मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २७ आइतबार ०९:४८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सातामा २८ अंकले घट्यो नेप्से, कारोबार रकम ६६ प्रतिशत बढ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २७ आइतबार ०९:४८:००

सातामा नेप्से परिसूचक २८ दशमलव ४७ अंकले घटेकोे छ । आइतबारदेखि बिहीबारसम्म पाँच दिन भएको कारोबारमा नेप्से सूचक एक दशमलव ४८ प्रतिशतले घटेर एक हजार आठ सय ९३ दशमलव ७० बिन्दुमा बन्द भएको छ । अघिल्लो साताको तीन दशमलव ४३ प्रतिशतले वृद्धि भई एक हजार नौ सय २२ दशमलव १६ बिन्दुमा बन्द भएको थियो । 

एक हजार नौ सय १४ दशमलव २८ बिन्दुसम्मको न्यूनतम बिन्दु र एक हजार नौ सय ८७ को उच्चसम्म रहेको छ । यसबीचमा ७२ दशमलव ९८ अंकको अन्तर देखिएको छ । त्यस्तै, ‘क’ वर्गका कम्पनीहरूको कारोबारमापक सेन्सेटिभ इन्डेक्स एक दशमलव ८६ प्रतिशतले घटेको छ ।

पछिल्लो समय ब्याजदरमा भइरहेको आन्दोलनको प्रभावले पनि सेयर बजारलाई प्रभाव पारेको लगानीकर्ता तुलसीराम ढकाल बताउँछन् । उनले भने, ‘बैंक तथा वित्तीय संस्थाहरूले लिएको ब्याजदर वृद्धिलाई लिएर पनि लगानीकर्ता सकारात्मक हुन सकेका छैनन्, त्यसले बजारलाई थप प्रभाव पारेको भए पनि दीर्घकालीन प्रभाव रहँदैन, आगामी साता सकारात्मक गति लिन्छ ।’

अर्कोतर्फ यतिवेला सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गरिरहेका छन् । लाभांशको दरलाई लिएर लगानीकर्ता सन्तुष्ट हुन नसक्दा पनि बजार घटेको हुन सक्ने बजार विश्लेषण भइरहेको छ । यद्यपि, यी मात्र कारण भने होइनन् । पछिल्लो समय सकारात्मक संकेतका रूपमा देखिएको ब्रोकरहरूको संख्या थपिने विषय तत्काललाई स्थगित भएको छ । हाल सर्वोच्च अदालतमा विचाराधीन रहँदा पनि बजार पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेका छन् ।

गत साता अन्त्यमा भने यसअघि मर्जरका कारण कारोबार रोक्का भएका कम्पनीहरूको कारोबार खुल्न सक्ने गरी धितोपत्र बोर्डबाट निर्देशिका आएसँगै लगानीकर्ता तनावमा देखिएका छन् । यसअघि मर्जरका कारण कारोबार रोक्का भएका कम्पनीहरूको कारोबार खुला हुँदा बजारमा आपूर्ति बढ्ने भन्दै लगानीकर्ता आत्तिन पुगेका छन् । 

कारोबार रकममा ६६ प्रतिशतले वृद्धि
अघिल्लो साताको तुलनामा यस साता कारोबार रकम ६६ प्रतिशतले बढेको छ । अघिल्लो साता चार अर्ब ३५ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको थियो भने यस साता सात अर्ब २३ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो साताको तुलनामा औसत कारोबार ३३ प्रतिशतले बढी हो । लगानीकर्ताले यस हप्ता नाफा बुक राख्दा कारोबार रकम केही बढ्न पुगेको लगानीकर्ताको भनाइ छ । अघिल्लो साताको तुलनामा बजार केही घट्न थालेपछि लगानीकर्ताको नाफा सञ्चितिले बजार कारोबार बढेको हो । 

त्यसैगरी, यस हप्ता नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको करिब १२ प्रतिशतले बढेको छ । अघिल्लो हप्ता संस्थाको प्रतिसेयर दुई हजार आठ सय ८५ थियो भने यस हप्ता आइपुग्दा तीन हजार दुई सय ३० पुगेको छ । त्यसैगरी, जाल्पा सामुदायिक लघुवित्तको प्रतिसेयर तीन सय ५४ रुपैयाँले सर्वाधिक बढेको छ भने किसान लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतभन्दा बढीले घटेको छ । कुमारी इक्विटी फन्डको सेयर ८ दशमलव ६८ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।

यस हप्ता सबैभन्दा बढी कारोबार गर्ने कम्पनीमा शिवम् सिमेन्ट रहेको छ । कम्पनीले ४० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको ३३ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

नेप्सेको पुरानो साइट आइतबारदेखि नचल्ने
नेपाल स्टक एक्सचेन्जको पुरानो साइट आइतबारबाट बन्द हुने भएको छ । हाल आंशिक रूपमा सञ्चालनमा आएको नयाँ साइटलाई आइतबारबाट पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने नेप्सेले जनाएको छ । यसअघि नेप्सेले कात्तिक २५ गतेभित्रै सूचीकृत कम्पनीहरूलाई लगइन तथा युजर आइडी अनिवार्य रूपमा लिन अघिल्लो सूचनामार्फत नै आग्रह गरेको थियो ।