मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २६ शनिबार
  • Thursday, 19 December, 2024
२o७९ कार्तिक २६ शनिबार १७:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २६ शनिबार १७:११:oo

काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र तथा भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।

नेपालसहित अमेरिका, बंगलादेश, जापान, भारत, स्लोभानियालगायत १५ मुलुकका विज्ञहरूसमेत सहभागी रहेको यो सम्मेलनको नारा ‘विकासोन्मुख मुलकहरूका लागि मृत्युपर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने रहेको छ । 

सम्मेलनमा जिल्ला अस्पताल र नर्सिङ प्रमुखसहित तीन सय नेपाली विज्ञहरूको पनि सम्मेलनमा सहभागिता छ ।

शनिबार उद्घाटन गरिएको सम्मेलन आइतबार सकिनेछ । सम्मेलनको उद्धघाटन समारोहमा भक्तपुरमा रहेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले नेपालमा मानव अंग प्रत्यारोपणको दिगोपनका लागि भइरहेको प्रगतिबारे जानकारी प्रस्तुतीकरण गरेका छन् ।

उनले हालसम्मको प्रगति, चुनौती र देखिएका जटिलताबारे सम्मेलनमा जानकारी गराएका छन् । बानेश्वरस्थित एभरेस्ट होटेलमा भइरहेको सम्मेलनमा स्वास्थ्य विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले प्रत्यारोपणमा नेपाल सरकारले गर्दै आइरहेको सहयोग र आगामी सम्भावनाका बारेमा चर्चा गरेका थिए भने भारतको अपोलो अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राध्यापक डा. सन्दीप गुलेरिया र डा. विवेक कुटेले कोरोनाको जोखिमका वेला मिर्गौला प्रत्यारोपणबारे गरिएको अनुभव राखेका थिए ।

सम्मेलनमा बाल स्वास्थ्य तथा विकास राष्ट्रिय केन्द्र जापानका प्राध्यापक एम. कासाहाराले कलेजो प्रत्यारोपणका सम्बन्धको आफ्नो अनुभवबारे उल्लेख गरेका थिए । सम्मेलनमा नेपालका तर्फबाट १६ वटा र विदेशी विज्ञहरूबाट १२ वटा कार्यपत्र प्रस्तुत भइरहेका छन् ।

सम्मेलनबाट विकासोन्मुख मुलुकमा रहेका अंगदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात् अंग दिन सकिने प्रावधानको व्यापक प्रयोग हुने र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल हुने जनाइएको छ । 

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका अनुसार सम्मेलनपछि हालसम्म प्रत्यारोपणबारे भइरहेका प्रगतिले अझै गति पाउने विश्वास गरिएको छ भने हाल देखिएका समस्याको हल गर्नका लागि सरकार र सरोकारवाला निकायले विशेष भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।