संघीय र प्रदेश सभाको निर्वाचन आउन अब केही दिन मात्र बाँकी छ । यो निर्वाचन केवल कर्मकाण्डमा सीमित हुन्छ वा यसले मुलुकको विकासका लागि सम्भावनाका ढोकाहरू खोल्छन्, हेर्न बाँकी नै छ । निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने औपचारिक प्रणाली मात्र होइन, जनताको औकात र विवेकको मापन गर्ने सूचक पनि हो । देश र जनताको भाग्य र भविष्यको छिनोफानो गर्ने अवसर पनि हो । मुलुकमा भ्रष्टाचार मौलाएको छ, विकासको गति मन्द छ, जनताको दैनिकी कष्टकर छ, बिचौलियाहरूको निगाहा र इसारामा मुलुक चलिरहेको आभास हुन्छ । यस्तो उकुसमुकुसबाट मुक्ति दिलाउने र यसको निकास दिने अस्त्र हो, निर्वाचन । कस्ता उम्मेदवारले जनभावनाबमोजिम शासन सञ्चालन गर्न सक्छन् र आजका जल्दाबल्दा समस्या समाधान गर्न सक्छन् भन्ने विषय पेचिलो छ ।
हामीलाई कस्ता नेता चाहिएको हो ? : समाजवादी चिन्तक प्रदीप गिरिले भनेझैँ समाजले आफ्नो औकातअनुसारको नेता चयन गर्छ । जनताले कस्तो नेता वा प्रतिनिधि खोजेका हुन्, अहिलेको मूल सवाल यही हो । सत्ताको अगाडि निर्वस्त्र हुने तर बाहिर चोक, चौतारी र सामाजिक सञ्जालमा आएर नेताप्रति विषवमन गर्ने ढोंगी बिचौलिया नै वास्तवमा विकृतिका जड हुन् । राजनीतिक नेतृत्वको शयनकक्ष र किचेनमा पहुँच भएका तथा नेताको भान्साको जोहो गरिदिएर असीमित लाभ उठाउने एजेन्टहरूको प्रपञ्च र प्रोपागान्डाबाट जनमत प्रभावित भएपछि असल नेतृत्व जन्मने र बाँच्ने सम्भावना शून्य हुन्छ । समाजमा छरिएर रहेका भोटका ठेकेदारहरूले निर्वाचनलाई सधैँ प्रभावित गराइरहेका हुन्छन् । बिचौलियाको जालोबाट उम्किएर सही उम्मेदवार छनोट गर्नु सहज छैन ।
आफूलाई व्यक्तिगत रूपमा भएको लाभ–हानिको हिसाबकिताब गरेर नेताहरूको मूल्यांकन गर्ने विकृत प्रणाली नै असल प्रतिनिधि चयनको तगारो हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेको जनमत विकसित नभएसम्म लोकतन्त्रमा बिचौलियाहरूको रजगज चलिरहन्छ । नेताहरूको कुटीमा एकाबिहानै पुगेर जागिर, सरुवाबढुवा, पैसा र ठेक्कापट्टा माग्ने तथा अपराधीलाई छुटाइदिन अनुनय गर्ने रोग समाजमा संस्थागत भइसकेको छ । हरेक व्यक्तिका अवैध इच्छा परिपूर्ति गर्न सक्ने व्यक्ति मात्र राजनीतिमा स्थापित हुने हो भने मुलुकको विकास सम्भव छैन ।
दार्शनिक एरिस्टोटलका अनुसार असल नेतामा तीन गुण हुन जरुरी छ, इथोस, प्याथोस र लोगोस । इथोस अर्थात् पत्यारिला नेताहरूले आमसर्वसाधारणलाई सम्झाउन र आफूतिर आकर्षित गर्न सक्छन् । प्याथोस अर्थात् भावनात्मक विषयलाई राजनीतिमा जोड्न सक्छन् । लोगोस अर्थात् तर्क गर्न सक्ने नेताले तर्ककै आधारमा राजनीतिलाई अगाडि बढाउँछ । हामीलाई यस्तै गुण भएका नेता चाहिएको हो । नेतृत्वप्रति घृणा र द्वेष फैलाएर मात्र शासकीय विकृतिमा सुधार आउने होइन । जनताले तथ्य र तथ्यांकमा टेकेर वस्तुनिष्ठ मूल्यांकन गर्ने जनमत अहिलेको खाँचो हो ।
अब गाडी होइन, चालक फेरौँ : नेपाली जनताले पद्धति बदल्ने संघर्ष निरन्तर गरिरहेकै छन् । दुई प्रतिशत मात्र साक्षरता भएको निरक्षर समाजले समेत राणाशासनको अन्त्य गरेको छ । एकदलीय पञ्चायत, निरकुंश राजतन्त्र भत्काउन सक्ने जनताको तागतलाई कम आँक्न मिल्दैन । समयक्रमले हामीले खरिद गरेको गाडी होइन, गाडी हाँक्ने चालक नै अक्षम भएको पुष्टि गरिसकेको छ । चालकमा सीप र क्षमता छैन भने जतिसुकै राम्रो गाडी पनि दुर्घटनामा पर्ने खतरा हमेसा रहिरहन्छ । अहिलेको विश्वबजारमा लोकतन्त्ररूपी गाडीभन्दा उत्कृष्ट ब्रान्डको गाडी उपलब्ध छैन । सीप र दक्षता नभएका अक्षम पात्रलाई सवारी चलाउने लाइसेन्स दिएर दुर्घटना निम्त्याउने भूल नगरौँ ।
तेस्रो मुलुकबाट गाडी, जहाज, कम्प्युटर आयात गरेर ल्याइएजस्तो नेताहरू किनेर ल्याउन मिल्दैन । नेपालमै उपलब्ध कम खराब व्यक्तिलाई निर्वाचनमार्फत चुनेर सत्ताको चाबी बुझाउने हो हामीले ।
जनताको आक्रोश र निराशा निर्वाचनको मतमार्फत अभिव्यक्त भएन भने त्यस्तो आक्रोशको कुनै मूल्य रहँदैन । सबै नेता चोर, सबै नेता खराब भन्ने भाष्य जसरी निर्माण गरिएको छ, त्यसले अन्ततः खराब नेतालाई नै फाइदा पुगिरहेको छ । जब जनताले सही र गलत गुमाउने सामथ्र्य गुमाउँछन्, तब असल नेतृत्व सधैँ किनारामा परिरहन्छ । यो समाजमा केही गर्न सक्ने हुटहुटी, इच्छाशक्ति र इमानदारी भएका नेताहरू छँदै छैनन् भन्ने तर्क सत्ताको रापतापको प्रभाव मात्र हो ।
समाज बदल्ने दृष्टिकोण भएको नेतृत्वलाई स्थापित गर्ने दायित्वसमेत जनताकै हो । तेस्रो मुलुकबाट गाडी, जहाज, कम्प्युटर आयात गरेर ल्याइएजस्तो नेताहरू किनेर ल्याउन मिल्दैन । नेपालमै उपलब्ध कम खराब व्यक्तिलाई चुनेर सत्ताको चाबी बुझाउने हो हामीले । हाम्रो समाज नियन्त्रित र निर्देशित छैन । हामीलाई शासक र शासन व्यवस्था चयन गर्ने पूर्ण अधिकार छ । शान्तिपूर्ण माध्यमद्वारा मुलुक बनाउने नेता छान्ने सुवर्ण अवसर हाम्रा सामु छ । ली क्वान यूले भनेझैँ लोकतान्त्रिक निर्वाचनलाई जबसम्म एजेन्डामा आधारित बनाइँदैन, तबसम्म जस्तै राम्रा मान्छेले पनि चुनाव जित्दैनन् र ठूलो खर्च गरेर जितेका उम्मेदवार देश र जनताप्रति इमानदार हुने कुनै गुन्जाइस रहँदैन । राज्यको पतनको एउटा कारण यही बन्न पुग्छ । यसपालिको चुनावलाई एजेन्डामा आधारित बनाएर राम्रा पात्रहरूलाई शासकीय सिंहासनमा पठाउने प्रयास गरौँ ।
हरेक निर्वाचन क्षेत्रमा अभियान चलाऔँ : ली क्वान भन्छन्, ‘असल सरकार हुन असल व्यक्तिको समूह चाहिन्छ । प्रणाली र व्यक्तिबीचको अन्तरसम्बन्ध केलाउँदै उनी थप्छन्, प्रणाली राम्रो हुनु सौभाग्य हो, तर राजनीतिक प्रणाली राम्रो नै छ भने पनि खराब मान्छेले जनताका लागि सधैँ विपत्ति निम्त्याउँछन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको नागरिक हुन पाउनु हाम्रा लागि गौरवको विषय हो । हरेक क्षेत्रबाट असल उम्मेवार निर्वाचित भएमा मात्र असल सरकार बन्न सक्छ । सत्ता टिकाउन अवाञ्छित सम्झौता गर्न बाध्य हुने खालको निर्वाचन परिणाम आयो भने फेरि पनि मुलुकको भविष्य अन्धकार नै हुनेछ । सत्ताको चाबी हातमा लिएर बसेका बिचौलियाहरूको शरणमा राजनीतिक नेतृत्व जानु नपर्ने जनादेश अहिलेको खाँचो हो । नयाँ कि पुराना, युवा कि बूढा भन्ने मुद्दा प्रधान होइन, भिजन भएका, इमानदार र सक्षम नेतृत्व अहिलेको खाँचो हो ।
प्रश्न गर्न नछाडौँ : असल सरकारको पूर्वसर्त भनेकै चर्को खर्च नगरीकनै उम्मेदवारले चुनाव जित्न सक्ने वातावरण निर्माण हुनु हो । राजनीतिज्ञको रवाफिलो प्रस्तुति, तामझामपूर्ण प्रचार र विलासी जीवनशैली एवं त्यसको स्रोतका विषयमा मतदाताले प्रश्न गरिरहन आवश्यक छ । कुनै पनि राष्ट्र एवं राज्य निर्माणको रेडिमेड मोडेल हँुदैन । जनसंख्या संरचनाको ऐतिहासिकता, भूराजनीति, आर्थिक सम्भावना र समाजको चेतनास्तर हेरेर मोडेल तयार गर्नुपर्ने हुन्छ । राजनीतिक दल र तिनका उम्मेदवारले तयार पारेको मोडल के हो भनेर सोधौँ । विगतको निर्मम समीक्षा गरौँ, भविष्यको मार्गचित्र मागौँ ।
प्रदीप गिरिले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका थिए– आजको पुस्तासँग ज्यानै दिने गरी लागिपर्ने कुनै मुद्दा बाँकी छैन । संसारकै उत्कृष्ट लोकतान्त्रिक प्रणाली हामीले अंगीकार गरेका छौँ । शिक्षा, स्वास्थ्य, स्वदेशमै रोजगारी तथा सुशासनजस्ता एजेन्डा हाम्रा मूल मुद्दा हुन् । कुनै समयमा मार्क ट्वेनले चुनावबारे खरो टिप्पणी गरेका थिए, ‘यदि भोटले परिवर्तन ल्याउँथ्यो भने उनीहरूले हामीलाई भोट गर्न दिने नै थिएनन् ।’ हिजोको ज्ञान र चेतनाको अभाव भएको समयमा मार्क ट्वेन ठिक थिए । विज्ञान र प्रविधिको तीव्र विकास भएको शिक्षित समाजमा भोटले परिवर्तन नल्याउने भन्ने हुँदैन । चे ग्वेभाराले भनेको भनाइ चुनावको मुखमा निकै सान्दर्भिक हुन सक्छ । कामविनाका शब्द महत्वहीन हुन्छन् । आक्रोश, गुनासो र कुण्ठाको प्रस्फुटन समस्याको समाधान होइन । हाम्रो मन र मत बदलौँ, हाम्रो परम्परागत फलामे माइन्ड सेट भत्काऔँ । हरेक उम्मेदवारमाथि प्रश्न गरौँ, सन्तोषजनक र चित्तबुझ्दो जवाफ दिन सक्ने उम्मेदवार मात्र रोजौँ ।
फ्रान्सेली लेखक फैगवले भनेझैँ यो निर्वाचनलाई अयोग्यहरूको उपासना (कल्ट अफ इनकम्पिटेन्स) हुन नदिने जिम्मेवारी हामी मतदाताकै हो । नेताहरू अचानक प्रकट भएर हामीमाथि शासन गर्न आउने एलियन होइनन्, यिनीहरू हाम्रै सहउत्पादन हुन् । अब राजनीतिक दल र उम्मेदवारलाई मुलुक किन बनेन भनेर प्रश्न गरौँ र गतिलो प्रतिनिधि चुनौँ ।
अब नेता चिन्ने र चुन्ने पालो हाम्रो : नेपाली समाजको धरातलीय यथार्थ नेताहरूले राम्ररी बुझेका छन् । राजनीतिज्ञहरू जनताका कमजोरीसँग राम्रैसँग परिचित छन् । । जनताको चरित्र र प्रवृत्ति नेताहरूको चुनावी रणनीति बन्ने हो । हरियो घाँस देखेर लालायित हुने, व्यक्तिगत स्वार्थलाई केन्द्रभागमा राख्ने, झुटा आश्वासनबाट प्रभावित हुने, भ्रमपूर्ण प्रचारबाट दिग्भ्रमित हुने जनता नै परिवर्तनका बाधक हुन् । कवि अर्जुन पराजुलीले नेपालीलाई कहिल्यै नचेत्ने प्राणीका रूपमा व्यंग्य त्यत्तिकै गरेका होइनन् । अवसर पाएर पनि सिन्को नभाँचेका नेताहरूको पुनरावृत्ति जनताकै नालयकीपनबाट भएकामा विवाद छैन् । अब मतदाताको विवेकको परीक्षणको घडी आएको छ, फेरि पनि परीक्षणबाट असफलसिद्ध नेताहरूको अनुमोदन भयो भने मुलुकको अधोगतिको यात्रा रोकिनेछैन ।
डमहफको सम्भ्रान्तवादी दृष्टिकोणअनुसार सम्भ्रान्त व्यक्ति वा समूहले शासन सत्तालाई सधैँ निर्देशित गरेको हुन्छ । सचेत मतदाताको मत मुलुक बनाउने अस्त्र हो । सेटिङमा चलिरहेको मुलुकलाई विधिको मार्गमा हिँडाउन मतदाताहरूले ठन्डा दिमागले सोचेर निर्णय लिनुपर्ने वेला आएको छ । यदि यो देश बिगार्ने नेताहरू नै हुन् भने तिनलाई चिनेर राजनीतिक रंगमञ्चबाट बिदा गरौँ, सक्षमलाई मुलुकको जिम्मा लगाऔँ ।
अन्त्यमा : ली क्वान यूले पहिलोपटक सरकारको शपथ लिँदा उनीलगायत सबै मन्त्रीले साधारण सेतो टिसर्ट लगाएका थिए । सेतोको अर्थ थियो– सफा । सरकार सफा नहुन्जेल सिंगापुरको उन्नति सम्भव छैन भन्ने सन्देश दिन उनले सेतो रंग रोजेका थिए । यसको प्रतीकात्मक सन्देश असाधारण र निकै गहिरो छ । कालो र सेतो छुट्याउने दुःख अब हरेक मतदाताले गर्नुपर्छ । यो चुनावमा मतदाताको चरित्र फेरिन अनिवार्य छ । जोन म्याक्स्वेले भनेका छन्– निराशावादी हुरी आएकामा निराश हुन्छ, आशावादी परिवर्तनको आशा राख्छ, तर नेताले डुंगा जोगाउँछ । डुंगा जोगाउने नेता जन्माउने दिन हो, ४ मंसिर । एउटा भनाइ छ, फलाम तातेको वेलामा पिट्नुपर्छ । तातेको फलामबाट जे पनि बन्छ, राजनीतिरूपी फलाम तातेको अवस्था छ । ४ मंसिर नेपाली जनताको अग्निपरीक्षा हो । मौकामा हिरा फोर्न हामी चुक्यौँ भने पुर्पुरोमा हात लगाएर बस्नुसिवाय विकल्प हुनेछैन ।
(लेखक महान्यायाधिवक्ता कार्यालयका सहायक न्यायाधिवक्ता हुन्)