दुई वर्षपछि अन्तर्राष्ट्रिय कोर्टमा उत्रेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीले काभा महिला भलिबल च्यालेन्ज कपमा सोमबार किर्गिस्तानलाई २५–११, २५–१९ र २१–११ को सोझो सेटमा पराजित गरेको छ । स्पाइकरद्वय उषा भण्डारी र निरुता ठगुन्नाले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल किर्गिस्तानमाथि सहज जित निकाल्दै समूह ‘ए’मा तीन अंक जोडेको छ ।
समूहको अर्काे खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा पाखा लगाउँदै तीन अंक हात पार्यो । नेपालले मंगलबार बंगलादेशसँग खेल्नेछ । नेपालले सन् २०२१ मा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन उपाधि जितेपछि नेपाली महिला खेलाडी पहिलोपटक कोर्टमा उत्रिएका हुन् ।
नेपालका प्रशिक्षक जान डी ब्रान्ट र कप्तान अरुणा शाही खुसी देखिएका छन् । प्रशिक्षक र कप्तानले भारतविरुद्धको खेलमा केन्द्रित हुने बताएका छन् । ‘दुई वर्षपछि पहिलो खेल खेल्यौँ, सुरुमा केही गाह्रो भयो, सर्भिस र रिसिभमा गल्ती भयो,’ कप्तान अरुणाले नयाँ पत्रिकासँग भनिन्, ‘पहिलो खेल राम्रो भएको छ, डेब्यु खेलाडीले पनि राम्रो गरे ।’ प्रशिक्षक ब्रान्टले धेरै गल्ती भएको र खेलाडी सुस्त देखिएको प्रतिक्रिया दिए । ‘हामीले किर्गिस्तानविरुद्ध सहज जित पायौँ, तर खेलाडी सुस्त देखिए, उनीहरूले धेरै गल्ती गरे,’ ब्रान्टले भने । यसअघि प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक समारोहबीच गरेका थिए ।
उषा र निरुता चम्किए
युवा स्पाइकर उषा र निरुताले किर्गिस्तानविरुद्ध सानदार प्रदर्शन गरेका थिए । मुख्य स्पाइकरद्वय प्रतिभा माली र सरस्वती चौधरीको अभावमा उषा र निरुता प्रभावशाली देखिए । प्रतिभा घाइते भएका कारण टोलीबाट बाहिर छिन् । अर्की स्पाइकर सरस्वती चौधरी किर्गिस्तानसँगको खेलमा बेन्चमा बसिन् । कप्तान अरुणाले उनलाई भारतविरुद्ध खेलाउने बताइन् । प्रशिक्षक ब्रान्टले स्पाइक जिम्मेवारी उषा र निरुतालाई सुम्पिए । पुनम चन्द अलराउन्डर भूमिकामा रहिन् । मिड ब्लकमा संगम महतोले डेब्यु गरिन् । कप्तान अरुणाले सेटर र लिबेरोमा सलिन श्रेष्ठले सम्हालेका थिए । उषा र निरुताले सुरुमै अंक बटुल्दै नेपाललाई दबाबरहित बनाए ।
दोस्रो सेटमा निरुताले सर्भिसबाट लगातार ११ अंक जोडेकी थिइन् । दार्चुलाकी आउटसाइड हिटर निरुताले सन् २०१९ मा बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोनबाट स्थान बनाएकी थिइन् । तर, उनी १३औँ सागपछि टोलीबाट बाहिरिइन् । सन् २०२१ मा नेपालले दोस्रोपटक सेन्ट्रल जोनको उपाधि जित्दा निरुता टोलीबाहिर थिइन् । किर्गिस्तानविरुद्ध उनको सानदार पुनरागमन भयो ।
संगम र रिमाको डेब्यु
प्रशिक्षक ब्रान्टले मिड ब्लकर संगम र ब्याक स्पाइकर रिमा कुँवरलाई डेब्यु गराए । त्रिभुवन आर्मी क्लबमा आबद्ध संगमले किर्गिस्तानविरुद्ध सेटमै रहेर खेलिन् । चितवनकी संगमले किर्गिस्तानको स्पाइकरलाई रोकेकी थिइन् । पहिलो सेटमा उनले सानदार प्रदर्शन गरेपछि किर्गिस्तानले खुलेर खेल्न सकेन । पर्वतकी ब्याक स्पाइकर रिमाले तेस्रो सेटमा संगम महतो स्थानमा कोर्ट प्रवेश गरेकी हुन् । यसैगरी, प्रशिक्षक ब्रान्टले कामना विष्टलाई वैकल्पिक खेलाडीका रूपमा प्रयोग गरे । सेटर प्रगति नाथ, मिड ब्लकर कविता भट्ट, स्पाइकर पूजा चौधरी र लिबेरो शान्तिकला तामाङ बेन्चमै रहे ।
पहिलो खेल राम्रो भयो
अरुणा शाही, कप्तान, नेपाल
धेरैपछि खेल खेल्दा गाह्रो भयो । सर्भिस, रिसिभ र ब्लकमा धेरै गल्ती भए । अब बंगलादेशसँग सहज हुनेछ । हामीले भारतविरुद्ध ध्यान दिनुपर्छ । त्यहीअनुसार नेपालको तयारी हुनेछ । डेब्यु गरेका खेलाडीले पनि राम्रो गरे । प्रशिक्षकले सिकाएकोजस्तो खेल अझै भएको छैन । आउने खेलमा गल्तीलाई सुधार गर्दै खेल्नुपर्छ ।
हामीले धेरै गल्ती गर्यौँ
जान डी ब्रान्ट, प्रशिक्षक, नेपाल
किर्गिस्तानविरुद्ध सहज जित पायौँ । पक्कै पनि हाम्रो समूहमा बंगलादेश कमजोर छ । हामीले बलियो भारतविरुद्ध ध्यान दिनुपर्छ । भारतको अट्याक, ब्लक र सर्भिस निकै राम्रो छ । हामीले उनीहरूको यसै बलियो पक्षमा ध्यान दिनुपर्छ । किर्गिस्तानविरुद्ध हामीले धेरै गल्ती गरेका छौँ । खेलाडीले धेरै सुस्त खेल खेले । सर्भिस, रिसिभ र ब्लकमा अझै सुधार गर्नुपर्छ ।
राम्रो खेल्न प्रयास गर्यौँ
काडिरोभ, कप्तान, किर्गिस्तान
प्रतिस्पर्धामा आयोजक नेपाल बलियो टोली हो । हामीले पहिलो खेल नै नेपालसँग खेल्नुपर्यो । नेपाल साबिक विजेता पनि हो । नेपाली खेलाडीमा आत्मविश्वास छ । यद्यपि, हामीले राम्रो खेल खेल्ने प्रयास गर्यौँ । अब बाँकी खेल जित्न खेल्छौँ ।