नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदूत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन्।
सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा भएको भेटमा दुई देशको सम्बन्धबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले बताए। भेटमा आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने, सहयोगका क्षेत्रहरू फराकिलो बनाउने, नेपालमा लगानी भित्र्याउने, पर्यटक भित्र्याउने कुरामा जोड दिएको उनले बताए।
भेटमा नेपाल एयरलाइन्सले कोरियामा उडान भर्नुपर्ने विषयमा पनि छलफल भएको र दक्षिण कोरिया उडानले आवागमनमा सहज हुने विश्वास रहेको उनले बताए।