एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले छली कुराबाहेक अरू नजानेको टिप्पणी गरेका छन्।
एमाले केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा आज राष्ट्रपतिको निर्वाचनको लागि प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभा सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले त्यस्तो बताएका हुन्।
‘एक जना नेपालको नेता हुनुहुन्छ। १० पुसमा भएको सहमति तोड्नुभयो। सहमति तोडेर राष्ट्रिय सहमति रटान लगाइरहनुभएको छ,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘भएको सहमति तोडेर राष्ट्रिय सहमति हुन्छ ? कस्तो छली कुरा ? राष्ट्रिय सहमति तोड्ने अनि राष्ट्रिय सहमतिको रट लगाएको लगाएकै गर्ने ? म त्यस पार्टीका कार्यकर्ता र माननीयहरूलाई भन्न चाहन्छु। एउटा व्यक्तिको स्वार्थ र छलछामको पछि तपाईंहरू नलाग्नोस्।’
प्रचण्डले हिजोका दिनमा पनि परिवर्तनको सपना देखाएर मुलुकलाई धेरै क्षति पुर्याएको ओलीले दाबी गरे, ‘अहिले पनि अनेक प्रकारका चटक देखाएर मान्छे अल्मल्याउने कोसिसमा उहाँ हुनुहुन्छ,’ ओलीले भने, ‘तपाईंहरू त्यो चटकबाट उम्किनुहोस्। तपाईंहरू बलिदानको पृष्ठभूमिबाट आउनुभएको छ। नेकपा (एमाले) ले उपयुक्त पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। सबै पार्टीलाई आग्रह गर्न चाहन्छु। उपयुक्त पात्रलाई राष्ट्रपति बनाउन भूमिका खेल्नुहोस्।’

उनले अब पनि सचेत नहुने हो भने देश अप्ठ्यारोमा पुग्ने चेतावनी पनि दिए। ‘अहिले तपाईंहरूले विवेक पुर्याउनु भएन भने सच्याउन नसक्ने ठाउँमा मुलुक पुग्नेछ,’ उनले भने, ‘माननीयज्यूहरूलाई आग्रह गर्न चाहन्छु। अब सकारात्मक सोच र तथाकथित घेराभन्दा माथि उठेर गुण–दोषको आधारमा, योग्यताको आधारमा जिम्मेवारी दिने कुरामा तपाईंहरू सचेत हुनुहोस्।’
ओलीले राष्ट्रपति संविधानको रक्षक र पालक भएको भन्दै गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिबद्धताका आधारमा छनोट गर्नुपर्ने बताए।
‘म सम्पूर्ण नेपाली जनतालाई अपिल गर्न चाहन्छु,’ उनले भने, ‘एमालेले दिएको उम्मेदवारबाहेक यस्तो उम्मेदवार अरू छैन। गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिबद्धताका आधारमा उम्मेदवार छनोट गर्ने अरू दलको नीति नै छैन।’