चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन

जियाङ जेमिनको कार्यकाल सन् १९९७ मा बेलायती उपनिवेश शासनबाट मुक्त हङकङको शान्तिपूर्ण हस्तान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशजस्ता महत्वपूर्ण कार्य भएका थिए

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । रक्त क्यान्सरलगायत विभिन्न स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित जेमिनको ९६ वर्षको उमेरमा बुधबार सांघाईमा निधन भएको हो । जियाङ जेमिन सन् १९९६ को डिसेम्बरमा नेपाल आएका थिए । 

सन् १९८९ मा तियानमेन स्क्वायर प्रदर्शनपछि जेमिन चिनियाँ कम्युनिस्ट पार्टीको उच्च नेतृत्वमा पुगेका थिए । उनले सन् १९८९ देखि २००२ सम्म चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष र सन् १९९३ देखि २००३ सम्म राष्ट्रपतिका रूपमा चीनको नेतृत्व गरेका थिए । चीनको मुहार फेर्न एक दशकसम्म उनले उल्लेखनीय कार्य गरे । 

उनको मृत्यु रक्त क्यान्सरका कारण अन्य अंगले काम गर्न छाडेपछि भएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसीले)ले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनी ‘एक उत्कृष्ट नेता’ र ‘लामो समयदेखि परीक्षित कम्युनिस्ट लडाकु’का रूपमा चिनिएको विज्ञप्तिमा उल्लेख छ । 

सन् १९८९ मा बेइजिङको तियानमेन स्क्वायरमा भएका प्रदर्शनकारीमाथि भएको रक्तपातपूर्ण दमनपछि जियाङ सत्तामा पुगेका थिए, जसका कारण चीन अन्तर्राष्ट्रिय रूपमा बहिष्कृत भएको थियो । सो घटनाले कम्युनिस्ट पार्टीको शीर्षमा कट्टरपन्थी प्रतिक्रियावादी र सुधारवादीबीचको तितो शक्ति–संघर्षलाई जन्म दिएको थियो । 

कट्टरपन्थी र थप उदारवादी तत्वलाई एकताबद्ध गर्ने आशामा उनलाई सम्झौतावादी नेताको रूपमा चयन गरिएको थियो । उनको नेतृत्वमा चीनमा एक शक्तिशाली अर्थव्यवस्था सिर्जना भयो । कम्युनिस्टहरूले सत्तामा आफ्नो पकड बलियो बनाए । चीनले विश्वशक्तिहरूको शीर्ष तालिकामा आफ्नो स्थान बनायो । 

उनको कार्यकालमा सन् १९९७ मा बेलायती उपनिवेश शासनबाट मुक्त हङकङको शान्तिपूर्ण हस्तान्तरण र सन् २००१ मा विश्व व्यापार संगठनमा चीनको प्रवेशजस्ता महत्वपूर्ण कार्य भएका थिए । उनले चीनलाई आर्थिक शक्तिका रूपमा स्थापित गर्नुका साथै विश्व अर्थतन्त्रसँग जोडेका थिए । त्यस्तै सन् २००८ मा ओलम्पिक आयोजना गर्ने टुंगो पनि उनकै पालामा भएको थियो ।

उनले ताइवानप्रति कट्टरपन्थी अडान लिँदै आन्तरिक असहमतिलाई दबाए । सन् १९९९ मा धार्मिक सम्प्रदाय फालुन गोङमाथि भएको दमनका कारण उनको आलोचना भएको थियो । उक्त घटनलाई चिनियाँ कम्युनिस्ट पार्टीका लागि खतराको रूपमा हेरिएको थियो । 

जियाङ जेमिन अन्तिम पटक १ अक्टोबर २०१९ मा सार्वजनिक रुपमा देखिएका थिए । जेमिनको जन्म सांघाइको उत्तरपश्चिममा पर्ने प्राचीन याङ्जी नदीको किनारमा अवस्थित याङ्झोउ सहरमा सन् १९२६ को १७ अगस्टमा  भएको थियो । जेमिनपछि चीनमा हु जिनताओले शासकीय जिम्मेवारी सम्हालेका थिए ।

 

सुझावित समाचार