खालिस्तानसमर्थक नेता अमृतपाल सिंह पञ्जाबबाटै पक्राउ

आइतबार, १० बैशाख, २०८०
डिजिटल संस्करण

खालिस्तानसमर्थक नेता अमृतपाल सिंहलाई पक्राउ गरिएको छ। उनलाई पञ्जाबको मोगाबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनी गत मार्च १८ देखि फरार थिए। पञ्जाब प्रहरीले सोही दिनदेखि उनी र उनको संगठन ‘वारिस पञ्जाब दे’विरुद्ध कारबाही सुरु गरेको थियो।

अमृतपाल सिंहलाई राष्ट्रिय सुरक्षा ऐन (एनएसए)अन्तर्गत पक्राउ गरिएको हो। सिंह र उनका सहयोगीहरूमाथि वर्गविभेद फैलाएको, ज्यान मार्ने प्रयास गरेको, प्रहरीमाथि हमला, सरकारी कर्मचारीका कानुनी काममा बाधा पुर्याएको अभियोगमा फौजदारी मुद्दा चालाइएको थियो।

गत मार्च २८ मा अमृतपाल र उनका सहयोगीहरू पञ्जाबकै होसियारपुरमा रहेको गोप्य जानकारी पाएपछि प्रहरीले खोजी अभियानलाई तीव्र पारेको थियो। पञ्जाब प्रहरीले राज्यका बासिन्दालाई शान्ति सुव्यवस्था र सदभाव कायम राख्न अपिल गर्दै भ्रामक समाचार नफैलाउन आग्रह गरेको छ। प्रहरी कारबाहीसम्बन्धी विवरणहरू क्रमशः सार्वजनिक गरिने पञ्जाब प्रहरीले सामाजिक सञ्जालमार्फत जनाएको छ।

गुप्तचर निकायहरूका अनुसार अमृतपाल सिंहले पाकिस्तानी गुप्तचर निकाय इन्टर सर्भिसेस इन्टेलिजेन्समार्फत हतियार ल्याएर पञ्जाबलाई साम्प्रदायिक आधारमा विभाजन गर्न खोजेका छन्। उनले युवा वर्गलाई बन्दुक संस्कृतितर्फ डोर्याएको आरोप छ।

सुझावित समाचार