पूर्वअर्थमन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि एमालेका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकासका लागि नयाँ अभ्यासको थालनी गरिने बताएका छन्। एमाले उपाध्यक्ष पौडेलले अब नयाँ अभ्यासका रूपमा एकीकृत विकासको अवधारणा अघि सारिने बताएका हुन्।
आगामी मंसिर ४ को निर्वाचनलक्षित घरदैलोको कार्यक्रमअन्तर्गत रुपन्देहीको सैनामैनाका विभिन्न वडामा जनतासँग भेटघाट गर्दै उनले अब टुक्रे योजनाभन्दा पनि ती सबै आवश्यकताहरूलाई एकीकृत गरी योजनाबद्ध विकास गरिने बताए। रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले भौतिक पूर्वाधारको विकाससँगै अब मानवीय विकास र रोजगार सिर्जनामा केन्द्रित हुने बताए। प्रत्येक जनताका घरपरिवारको तथ्यांक संकलन गरी आवश्यकताअनुसार सीप तथा क्षमता विकास गरी रोजगारीको सिर्जना गरिने बताए।
जनताले राख्ने गरेका पुल–पुलेसा, बाटो, खानेपानी, विद्युत् तथा शिक्षा स्वास्थ्यलगायतका सबै आवश्यकताहरूलाई पूरा गर्ने गरी एकीकृत गुरुयोजना निर्माण गरेर व्यवस्थित सहरको विकास गरिने उनले बताए।
सिंगो रुपन्देहीलाई अन्य ठाउँबाट विकास सिक्न आउने नमुनाका रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउँदै उनले जनतामा विकासको भोक पलाउन थालेको बताए। नेकपा एमालेको सरकार हुँदा सुरु गरिएका विकास आयोजनाहरूले जनतामा विकास भोक जनाएको बताउँदै उनले जनतामा विकास आवश्यकताहरूबारे खुलेर बोल्न सक्ने अवस्थाको विकास भएको उल्लेख गरे।