सुदूरपश्चिममा एक लाख पाँच हजार मत बदर

शनिबार, २ पुष, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक गरी एक लाख पाँच हजारभन्दा बढी मत बदर भएका छन्। 

निर्वाचन आयोगको मतपरिणामसहितको प्रतिवेदनअनुसार प्रदेश सभा सदस्यतर्फ प्रत्यक्षमा कुल खसेकोमध्ये ४.६९ प्रतिशत र समानुपातिकमा ६.३६ प्रतिशत मत बदर भएका हुन्।

प्रत्यक्षतर्फ नौ लाख ५८ हजार ८४५ मत खसेकोमा ४४ हजार ९६७ मत बदर भएका आयोगले जनाएको छ। त्यस्तै, समानुपातिकतर्फ खसेको नौ लाख ५७ हजार २६९ मतमध्ये ६० हजार ८७४ मत बदर भएका छन्। निर्वाचन आयुक्त जानकी तुलाधरले मतपरिणामसहितको प्रतिवेदन सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीलाई शनिबार बुझाएकी छन्। सुदूरपश्चिममा १६ लाख ५८ हजार चार मतदाता छन्। 

यहाँ प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ गरी प्रदेश सभामा ५३ जना सदस्य निर्वाचित भएका छन्। जसमा ३५ जना पुरुष र १८ महिला छन्। सुदूरपश्चिम प्रदेश सभामा महिलाको प्रतिनिधित्व ३३.९७ र पुरुषको प्रतिनिधित्व ६६.०३ प्रतिशत रहेको आयुक्त तुलाधरले बताइन्। अघिल्लो प्रदेश सभामा १७ महिला थिए।

प्रदेश सभा सदस्यमा एक सय ९३ जनाको उम्मेदवारी कायम रहेकोमा १० प्रतिशतभन्दा कम मत ल्याएका एक सय नौजना उम्मेदवारको धरौटी जफत भएको आयोगको प्रतिवेदनमा उल्लेख छ। उम्मेदवारी दिएका १३ महिलामध्ये १० जनाको धरौटी जफत भएको छ। त्यस्तै, समानुपातिकतर्फ एउटा सिट पनि जित्न नसकेका २८ दलको धरौटी जफत भएको प्रदेश निर्वाचन कार्यालयका निमित्त निर्वाचन अधिकृत प्रेम भट्टले जानकारी दिएका छन्।

सुदूरपश्चिममा समानुपातिकतर्फ नेकपा एमालेले दुई लाख ७४ हजार ६७५ (३२.२३ प्रतिशत), कांग्रेसले दुई लाख ६९ हजार ५६४ (३१.३६ प्रतिशत) र माओवादीले एक लाख २१ हजार ४३१ (१४.२५ प्रतिशत) मत पाएका छन्। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ९८ हजार ५५९ (११.५६ प्रतिशत), राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ हजार २२३ (५.१९ प्रतिशत) र एकीकृत समाजवादीले ४३ हजार ८१९ (५.१५ प्रतिशत) मत पाएका छन्।

सुदूरपश्चिम प्रदेश सभामा छवटा दलको प्रतिनिधित्व कायम भएको छ। समानुपातिकतर्फ कांग्रेस र एमालेले सात-सात, माओवादीले तीन, नागरिक उन्मुक्ति पार्टीले दुई तथा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक सिट जितेका हुन्। 

यहाँ १९ सिटसहित कांग्रेस सबैभन्दा ठूलो र ११ सिटसहित माओवादी दोस्रो ठूलो दल बनेको छ। तेस्रो ठूलो दल एमालेको १०, नागरिक उन्मुक्तिको सात, एकीकृत समाजवादीको चार र राष्ट्रिय प्रजातन्त्र पार्टीको एक सिट छ। त्यस्तै, एकजना स्वतन्त्र सांसद छन्।

निर्वाचन आयुक्त तुलाधरले आयोगले शनिबार सातै प्रदेशमा प्रदेश प्रमुखलाई मतपरिणामसहितको प्रतिवेदन बुझाएको जानकारी दिइन्। प्रतिवेदन बुझाउने कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि उपस्थित थिए।
 

सुझावित समाचार