लमजुङको सदरमुकाम बेँसीसहरको सहजी खेल मैदान त्रिवेणी रंगशालामा त्रिवेणी कपको ३०औँ संस्करण सुरु भएको छ । विगत ३० वर्षदेखि बेँसीसहरमा हुँदै आएको त्रिवेणी कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको हो ।
प्रतियोगितामा देशभरका १४ क्लबले भाग लिएका छन् । प्रतियोगिताको गण्डकी प्रदेशका सांसद एवं क्लबका पूर्वअध्यक्ष भेषबहादुर पौडेलले उदघाटन गरे ।
पौडेलले लमजुङमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको स्थापना गरी खेलको विकास र खेलाडीले खेल्न सक्ने उपयुक्त वातावरणको सिर्जना गर्नुपर्ने बताए ।
उनले भने, ‘जिल्लामा प्रतिभाशाली खेलाडीको पहिचान गराउने थलो नै त्रिवेणी युवा क्लब हो । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुपर्छ ।’
जिल्लामा फुटबल खेलको विकास र प्रवर्धन गरी व्यावसायीकरण गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताए ।
जिल्लाकै प्रतिष्ठित त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता प्रारम्भिक वर्षहरूमा खेतका गराहरू भाडामा लिएर एउटा खसीसहित तीन हजार रुपैयाँको प्रथम पुरस्कार राखेर आयोजना गरिएको प्रतियोगिता ३० वर्षको अवधिमा प्रथम पुरस्कार पाँच लाख पुगेको आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष गुरुङले बताए ।
त्रिवेणी कपको पहिलो संस्करणमा पहिलो हुने समूहलाई नगद पाँच लाख त्रिवेणी कप, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने समूहलाई रजत पदकसहित नगद तीन लाख प्रदान गरिनेछ । सेमिफाइनल उपविजेता दुई समूहलाई नगद ५०–५० हजार प्रदान गरिने अध्यक्ष गुरुङले बताए ।
अध्यक्ष गुरुङका अनुसार सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई नगद १५–१५ हजार, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ । अनुशासित टिमलाई ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
मंगलबारको मैत्रीपूर्ण खेलमा आयोजक त्रिवेणी युवा क्लबले नेपाली सेना चण्डीप्रसाद गणलाई ६–१ गोलअन्तरले पराजित गरेको छ । विजेता आयोजक त्रिवेणी युवा क्लबले २० हजारबराबरको खसी पुरस्कार जितेको छ ।
