सुदूरपश्चिममाथि लुम्बिनीको सानदार जित

सुदूरपश्चिमले दिएको ८८ रनको सहज लक्ष्य साबिक विजेता लुम्बिनीले ९.५ ओभरमै भेट्टायो

मंगलबार, १० कार्तिक, २०८३
प्रिन्ट संस्करण

साबिक विजेता लुम्बिनी लायन्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा च्याम्पियन शैलीमा सानदार जित निकालेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिमविरुद्ध लुम्बिनीले सोमबार सात विकेटको जित निकालेको हो । लुम्बिनीले गत वर्षको फाइनलमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पोडेलले टस जितेर बलिङ गर्ने निर्णय सही देखिए । लुम्बिनीका सिमर बलर हाबी भएपछि पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ मा अल आउट हुँदा स्कोर बोर्डमा केवल ८७ रन मात्र जोड्यो । प्रत्युत्तरमा लुम्बिनीले ९.५ ओभरमै तीन विकेटको क्षतिमा ८८ रन बनायो । लुम्बिनीलाई सहज जित दिलाउने क्रममा अस्ट्रेलियाका डार्सी सर्टले १८ बलमा चार चौका र तीन छक्का प्रहार गरी ४० रनको योगदान दिए ।

nullदोस्रा ओपनर आसिफ शेखले २५ बल खेलेर समान दुई चौका र छक्का प्रहार गरी ३२ रन बनाए । दुवैले पहिलो विकेटका लागि ६.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए । कप्तान रोहितले विजयी चौका प्रहार गरे । उनले तीन बलमा पाँच रन बनाए । लुम्बिनीले खेल सकिनु ६१ बलअघि जित निकाल्यो ।

यसपटक शेख जनकपुरबाट लुम्बिनी पुगेका हुन् । लुम्बिनीविरुद्ध सुदूरपश्चिमका अनिल खरेलले दुई तथा कप्तान दीपेन्द्रले एक विकेट लिएका थिए ।

null

सुदूरपश्चिमको ब्याटिङ चलेन
पहिलो इनिङ्समा सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंहबाहेक अन्य खेलाडीले ठुलो स्कोर बनाउन सकेनन् । दीपेन्द्रले २३ बलमा चार चौकासहित सर्वाधिक २७ रन बनाए । उनलाई किशोर महतोले १२.३ ओभरमा बोल्ड गरे । त्यसवेला सुदूरपश्चिमले आठ विकेट गुमाउँदा मात्र ७० रन बनाएको थियो । ओपनर सैफ जैबले १३ रन बनाए । उनले १४ बलमा दुई चाैका हिर्काएका थिए । ओपनर विनोद भण्डारी ९, आरिफ शेख डकआउट भए । ब्रान्डन म्याकमुलेन २, ईशान पाण्डे ७ तथा वेस्ट इन्डिजका ब्याट्सम्यान सेरफन रुथरफोर्ड १ रनमा पेभेलियन फर्के ।

स्कट कुगेलेइन पनि डकआउट हुँदा सुदूरपश्चिमले ९.५ ओभरमा ७ विकेट गुमाउँदा ५७ रन बनायो । १०औँ ओभरमा स्पिनर शेर मल्लले दुई विकेट लिएपछि लुम्बिनी खेलमा हाबी भएको थियो । किशोरले पनि १३ ओभरमा लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम सानो स्कोरमै खुम्चिन बाध्य भयो ।

लुम्बिनीका लागि किशोर महतोले सर्वाधिक ४ विकेट लिएका थिए । उनले २२ रन खर्चिए । यसबाहेक शेर मल्लले चार ओभरमा ११ रन दिएर तीन विकेट हात पारे । साड्ली भान, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान एक विकेट लिएका थिए ।

मंगलबारको टिकट सोल्ड आउट
एनपिएलअन्तर्गत मंगलबार दुई खेल हुनेछन् । खेल सुरु हुनु एक दिनअघि नै टिकट सोल्ड आउट भएको आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । पहिलो खेल १२:३० बजे विराटनगर किंग्स र चितवन राइनोजबिच हुनेछ । साँझ ५ बजे कर्णाली याक्सले जनकपुर बोल्ट्सको सामना गर्नेछ । यसअघि उद्घाटन दिनको टिकट तीन दिनअघि नै सोल्ड आउट भएको थियो । 

सुझावित समाचार