फेरि चलेन सुदूरपश्चिमको ब्याटिङ

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

सुदूरपश्चिम गत वर्ष फाइनलमा गरेको ब्याटिङ बिर्सन चाहन्थ्यो । फितलो ब्याटिङकै कारण सुदूरपश्चिम लगातार दोस्रोपटक फाइनलमा पुगेर पनि उपविजेतामा सीमित बन्यो । दोस्रोपटक फाइनलमा पुग्दा लुम्बिनीविरुद्ध सुदूरपश्चिमले १९.१ ओभरमा ८५ रन मात्र बनायो ।

लुम्बिनीले भने प्रतिओभर ९.५५ रनरेटमा ब्याटिङ गरी केवल नौ ओभरमै चार विकेटको क्षतिमा सानदार जित निकाल्यो । एक वर्षअघि लुम्बिनीसँगको उपाधि भिडन्तमा ब्याटिङमा धरमराएको सुदूरपश्चिमले तेस्रो संस्करणको उद्घाटन खेलमा त्यही पीडा सामना गरेको छ । सुरुदेखि अन्तिमसम्म उसले प्रशंसनीय ब्याटिङ गर्न सकेन । स्कोर बोर्डमा मात्र यति मात्र फरक थियो, उसले यसपालि लुम्बिनीविरुद्ध थप दुई रन बढी जोड्यो ।

अर्थात् यसपटक सुदूरपश्चिमले लुम्बिनीविरुद्ध सबै विकेट गुमाएर ८५ रन जोड्यो । यद्यपि, दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको सुदूरपश्चिम कम स्कोर बनाउने खराब इतिहासबाट बच्यो । एनपिएलमा जनकपुरले सबैभन्दा कम स्कोरको रेकर्ड राखेको छ । पहिलो संस्करणमा सुदूरपश्चिमविरुद्ध जनकपुर ५१ रनमा अलआउट भएको थियो । सो संस्करणमा जनकपुर नै च्याम्पियन बन्यो । दोस्रो संस्करणमा पोखराले चितवनविरुद्ध मात्र ७४ रन बनाएको थियो । एनपिएलमा अब तेस्रो कम योगफल बनाउने सुदूरपश्चिम बनेको छ ।

आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्
त्रिवि मैदानमा कहिलेकाहीँ साँझ परेपछि स्पिनर र मध्यम गतिका बलरले भरपूर फाइदा लिन्छन् । तेस्रो संस्करणको उद्घाटन खेलमा यस्तै देखियो । स्पिनर शेर र मध्यगतिका बलर किशोरले समग्रमा सात विकेट लिँदा सुदूरपश्चिमको बलियो देखिएको ब्याटिङ एकाएक कमजोर बन्यो । उसले पहिलो पाँच विकेट केवल ५३ रन र बाँकी ३४ रनको अन्तरमा गुमाएको थियो । आठ ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अनुभवी आरिफ शेखले ६ बल खेलेर पनि खाता खोल्न सकेनन् । स्कट र हेमन्त धामी डकआउट भए । सो इनिङ्समा कप्तान दीपेन्द्रसिंह मात्र क्रिजमा टिकेर बसे । उनले २३ बलमा दुई चौका प्रहार गरी २७ रन जोडे । गत वर्ष फाइनलमा उनले लुम्बिनीविरुद्ध २० बलमा १३ रन जोडेका थिए ।

फेरि शेर नै घातक
बायाँहाते बलर शेर मल्लले सुदूरपश्चिमलाई विशेष प्रतिद्वन्द्वीकै रूपमा लिन्छन् । सहभागी अन्य फ्रेन्चाइज टोलीभन्दा सुदूरपश्चिमसँगको प्रतिस्पर्धामा उनको बलिङमा फरक धार आउँछ । ब्याक टु ब्याक शेरले साबिक उपविजेताविरुद्ध घातक बलिङ प्रदर्शन गरेका छन् । मंगलबार त्रिवि क्रिकेट मैदानको पिच स्लो हुँदा उनले त्यसको फाइदा उठाए । उनी चार ओभर बलिङ गरी ११ रन खर्चेर तीन महŒवपूर्ण विकेट लिन सफल भए । इनिङ्सको ३.१ ओभरमा अनुभवी ब्याट्सम्यान विनोद भण्डारी, ९.२ ओभरमा वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान रुथफोर्ड र ९.४ ओभरमै स्कट कुग्गेलिजिनको विकेट लिँदै उनी खेल लुम्बिनीतर्फ तान्न सफल भए ।

स्कटलाई गुमाउँदा सुदूरपश्चिम स्कोर बोर्डमा ५६/७ को स्थितिमा थियो । शेरलाई विकेटको अर्कोतर्फ किशोर महतोले साथ दिए । किशोरले आफ्नो स्पेलमा १४ रन दिएर चार विकेट हात पारे । गत संस्करणको फाइनलमा शेरले चार ओभरमा १८ रन दिएर तीन विकेट लिएका थिए । त्यसवेला उनले आरिफ शेख, हर्मित सिंह तथा ईशान पाण्डेको विकेट लिएका थिए ।

सुझावित समाचार