काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत मंगलबार भइरहेको खेलमा विराटनगर किङ्ग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। विराटनगरको निर्णयसँगै चितवन राइनोजले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरिरहेका छन् भने चितवन राइनोजको नेतृत्व कुशल मल्लले सम्हालिरहेका छन्।
विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जिसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद, सुजन थपलियालगायत खेलाडी छन्। विदेशी खेलाडीका रूपमा आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, चरिथ असलंका, इमरान शेख र शुभम रन्जाने पनि टोलीमा छन्।
यस्तै, चितवन राइनोजको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा, कलिम साना, विवेक यादव, मौसम ढकाल, हसन अली र उसामा मिरलगायत खेलाडी छन्।
मंगलबार नै अपराह्न साढे ४ बजे हुने अर्को खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन्। जनकपुरको कप्तानी हर्मित सिंहले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन्।
सोमबारदेखि सुरु भएको एनपिएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको थियो। प्रतियोगिताको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन्।
यस संस्करणमा पहिलोपटक डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग गरिएको छ। साथै, प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले यसपटक प्रतियोगिताको पुरस्कार राशि पनि बढाएको छ। उपाधि विजेताले एक करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ८० लाख रुपैयाँ पाउनेछ।