १८१/६
काठमाडौं चार विकेटले विजयी
एनपिएलको १०औँ खेल हाई स्कोरिङ भयो । काठमाडौं गोर्खाज र कर्णाली याक्सले एक–आपसमा प्रतिस्पर्धा गरेका थिए । पहिलो ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ६ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । प्रत्युत्तरमा काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर एक सय ८१ रन बनाउँदै कर्णालीलाई स्तब्ध बनायो । काठमाडौंको जितमा कप्तान करण केसीले २० बलमा ४४ रनको योगदान दिएका थिए ।