काठमाडौं । एसिया कप राइजिङ स्टार्सअन्तर्गत जारी खेलमा भारत ‘ए’ले नेपाललाई ३३३ रनको लक्ष्य दिएको छ। दुई खेलाडीको शतकप्रेरित भारतले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३३२ रनको योगफल तयार गरेको हो।
भारतका कप्तान तिलक बर्मा र कुमार कुशाग्राले शतक प्रहार गरे। कुशाग्राले १०२ बलमा सर्वाधिक ११७ रनको योगदान गर्दा ११३ बल सामना गरेका बर्माले ६ चौका र चार छक्का मद्दतमा १०७ रन बटुले । सूर्यांश सेदगेले नटआउट ३६ तथा वैभव सूर्यवंशीले २६ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन विकेट लिए। नन्दन यादवले दुई विकेट निकाल्दा पवन सर्राफले एक मेडनसहित एक विकेट हात पारे।