विराट गोल्डकपको धनराशि वृद्धि हुने

सोमबार, १ फागुन, २०७९
डिजिटल संस्करण

मोफसलको सर्वाधिक चर्चित विराट गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि हुने भएको छ । यस सिजनको विजेताको पुरस्कार राशि वृद्धि गर्ने तयारी गरिएको विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशिस कोइरालाले जानकारी दिए । गत संस्करणको उपाधि विजेता एपिएफले १५ लाख १५ हजार रुपैयाँ जितेको थियो । उपविजेता टोलीले सात लाख ५१ हजार रुपैयाँ प्राप्त गरेको थियो । 

‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीका साथ पुरस्कार राशि पनि बढाउने सोच बनाएका छौँ,’ कोइरालाले भने, ‘यसपटक विगतको तुलनामा ४–५ लाख पुरस्कार राशि वृद्धि हुन्छ ।’ यसपालिको विजेताले गत वर्षको तुलनामा कम्तीमा तीन लाख बढी पुरस्कार पाउनेछ । यसैगरी, प्रत्येक खेलको विजेता टोलीले २५ हजार प्राप्त गर्नेछ । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र र फेयर प्ले टोलीलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको कोइरालाले बताए । 

रंगशालाको मर्मतसम्भार
प्रतियोगिताका लागि अहिले विराटनगरको सहिद रंगशाला मर्मतको काम भइरहेको छ । अहिले दैनिक पानी हाल्ने र मैदान लेभलिङ गर्नुका साथै प्यारापिटमा पनि काम भइरहेको हो । पूर्वमा फुटबलको संस्कृति विकासका लागि पनि यो प्रतियोगिता कोसेढुंगा साबित गर्ने उद्देश्यले सबै तयारी अगाडि बढाइएको लम्सालले बताए । आयोजकले ६ चैतमा प्रतियोगिता आयोजना गर्ने तयारी गरेको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले ए डिभिजन लिग आयोजना गर्न लागेकाले विराट गोल्डकप निर्धारित समयभन्दा तीन दिन पर सारिएको छ । 

सुझावित समाचार