मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २७ आइतबार
  • Saturday, 21 December, 2024
पामिर गौतम काठमाडाैं
२o७९ कार्तिक २७ आइतबार १o:१o:oo
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अनिश्चितताको भुमरीमा बाइडेन–सी भेट

Read Time : > 4 मिनेट
पामिर गौतम, काठमाडाैं
नयाँ पत्रिका
२o७९ कार्तिक २७ आइतबार १o:१o:oo

विगत केही वर्षयता अमेरिका र चीनबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको लामो समयदेखि प्रतीक्षित भेटघाट भोलि सोमबार इन्डोनेसियामा हुने भएको छ । आगामी मंगलबारदेखि सुरु हुन लागेको दुईदिने जी–२० शिखर सम्मेलनमा भाग लिन बाली पुग्ने विश्वका दुई ठूला अर्थतन्त्रका राष्ट्रप्रमुखबीच ताइवान, मानवअधिकार, युक्रेनका साथै दुई राष्ट्रबीच बढ्दो द्वन्द्वलगायत विषयमा छलफल हुने आकलन गर्न सकिन्छ । लगभग दुई वर्षअघि बाइडेन अमेरिकी राष्ट्रपति बनेपछि यो उनीहरूको पहिलो भेट हो । दुई ठूला पावरहाउसबीचको तनावपूर्ण र चिसिएको सम्बन्धमा यो भेटले अभूतपूर्व नतीजा नदिए पनि यी दुईबीच जमेको सम्बन्धमा चिरा पार्न सक्ने सम्भावना छ । जसले दुई राष्ट्रबीचको आगामी संवादलाई अघि बढाउन बाटो खोल्न सक्छ । बढ्दो भूराजनीतिक तनाव र चीनमा कोभिडसम्बद्ध यात्रा अवरोधका कारण व्यक्तिगत रूपमा यी दुई राष्ट्रप्रमुखबीच भेट हुन सकेको थिएन ।

वर्तमान विश्व परिवेशमा अमेरिका र चीनबीचको सम्बन्ध विश्वकै सबैभन्दा महत्वपूर्ण तर जटिल द्विपक्षीय सम्बन्धमध्ये एक हो । १९४९ देखि यी दुई राष्ट्रले व्यापार, जलवायु परिवर्तन र ताइवानलगायत मुद्दामा तनाव र सहयोग दुवैको अनुभव गरेका छन् । तर, विगत केही वर्षयता अमेरिका र चीनबीचको सम्बन्ध अहिलेसम्मकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । ट्रम्प प्रशासनले सुरु गरेको व्यापार युद्ध पूर्ण आर्थिक युद्धमा परिणत हुँदै गएको देखिन्छ । बाइडेन प्रशासनमा दुई राष्ट्रबीच सम्बन्ध केही सुध्रिने हो कि भन्ने अपेक्षा धेरैले गरेका थिए । तर, यसविपरीत दुई देशबीचको सकारात्मक सहयोग र प्रतिस्पर्धाको सम्भावना झनै खस्किएको छ । बाइडेन प्रशासनले जारी गरेको राष्ट्रिय सुरक्षा रणनीतिले चीनलाई सबैभन्दा अहं भूराजनीतिक चुनौतीका रूपमा प्रस्तुत गरेको छ । आउँदो दशक अन्तर्राष्ट्रिय व्यवस्थाका लागि प्रमुख शक्तिबीचको प्रतिस्पर्धाद्वारा परिभाषित हुने उल्लेख गरेको सो प्रतिवेदनले चीनको महत्वाकांक्षालाई पराजित गर्ने अमेरिकाको पहिलो प्राथमिकता हुने जनाएको छ । उता चिनियाँ नेतृत्वले पनि आर्थिक उपलब्धिसँगै आफ्नो सैन्य सुदृढीकरणलाई तीव्रता दिएको छ र सन् २०३५ सम्ममा आफ्नो सैन्य बललाई आधुनिकीकरण गर्दै विश्वस्तरको बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै आएको छ । त्यस्तै कुनै पनि समय र अवस्थामा विजय हासिल गर्न सकने गरी युद्ध लड्न तयार रहन चिनियाँ सैन्य बललाई निर्देशन दिइएको छ । यस्तो अवस्थामा एउटाले अर्काका हरेक गतिविधिलाई गम्भीर खतराका रूपमा हेर्छ र अर्को पक्षको कार्यमा के दुष्ट मनसाय छ भनेर खोतल्छ ।

हुन त दुवै देशका सरकारमा विद्यमान राष्ट्रियता र असाधारणताको मनोविज्ञानका साथै एकअर्काप्रतिको निर्दयताले दुई राष्ट्रबीचको सम्बन्धलाई झन् अप्ठेरोमा पारेको छ । बाइडेन चीनसँग कमजोर देखिन चाहँदैनन् । सी जीनपिङसँगको सम्भावित भेटका विषयमा पत्रकारले प्रश्न गर्दा बाइडेनले बेइजिङलाई ताइवानलगायत मुद्दामा कुनै आधारभूत छुट नदिने बताएका थिए । पेलोसीको ताइवान भ्रमणलाई चीनले अनावश्यक मुद्दा बनाएर ताइवान क्षेत्रमा अशान्ति मच्चाउन र क्षेत्रीय शक्ति सन्तुलन भंग गर्न खोजेको आरोप अमेरिकाले लगाउँदै आएको छ । दुई राष्ट्रबीच बढ्दो तनावको परिवेशमा चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनपूर्व पेलोसीको ताइवान भ्रमणलाई पेलोसीको अधिकार र त्यसलाई चीनले सहजतासाथ लिनुपर्ने अमेरिकाको तर्क धेरै अमेरिकीलाई नै चित्त बुझेको छैन । 

ताइवान, मानवअधिकार र युक्रेन मुद्दाका साथै दुई राष्ट्रबीच बढ्दो द्वन्द्वलगायत विषयमा छलफल हुने अपेक्षा गरिएको दुई ठूला अर्थतन्त्र अमेरिका र चीनका राष्ट्र प्रमुखबीचको बाली भेटघाट अर्थपूर्ण हुने अपेक्षा गरिएको छ
 

अस्ट्रेलिया इन्स्टिच्युटको अन्तर्राष्ट्रिय र सुरक्षा मामिला कार्यक्रमअन्तर्गतको हालसालैको एउटा अनुसन्धानअनुसार चारमध्ये एक अस्ट्रेलियाली चीनले छिट्टै ताइवानमाथि आक्रमण गर्ने सोच्छन्, तर २० मध्ये एकजना ताइवानीले मात्रै चीनले ताइवानमाथि छिट्टै आक्रमण गर्ने ठान्छन् । प्राध्यापक किशोर महबुबानीले भनेझैँ यो ऐंग्लो–स्याक्सन मिडियाको नतिजा हो, जुन पश्चिमा राष्ट्रको महिमा र गुण गाउनकै निम्ति चीनको छविलाई विकृत गर्न लागिपरेका छन् ।

चिनियाँ राष्ट्रपति सीका पनि आफ्नै दुःख छन् । कम्युनिस्ट पार्टिका महासचिव भएसँगै सी जिनपिङले चीनलाई विश्व समुदायमा अझ बलियो र शक्तिशाली रूपमा उभ्याउन चीनले अन्तर्राष्ट्रिय सम्बन्धमा प्रमुख शक्तिको भूमिका खेल्नुपर्ने आवश्यकतामा जोड दिँदै आएका छन् । तेस्रो कार्यकालका लागि पार्टीका महासचिव भएका सीलाई माओपछिका सबैभन्दा शक्तिशाली नेता मानिएको छ । प्रचलित नियमलाई पन्छाउँदै महासचिव भएका सीसामु चीनलाई कमजोर देखाउनु आफैँ कमजोर देखिनुसरह हुने त छँदै छ, यसले पार्टीभित्रका कट्टरपन्थीबाट पनि तीव्र आलोचनाको सामना गर्नुपर्ने हुन्छ । चीनमा पनि आफूलाई सौम्य र अमेरिकालाई दुष्ट शक्तिका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति बढी नै देखिन्छ । आफ्नो हरेक योजना र परियोजना ‘विन–विन’ सहयोगको उदाहरण (दुवै राष्ट्रहरूको फाइदा) र अमेरिकाको योजना सबै शून्य योग खेलका रूपमा व्याख्या गर्दै आफ्ना छिमेकी राष्ट्रसँग व्यवहार गर्दा प्रत्युत्पादक हुने सम्भावना छ । एमसिसीअन्तर्गत नेपालले पाएको अनुदानप्रति चीनको चासो र नेपालमा चीनको बढ्दो संलग्नता भूराजनीतिक महत्वाकांक्षा र विचारद्वारा उत्प्रेरित नरहेको भन्न सकिन्न । त्यस्तै चीन र भारतसँग मात्र सिमाना जोडिएको भूपरिवेष्टित देश नेपालसँगको व्यापार नाका महिनौँसम्म जुनसुकै बहानामा किन नहोस्, बन्द गर्नु जित–जितको सहयोगको भावनाविपरीत छ । नेपाल यहाँ एउटा प्रतिनिधि उदाहरण मात्र हो ।

अमेरिका–चीन सम्बन्ध बिग्रिँदै गएको समयमा जर्मन चान्सलर ओलाफ स्कोल्ज महामारीपछि र विशेषगरी सी जिनपिङको तेस्रो कार्यकालमा जी–७ राष्ट्रबाट चीन भ्रमण गर्ने पहिलो नेता बने । युक्रेन युद्धका कारण रुसलाई लिएर अमेरिकाकै लाइनमा उभिएर रुससँगको आफ्नो संलग्नता तोडेका स्कोल्ज चीनसँगको सम्बन्धलाई लिएर सतर्क छन् । आफ्नो भ्रमणको पूर्वसन्ध्यामा एक लेख प्रकाशित गर्दै स्कोल्जले विश्वमा बढ्दो बहुध्रुवतामा जर्मनीले साझेदारी विस्तार गर्नु आवश्यक रहेको र राष्ट्रपति सीसँगको भेट विश्वका विद्यमान समस्याबारे छलफल गर्न महत्वपूर्ण भएको बताएका छन् । चीनलाई अन्तर्राष्ट्रिय व्यापारबाट अलग्याउने कुरा चलिरहँदा स्कोल्जले चीन भ्रमणका क्रममा विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँगको आर्थिक सम्बन्ध जारी रहने सन्देश दिएका छन् ।

सन् १७९६ मा आफ्नो बिदाइ भाषणमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज वासिंगटनले अमेरिकामा व्याप्त विदेशी प्रभावलाई लिएर चेतावनी दिँदै भनेका थिए– ‘हाम्रो भाग्यलाई युरोपको कुनै एउटा भागसँग जोडेर हाम्रो शान्ति र समृद्धिलाई युरोपेली महत्वाकांक्षा, प्रतिद्वन्द्विता, रुचि या सनकसँग किन फसाउने ?’ स्कोल्जको चीन भ्रमणले पनि सायद त्यही सन्देश दिएको हुनुपर्छ । 

त्यस्तै एसिया प्रशान्त अर्थतन्त्र केवल अमेरिका वा चीनसँग मात्र बाँधिएको छैन, यो एक अन्तरनिर्भर प्रणालीका रूपमा विकास भएको छ, जसमा चीन र अमेरिका दुवै अभिन्न अंग हुन् । यही कारण यस क्षेत्रका अधिकांश राष्ट्रहरूले स्पष्ट रूपमा एउटालाई छोडेर अर्कोलाई छान्न बाध्य नबनाऊन् भन्दै आएका छन् । यद्यपि अमेरिका र चीनले एकअर्कासँग मिलेर काम गर्ने तरिकाहरू पत्ता नलगाए एसियाका साथै सिंगो विश्व नै अशान्त हुनेछ । अमेरिकाको चीनसँग सम्बन्ध स्थापित गर्न ठूलो योगदान गरेका हेनरी किसिन्जरले अमेरिका र चीनबीचको सम्बन्धमा कुनै परिवर्तन नभएर ‘निरन्तर टकराव’ मात्र भए त्यसले भयावह स्थिति सिर्जना गर्ने चेतावनी दिएका छन् ।

अमेरिका–चीन सम्बन्धको राष्ट्रिय समितिको गत बुधबार न्युयोर्कमा सम्पन्न वार्षिक उत्सवमा पठाएको आफ्नो सन्देशमा राष्ट्रपति बाइडेनले आफ्नो प्रशासन दुई देशबीचको प्रतिस्पर्धालाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नमा केन्द्रित रहने बताएका थिए । त्यस्तै चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो सन्देशमा अमेरिकासँगको सहकार्यका लागि चीन ‘सही बाटो’ खोज्न तयार रहेको र द्विपक्षीय सम्बन्धलाई सुन्दर र स्थिरतातर्फ फर्काउन चाहेको बताएका छन् । 

२१ फेब्रुअरी १९७२ मा रिचर्ड निक्सन गणतान्त्रिक चीन भ्रमण गर्ने पहिलो अमेरिकी राष्ट्रपति भए । निक्सनको एक साता लामो चीन भ्रमणका क्रममा दुई राष्ट्रबीच कुनै सन्धि–सम्झौता भएन । तर, भ्रमणको अन्तिम दिन टोस्ट बनाउँदै निक्सनले भने– ‘हामी एक सातादेखि यहाँ छौँ र यो यस्तो साता थियो, जसले पूरै विश्वलाई परिवर्तन गरिदिएको छ ।’

आशा गरौँ, बाइडेन र सीको बाली शिखर सम्मेलनले पनि इतिहास रचोस् । विश्वमा धेरै साझा हितका विषय छन् र विश्वका धेरै साझा समस्या समाधान गर्न चीन र अमेरिकाबीचको सहयोग नितान्त आवश्यक छ ।