लोप हुँदै छन् चरा

प्रत्येक प्राणी अरूमा निर्भर हुन्छन् । यदि पक्षीहरू संकटमा छन् भने निश्चयका साथ भन्न सकिन्छ, बाँकी प्रणाली पनि संकटमा छ ।

बुधबार, ६ बैशाख, २०८०
डिजिटल संस्करण

सन् १९७० यता बेलायतको आकाशबाट चार करोडभन्दा धेरै चराचुरुंगी लोप भइसकेका छन् । विलोपीकरणको यो प्रवृत्तिले हाम्रो जीवनदायिनी सञ्जाललाई नै खतरामा पारेको छ ।वसन्त ऋतुको मेरो अधिकांश बिहानी चराचुरुंगीको संगीत सुनेर बित्छ । मेरो स्थानीय इलाकाको सुस्वास्थ्य ठिकठिक भएको थाहा पाउन र यो संसारले जसरी काम गर्नुपर्ने हो, धेरै हदसम्म त्यसरी नै काम गरिरहेको छ भन्ने कुरामा आफूलाई आश्वस्त पार्न पनि म चराहरूको चिरबिराहट सुन्छु ।

डर्बिसायरको बक्सटनस्थित मेरो आवासमाथिको खरानेको रुखमा बसेर मलाई बिहानीको पक्षीगीत सुनाउन आउने अब एक मात्र जुरेली भएको छ । जब म मेरो यस एकल प्रस्तोताको चिरबिर सुन्छु, तब उत्तरी स्कटल्यान्डको केप वार्थदेखि केन्टको किंग्सडाउनसम्म उसको आवाज अन्य लाखाैँ शुभप्रभाती पक्षीहरूसँग एकाकार हुन्छ भन्ने आभास मात्रले मलाई थप आनन्द मिल्छ । भित्री सहरमा समेत बस्ने निलो रंगका सानदार चिपुर्के, अनि गाँउघरतिर रमाउने रानीचरी र कल्चौडा, त्यसैगरी स्कटल्यान्डका कन्दरामा पाइने फिस्टा र टिकटिकेहरूको गुन्जन । यो एउटा यस्तो सामूहिक प्रस्तुति हो, जुन ब्रिटेनका सबै मानिसका लागि निःशुल्क उपलब्ध छ । 

हामीसँग पर्याप्त समय छ र अवसर मिल्यो भने हामी हाम्रो यो ग्रहमा हरेक वैशाखका बिहानी हुने सबैभन्दा ठूला परिघटनामध्ये एकमा आफूलाई एकाकार गराउन सक्छौँ । चराचुरुंगीको संगीत युरेसिया र उत्तरी अमेरिकाका सबै ठाउँमा बिहानीको उज्यालोसँगै सुरुवात हुन्छ । संगीतपूर्ण यो माहोललाई हरेक दिन सूर्यको पुनरागमनमा पृथ्वी आल्हादित भएको रूपमा लिन सकिन्छ ।

यो विश्वव्यापी कोरस (समस्वर)ले हामीलाई पृथ्वी जोगाउने अनुष्ठानमा एकताबद्ध गर्न सक्छ । तर, हालैको एक रिपोर्टले उजागर गरेअनुसार यस नित्यकर्ममा पक्षीहरूको सहभागिता अरूभन्दा धेरै कम हुदै गएको छ । जुनकुनै दृष्टिले बेलायतका चराचुरुंगीहरू अहिले खतरनाक अधोगतिको दिशामा देखिएका छन् ।

सन् १९७० यता बेलायतमा चराहरूको संख्या चार करोड र सन् १९८० यता युरोपमा ६० करोडले घटेको छ । बेलायती आँकडाले विशेषगरी जुरेली र हुटिट्याउँ जस्ता खेतबारीमा पाइने चराका प्रजातिहरूको स्थिति निकै खराब रहेको देखाउँछ । यसैबीच, उत्तर अमेरिकी महाद्वीप विशेषगरी अमेरिकामा सन् १९७० यता चराहरूको संख्यामा लगभग एकतिहाइले कमी आएको छ । समग्रमा चराहरूको संख्या तीन अर्बले घटेको छ । 

सन् १९७० यता बेलायतमा चराको संख्या चार करोड र सन् १९८० यता युरोपमा ६० करोडले घटेको छ 

यो क्षति दुःखद छ । तर, यसबाट जुन कुरा दाउमा लागेको छ, त्यो हामीले हाम्रा छिमेकी (पक्षीहरू)मा धेरै पहिलेदेखि आरोपित गरेको सौन्दर्यात्मक रोमाञ्चकता वा तिनको अस्तित्वको सुनिश्चितताको विषय मात्र होइन । एल्डोस हक्सलेले एकपटक भनेका थिए, ‘यदि तपाईंले अंग्रेजीका काव्यबाट चराहरूलाई निकाल्नुभयो भने तपाईंले राष्ट्रको आधा पद्य गुमाउनुपर्नेछ ।’

पर्यावरणीय क्षति सांस्कृतिक दरिद्रता हो भनेर हामीले अझै बुझ्न सकेका छैनौँ । तर, यसको पाठ अहिले हामीमाझ उपस्थित छ । भान विलियम्सको ‘द लार्क एसेन्डिङ’विनाको संगीत, चाइकोभस्कीको ‘स्वान लेक’विनाको ब्याले, किट्सको ‘ओड टु अ नाइटिंगेल’विनाको कविता, जेए बेकरको ‘द पेरेग्रिन’विनाको साहित्य । के हामी यस्तो कल्पना गर्न सक्छाँै ?
विज्ञानको रूपमा पारिस्थितिकीले १५० वर्षको इतिहासमा जीवन असीम रूपमा जटिल तर सधँै अन्तरसम्बन्धित प्रक्रियाको रूपमा कसरी कार्य गर्छ भन्ने कुरा उजागर गरेको छ । प्रकृतिको एउटा भागको परिघटनाको हामी अन्य स्थानमा ठूला र प्रायः अप्रत्यासित, यहाँसम्म कि प्रतिकूल, दुष्परिणाम देख्न सक्छौँ । यसको उत्कृष्ट र ताजा चित्रण सन् २०१७ मा जर्मनीमा गरिएको ‘क्रेफेल्ड’ नामक एक अध्ययनमा देख्न सकिन्छ । 

यो अध्ययनले ६० वर्षसम्म गरिएको कृषिजन्य विषादीहरूको प्रयोगबाट कस्तो दुष्प्रभाव परेको छ भनेर देखाउँछ । तथाकथित कीटनाशक सघन कृषिको पूर्वनिर्धारित उपकरण नै भएका छन् । अध्ययनले विषादीको प्रयोगले जर्मनीमा किराफट्यांग्राको उपस्थिति ७५ प्रतिशतले घटाएको खुलासा गरेको थियो । सबैभन्दा डरलाग्दो तथ्य के थियो भने वास्तविक हानिनोक्सानी रसायनहरूले लछप्पै सिञ्चन गरिएका मकैखेतहरूमा होइन कि संरक्षित प्राकृतिक क्षेत्रहरूमा रेकर्ड गरिएको थियो । हाम्रो दिमागमा वा कागजमा सीमित कुनै पनि प्रबन्धनले जीवनको अविभाज्य एकतालाई बढावा दिन सक्दैन । प्रकृति अविभाज्य र एकताबद्ध हुन्छ । अनि त्यो अविभाज्यता र एकता हाम्रा सहर र गाउँ जताततै छन् ।

हाम्रो वन्यजन्तु–वर्णपट (स्पेक्ट्रम)को सबैभन्दा जादुमय घटकका रूपमा चराहरूप्रति हाम्रो चासो र चिन्ता अधिक हुनुपर्छ । वन्यजन्तुहरूप्रतिको हाम्रो सबैभन्दा ठूलो दान/उपकार अझै पनि ‘रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बड्र्स’मै सीमित छ, जसका १३ लाख सदस्य छन् । हाम्रा यी तथाकथित पखेटे– मित्रहरूले किराफट्यांग्रा, लेउ वा ढुसीजस्ता हामीबाट समान स्तरको प्रेम नपाउने जीवजन्तुहरूको अनन्य सेवा गर्छन् भन्ने हामी नभुलौँ ।

चराहरू लगभग सबै वातावरणमा उत्पन्न हुने मेरुदण्डयुक्त जीवन हुन् । चाहे त्यो समुद्रका चट्टानमा उफ्रिँदै बस्ने ‘किट्टिवेक’ होस्, वा हाम्रो बगैँचामा फट्यांग्राहरू खोजी बस्ने चिपुर्के वा जुरेली, वा माथिमाथि उड्दै किरा खोज्ने चखेवा, अथवा मकैबारीको छेउछाउ गस्ती गर्ने ‘घर उल्लू’ । ब्याक्टेरिया, प्रोटिस्ट, टार्डिग्रेड, नेमाटोडेस, स्प्रिङटेल्स, किराफट्यांग्रा, अराक्निड्स, लेउ, काई, फूलका बोट, रुख, मोलस्क, क्रस्टेसिया, माछा, उभयचर, सरीसृप र स्तनधारीजस्ता यदि जीवनका अन्य सबै हिस्सा यथास्थानमा सही सलामत र स्वस्थ सञ्चालनमा छन् भने मात्रै अरू पनि सलामत हुनेछन् । प्रत्येक प्राणी अरूमा पूर्ण रूपमा निर्भर छ । यदि हाम्रा पक्षीहरू संकटमा छन् भने निश्चयका साथ भन्न सकिन्छ, बाँकी प्रणाली पनि संकटमा छ ।

हामी मानव प्रजाति जीवनको यस पिरामिडको शीर्षस्थानमा छौँ । यदि चरा घट्दै जाने क्रम जारी रह्यो भने मानव जीवन निर्भर रहेको सञ्जाल पनि संकटग्रस्त हुनेछ । हामी सम्पूर्णतामा यस सञ्जालमा निर्भर छौँ ।
 

सुझावित समाचार