काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग– ३ को दोस्रो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको हो।
प्रतियोगिताको पहिलो अर्धशतक प्रहार गरेका डेभिड मलानले चितवनको ब्याटिङलाई लय प्रदान गरे। ५० बल सामना गरेका उनले पाँच चौका र पाँच छक्काको मद्दतमा ७० रन प्रहार गरे।
कप्तान रवि बोपराले नटआउट ३२ रनको योगदान गर्दा ड्यान मोस्लीले नटआउट २९ रन जोडे। त्यसअघि देव खनाल र अर्जुन साउद क्रमशः १२ र तीन रन जोडेर पेभेलियन फर्किए। खनालले १५ र साउदले नौ बल सामना गरेका थिए।
विराटनगरका लागि एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असालंकाले समान एक विकेट हात पारे।