१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २२ मंगलबार
  • Sunday, 22 September, 2024
मोहन विष्ट कञ्चनपुर
२o७९ कार्तिक २२ मंगलबार ११:२३:oo
Read Time : > 3 मिनेट
निर्वाचन डिजिटल संस्करण

कञ्चनपुर क्षेत्र १ (ख) मा विष्ट–भट्टबीच मुख्य प्रतिस्पर्धा

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o७९ कार्तिक २२ मंगलबार ११:२३:oo

कञ्चनपुर निर्वाचन क्षेत्र १ (ख) प्रदेश सभा सदस्यका लागि आठजना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ६ राजनीतिक दलका उम्मेदवारसहित दुई स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

संविधानसभा सदस्य, एमाले जिल्ला सचिवदेखि बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष चुनावी मैदानमा उत्रिएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य दिवानसिंह विष्ट, एमाले कञ्चनपुरका जिल्ला सचिव पल्लवराज भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट धीरजप्रताव सिंह, लोकतान्त्रिक समाजवादीका तर्फबाट बुझाउना चौधरी, नेपाल मजदुर किसान पाटीका तर्फबाट हर्कबहादुर क्षेत्री, नागरिक उन्मुक्तिबाट काली चौधरी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका स्वतन्त्रबाट टेकबहादुर साउद र अर्का स्वतन्त्र नेत्रलाल चौधरी चुनावी मैदानमा उत्रिएका छन् । एक पदका लागि उक्त निर्वाचन क्षेत्रबाट आठजना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

उनीहरू आ–आफ्नो चुनावी एजेन्डा लिएर जनताको घरदैलोमा गइरहेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका टेकबहादुर साउद एमालेबाट सिफारिस भएका थिए ।  टिकट नपाएपछि आफ्नै आधिकारिक उम्मेदवार पल्लवराज भट्टविरुद्धमा बागी उम्मेदवारी दिएका छन् । उनलाई एमालेले कारबाही गरिसकेको छ । 

यस्तै, नागरिक उन्मुक्ति पार्टीका नेता नेत्रलाल चौधरी पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेत्रलालले पनि आफ्नै उम्मेदवार काली चौधरीविरुद्धमा उम्मेदवारी दिएका छन् । नागरिक उन्मुक्ति पार्टीले समेत स्वतन्त्र उम्मेदवार भएका नेत्रलाल चौधरीलाई कारकाही गरिसकेका छन् । प्रदेश सभा सदस्यका लागि आठमध्ये दिवानसिंह विष्ट, पल्लवराज भट्ट, बुझाउना चौधरी यसअघि पनि चुनाव लडेका नेता हुन् । विष्ट ०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका थिए । ०७० मा विना मगरलाई हराएको र ०७४ मा विना मगरसँग पराजित भएका विष्ट तेसोपटक चुनावी मैदानमा छन् ।

एमालेका भट्ट यसअघि ०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा मेयरमा चुनाव लडेका थिए । लोसपाका बुझाउना चौधरी पनि गत वैशाखमा बेलौरी नगर प्रमुखको चुनाव लडेका थिए । ०७० र ०७४ मा सम्पन्न भएको निर्वाचनमा विष्टका  मुख्य प्रतिस्पर्धी माओवादी नेतृ विना मगर अहिले विष्टका मुख्य सहयोगी भएका छिन् । विष्टका उतिवेलाका प्रतिस्पर्धी अहिलेका सारथि भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट मगर क्षेत्र १ प्रतिनिधिसभा सदस्य र विष्ट १(ख) प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । विष्ट, भट्ट र चौधरीबाहेक अन्य उम्मेदवार चुनावी अनुभवका हिसाबले नयाँ अनुहार भएको स्थानीयको भनाइ छ । 

क्षेत्र १(ख) को चुनावी समीकरण, वर्तमान परिवेशअनुरूप वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट संविधानसभा सदस्य दिवानसिंह विष्ट र एमालेका उम्मेदवार पल्लवराज भट्टबीच प्रतिस्पर्धा हुनेछ । गठबन्धनका तर्फबाट दिवानसिंह विष्ट र एमालेबाट तर्फबाट पल्लवराज भट्टबीचमै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

अघिल्लो ०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्षेत्र १ मा (माओवादी–एमाले) वाम–गठबन्धन र कांग्रेस एक्लै चुनावमा होमिँदा विष्टले १९ हजार दुई सय १९ मत ल्याएका थिए । पाँच वर्षअघि विष्टले चार पालिकाबाट उक्त मत ल्याएका थिए । ०७४ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा एमालेबाट बेलौरी नगर प्रमुखमा भट्टले ६ हजार चार सय सात मत ल्याएका थिए । गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा लोसपाबाट बुझाउना चौधरीले ५८ मत ल्याएका थिए । 

३० वैशाख ०७९ मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा क्षेत्र १(क) बेलौरी बेलडाँडी दुई पालिकामध्ये कांग्रेस र माओवादी केन्द्रले जितेका छन् । कुल १५ वडा मध्ये कांग्रेस एक पालिकासहित ६ वडा, माओवादी केन्द्रले एक पालिकासहित चार वडा, एमालेले एक उपप्रमुखसहित पाँच वडा जितेको छ । स्थानीय तह निर्वाचनमा कांग्रेस, एमाले र माओवादीले पालिका प्रमुखले पाएको मतको मत आधारमा कांग्रेसले १० हजार चार सय १५, एमालेले आठ हजार तीन सय ४८, माओवादी केन्द्रले १० हजार पाँच सय ५० मत पाएका छन् ।

वडामा पाएको मतको आधारमा समाजवादीले एक हजार ६४, राप्रपाले नाै सय सात, अन्यले एक हजार सात सय ४२ मत पाएका थिए । उक्त निर्वाचन क्षेत्रमा ०७४मा माओवादी–एमाले वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुलवीर चौधरीले १६ हजार एक सय ५८, कांग्रेस एक्लैका उम्मेदवार रामलाल चौधरीले १० हजार दुई सय २३ मत पाएका थिए । अन्य पार्टीका उम्मेदवारले एक सय ६५ देखि एक हजार ६ सय ४० मतसम्म पाएका थिए ।

उतिवेला उक्त निर्वाचन क्षेत्रमा ४४ हजार आठ सय ८८ मतदाता थिए, अहिले ४९ हजार चार सय ५८ मतदाता रहेको छन् । उक्त निर्वाचन क्षेत्रबाट मुख्य प्रतिस्पर्धी दिवानसिंह विष्ट र पल्लवराज भट्टका चुनावी एजेन्डा यस्ता छन् । सो निर्वाचन क्षेत्रमा ०७४ मा कांग्रेसले १० हजार दुई सय २३ मत पाएका थिए, ०७९ मा आइपुग्दा पनि कांग्रेसले १० हजार चार सय १५ मत पाएको छ । पाँच वर्षमा एक सय ९५ मात्रै मत वृद्धि भएको कांग्रेसको मत भनेर स्थिर रहेको पाइन्छ । अहिले राजनीतिक समीकरण, गत स्थानीय तहमा पाएको मतको आधारमा कांग्रेसका उम्मेदवार गठबन्धन भएको अवस्थामा बलिया देखिएका छन् । 

सीमा समस्या समाधान गर्छु : एमाले उम्मेदवार भट्ट
नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टले मुख्य गरेर सीमा समस्या समाधान गर्दै सीमा क्षेत्रमा पूर्वाधार विकास गराउने एजेन्डा अघि सारेका छन् । उनले बेलौरी बेलडाँडीमा देखिएको विद्यमान सीमा समस्या समाधान गर्दै मातृभूमि रक्षाको एजेन्डा अघि सारेका हुन् । 

भट्टले बेलौरीमा ५० शय्याको अस्पताल निर्माण गर्ने, खेलकुदमैदान विस्तार, बेलौरी छोटी भन्सारको स्तरोन्नति, आरक्षपीडितको समस्या समाधान, कृषि आधुनिकीकरण गर्ने, किसानलाई औद्योगिकरणतर्फ उन्मुख गराउने, रोजगारीका कार्यक्रम गर्ने, गरिब उन्मूलन गर्ने, युवालाई उद्यमशील बनाउने, प्राविधिक शिक्षालय स्थापना गर्ने, जमिन कटानी नियन्त्रण, सिँचाइ सुविधा पुर्‍याउने, युवालक्षित कार्यक्रम अघि बढाउने, रोजगारी, सडक सञ्जालको विस्तार गर्ने एजेन्डा अघि सारेका छन् । ‘नदी कटानले क्षेत्रमा उर्वरा जमिन कटान गरिरहेकाले चौधर, झर्नाखोलासहितका ठूला–साना नदी, खोलानाला नियन्त्रण गर्दै कृषियोग्य जमिन संरक्षित गर्छु, भट्टले भने, ‘यो क्षेत्रमा किसानका अथाह समस्या छन्, समाधान गर्छु ।’

अधुरा योजना पूरा गर्छु : वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिवानसिंह विष्ट 
वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दिवानसिंह विष्टले संसद् भएका वेला क्षेत्रमा हालेका योजना पूरा गर्ने पहिलो एजेन्डा अघि सारेका छन् । कृषकका लागि बेलौरी, बेलडाँडीमा कोल्ड स्टोर स्थापना गर्ने, बेलौरी–बेलडाँडीको सीमा समस्या समाधान गर्ने, हुलाकी सडक विस्तार गर्ने, बेलडाँडी–बेलौरी जोड्ने छुट्टाछुट्टै सडक सञ्जाल विस्तार गर्ने, बेलौरीमा स्मार्ट सिटी निर्माण गर्ने, ढल निर्माण गर्ने, बेलौरीको छोटी भन्सार पुनर्स्थापना गर्दै स्तर वृद्धि गर्ने, क्षेत्रका ऐतिहासिक प्राकृतिक ताल, तलैया, मठमन्दिर धार्मिक क्षेत्रको प्रवर्द्धन गर्दै पर्यटकीय क्षेत्रको विकास गर्ने । क्षेत्रको शैक्षिक स्तर वृद्धिका लागि यस क्षेत्रमा रहेका सामुदायिक विद्यालय एवं क्याम्पसको स्तर वृद्धि गर्ने, प्राविधिक शिक्षालय विस्तार गर्ने एजेन्डा अघि सारेका छन् ।

निकुञ्ज र वन क्षेत्रमा वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि मेसवायर निर्माण गर्दै मानव र वन्यजन्तुको द्वन्द्व नियन्त्रण गर्ने, युवा शक्ति विदेश पलायनबाट रोक्न उद्योग स्थापना गराउने पहल गर्ने एजेन्डा अघि सारेका छन् । आरक्षपीडित, भूमिहीन, सुकुमवासी, मुक्त कमैया, हलिया एवं विपन्न नागरिकलाई जमिनको स्वामित्व दिलाउन अनवरत रूपमा काम गर्ने एजेन्डा अघि सारेका छन् ।