साउन २० र २१ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

मंगलबार, ९ साउन, २०८०
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ गते काठमाडौंमा बस्ने भएको छ ।  बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्युरो सदस्य दिलु पन्तले आगामी माघमा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर संगठनलाई थप विस्तार गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

बैठकले पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना तथा रणनीति तयार गर्ने उनकाे भनाइ छ । यही साउन १८ र १९ गते बस्ने पोलिटब्युरो बैठकमा पार्टीका सबै जनवर्गीय संगठनको कार्यसम्पादनको समीक्षा गरिने जनाइएको छ ।

आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न सक्ने गरी पार्टीको संरचना र सामर्थ्य विस्तारका लागि आवश्यक राजनीतिक गतिविधिसमेत सञ्चालन गर्ने योजना बैठकले तयार गर्नेछ । यही साउन १६ र १७ गते पार्टीको स्थायी कमिटीको बैठक बस्नेछ ।

यही साउन १५ गते बस्ने सचिवालय बैठकले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीको प्रस्ताव तयार पार्नेछ । बैठकको निर्णयलाई मूर्तरूप दिन अनौपचारिक छलफल गरी कार्यान्वयनका लागि शीर्षनेतालाई जिम्मेवारी प्रदान गरिनेछ ।     
 

सुझावित समाचार