विराट गोल्डकप : भारतको केरला लुका सकर सेमिफाइनलमा

सोमबार, १३ चैत, २०७९
डिजिटल संस्करण

विराटनगरमा जारी सातौँ संस्करणको विराट गोल्डकप अन्तिम क्वार्टरफाइनल खेलमा प्रतिस्पर्धा गर्दै पाहुना टोली भारत केरलाको लुका सकर क्लब सेमिफाइनलमा पुगेको छ ।

आइतबार साँझ विराटनगरस्थित सहिद मैदानमा भएको अन्तिम क्वार्टरफाइनलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा ८–७ गोलले निराश बनाउँदै लुका सकर  सेमिफाइनल पुग्न सफल भएको हो ।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडनडेथबाट भएको हो । रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए । त्यसपछि खेल सडनडेथमा पुग्यो ।

टाइब्रेकरमा भारतको तर्फबाट चाल्स, रफी, कप्तान अर्सद र क्यामदिनले गोल गरेका थिए । संकटाका अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउँदै खेल जिताए । संकटाको तर्फबाट जुनियर कुलदीप कार्की, सुरजजंग ठकुरी, चन्दन दास र दीपक घिसिङले गोल गरेका थिए ।

भारतको जितसँगै विराट गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । भारतले अब फाइनल प्रवेशका लागि चैत १४ गते साविक विजेता एपिएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ ।

सुझावित समाचार