१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २१ सोमबार
  • Saturday, 21 September, 2024
२o७९ कार्तिक २१ सोमबार o७:o१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं १ : लगातार चौथो जित निकाल्ने प्रकाशमानको प्रयास

प्रतिस्पर्धी उम्मेदवार पहिलोपटक सिंहदरबार छिर्ने दौडमा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २१ सोमबार o७:o१:oo

निर्वाचनको माहोल तातिएसँगै काठमाडौं १ मा विभिन्न दल र स्वतन्त्र उम्मेदवारले आफ्ना गतिविधिलाई तीव्र बनाएका छन् । यो क्षेत्र देशकै सबैभन्दा धेरै उम्मेदवार रहेको क्षेत्र पनि हो । यस क्षेत्रमा ०७४ का मुख्य प्रतिस्पर्धी बनेका कांग्रेस नेता प्रकाशमान सिंह र राप्रपाका रवीन्द्र मिश्रसहित ३२ उम्मेदवार मैदानमा छन् । उम्मेदवारहरूले अब्बल एजेन्डासहित मैदानमा आएको दाबी गरिरहेका छन् ।

यस क्षेत्रको मुख्य समस्या खानेपानी, बागमती र धोबीखोला किनार अतिक्रमण र संरक्षण अभाव, अव्यवस्थित बसोवास (सुकुमबासी) समस्या, ढल व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा पार्किङ समस्या, सार्वजनिक जग्गा संरक्षण अभावलगायत छन् । काठमाडौं १ अन्तर्गत काठमाडाैं महानगरपालिका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन् । प्रदेश सभा ‘क’ अन्तर्गत वडा नम्बर १०, ११, २९ र प्रदेश सभा ‘ख’ अन्तर्गत वडा नम्बर ३१ पर्छ । यस क्षेत्रमा ४५,०१८ मतदाता छन् । जसमध्ये २१,५७० पुरुष र २३,४४८ महिला मतदाता छन् । 

 अघिल्लो निर्वाचनमा २२ उम्मेदवार
०७४ सालको निर्वाचनमा सात स्वतन्त्रसहित २२ उम्मेदवार मैदानमा थिए । निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंहले आठ सय १८ मतान्तरले विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रलाई पराजित गरेका थिए । ०७४ सालमा सिंहले १०,९३६ (३९.५१ प्रतिशत) मत ल्याएका थिए भने मिश्रले १०,११८ (३६.५५ प्रतिशत) मत प्राप्त गरेका थिए । कांग्रेस नेता सिंहले ०६४, ०७० र ०७४ सालको निर्वाचनमा लगातार जित हासिल गरेका थिए । त्यसवेला मिश्रलाई एमालेको साथ थियो । यसपटकको निर्वाचनमा पनि सिंह र मिश्र आमनेसामने छन् । यसपटक सिंह सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार छन् भने मिश्र राप्रपाबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा राप्रपालाई कुनै पनि दलको समर्थन छैन । सिंहलाई ०७४ सालमा प्रतिस्पर्धा गरेका माओवादी केन्द्रको साथ छ । ०७४ मा माओवादीका अनिल शर्माले तेस्रो मत पाएका थिए । 

यहाँ एमालेले किरण पौडेललाई उम्मेदवार बनाएको छ । गत स्थानीय तह निर्वाचनमा प्राप्त वडाध्यक्षको मतका आधारमा एमाले र कांग्रेसबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । यहाँ सिंह र मिश्रबाहेकका अधिकांश उम्मेदवार नयाँ अनुहारका छन् । स्थानीय तह निर्वाचनको परिणामअनुसार चारमध्ये तीन वडामा कांग्रेसले जित हासिल गरेको छ भने एक वडामा एमाले विजयी भएको छ । यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारको संख्या सात रहे पनि उनीहरूको प्रभाव न्यून देखिएको छ ।

 के भन्छन् प्रमुख दलका उम्मेदवार ?
 प्रकाशमान सिंह,कांग्रेस
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने राष्ट्रिय दायित्व र बाँकी कार्यभार पूरा गर्ने मेरो प्रमुख एजेन्डा हो । विगतमा गरेका प्रतिबद्धता पूरा गर्न निरन्तर लागिरहेको पनि छु । मेलम्ची खानेपानी आयोजना छिट्टै आउँदै छ । बागमती सफा बनाउन गोकर्णेश्वरमा धाप ड्याम तयार भएको छ । त्यो मात्र पर्याप्त नहुने भएकाले मेलम्चीको विकल्पका रूपमा र धोबीखोला र बागमतीको स्वच्छता कायम गर्न नागमती ड्याम योजना अगाडि बढेको छ । संघीयता कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण, युवा र विद्यार्थीलाई चाहेजस्तो शिक्षा र रोजगार सुनिश्चितताको काम गर्नेछु । 

किरण पौडेल,एमाले
नीति–निर्माण तहमा आफ्नो उपस्थिति देखाउने मुख्य काम त भइहाल्यो । यसबाहेक यस क्षेत्रमा ठूला पूर्वाधार योजना विकास भएका छन् । भएका पूर्वाधारको व्यवस्थापन र  मर्मत–सम्भार, ढल व्यवस्थापन, खानेपानी समस्या समाधानका लागि न्यायोचित वितरणको व्यवस्था गर्ने, बागमती सभ्यता संरक्षण, करिडोरको सौन्दर्यीकरण, युवाहरूको भविष्य सुनिश्चित हुने गरी योजना ल्याउनेलगायतका कामका लागि नीति बनाउने र बजेट व्यवस्थापनका लागि मेरो पहल हुनेछ । सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने, सूचना प्रविधिको संयोजनबाट सेवा प्रवाह, सार्वजनिक स्वास्थ्य सेवा क्षेत्र सुधारमा लाग्नेछु । 

रवीन्द्र मिश्र,राप्रपा
नीति–निर्माण तहमा पुगेर सांसदले वहन गर्नुपर्ने जिम्मेवारी, आफ्नो क्षेत्रका स्थानीय तहसँग मिलेर गर्नुपर्ने सहजीकरण र समन्वयमा गर्न चाहने काम, राजनीतिक–सामाजिक खण्डअन्तर्गत संवैैधानिक राजसंस्था, संघीयता खारेजी, धर्मनिरपेक्षता खारेजीको मुद्दा र निःशुल्क र गुणस्तरीय सार्वजनिक शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र भ्रष्टाचार नियन्त्रण, सुशासन र सेवा प्रवाहलाई अगाडि सारेको छु । काठमाडौं १ का लागि स्थानीय तहहरूसँग मिलेर खानेपानी, ढल, बाटो, सार्वजनिक जग्गा संरक्षण, नदी संरक्षण, पार्क निर्माण गर्ने उल्लेख गरेको छु । 

पुकार बम,राष्ट्रिय स्वतन्त्र पार्टी
अहिलेसम्म्मका अभियान र आन्दोलनबाट स्थापित मुद्दा अपूरो छ । सडकबाट स्थापित मुद्दालाई सदनमा उठाउने र कार्यान्वयन गर्ने हाम्रो मुख्य एजेन्डासहित सात एजेन्डा छन् । भ्रष्टाचार नियन्त्रण र नीतिगत विकासका लागि खुला संसद् र सिंहदरबार खुला हुनुपर्छ । शिक्षालाई सीपसँग जोड्ने र सीप रोजगारीसँग जोड्ने मोडल हामीसँग छ । स्वास्थ्यलाई सर्वसुलभ बनाउने, विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिलाउने र सम्पदा संरक्षणसँगै पर्यटनसँग जोड्ने एजेन्डाहरू अघि सारेको छु । 

 रमेश खरेल,नेपाल सुशासन पार्टी 
ओपन बोर्डर, कानुनी राज्य स्थापना, दण्डहीनता अन्त्य, पारदर्शिता र नागरिक जिम्मेवार बनाउनेजस्ता राष्ट्रियताको मुद्दालाई उठाएको छु । यस क्षेत्रको खानेपानी समस्या समाधान, नदी–किनारका अव्यवस्थित बसोवासलाई सम्मानपूर्वक व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण र आइटी पार्क अनुसन्धानलाई एजेन्डाका रूपमा अगाडि बढाएको छु । 

 मैदानमा ११ स्वतन्त्रसहित ३२ उम्मेदवार 
मन्जु राना मगर (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च), शंकर बन्जाडे (विवेकशील साझा पार्टी), प्रकाश नायजु (लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल), शान्तिदेवी केसी (राप्रपा नेपाल), मानबहादुर राई (राष्ट्रिय जनमुक्ति पार्टी), प्रकाश श्रेष्ठ (मौलिक जरोकिलो पार्टी), इन्द्रबहादुर थापा (नेस्नलिस्ट पिपल्स पार्टी), रिषम भट्टराई (नेपाली कांग्रेस बिपी), किरणकुमार शर्मा पौडेल (नेपालवाद), बालकृष्ण न्यौपाने (नेपालका लागि नेपाली पार्टी), हरिशरण श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी), सुरेन्द्रप्रसाद ढकाल (नेपाल कम्युनिस्ट पार्टी माले), मनिता श्रेष्ठ (जनसमाजवादी पार्टी नेपाल), हरेन्द्र चौधरी (जनमत पार्टी), हरिकुमार घले (आमूल परिवर्तन मसिहा पार्टी नेपाल) र डम्बर शाह (हाम्रो नेपाली पार्टी)।    

स्वतन्त्र उम्मेदवारहरू :  खुमकला लामिछाने, देव शर्मा, संगीता बोगटी, सुनीता बसेल, मीरा विष्‍ट, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ (केसी), निर्जल शाह, संगीता राजबाहक, कुलबहादुर तमाङ, गोमा खतिवडा अधिकारी

 प्रदेश सभातर्फका उम्मेदवार
प्रदेश सभातर्फ ‘क’मा सात स्वतन्त्रसहित १५ उम्मेदवार रहेकोमा मुख्य प्रतिस्पर्धामा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका दीपेन्द्र श्रेष्ठ र एमालेबाट रामचन्द्र अमगाईं छन् । यस्तै, प्रदेश सभा ‘ख’मा ६ स्वतन्त्र उम्मेदवारसहित १५ उम्मेदवार छन् ।

मतदाता भन्छन्–खानेपानी, बागमती र धोबीखोलाका समस्या वषौँदेखि ज्युँका त्युँ
यहाँका मतदाताहरू खानेपानी र सरसफाइको समस्या लामो समयदेखि ज्युँका त्युँ रहेको बताउँछन् । काठमाडौं १ का मतदाता एवं पूर्वसचिव गोपीनाथ मैनाली यस क्षेत्रको प्रमुख समस्या नै खानेपानी अभाव रहेको र कहिल्यै समस्या समाधान हुन नसकेको बताउँछन् । उनी नाला, बागमती अतिक्रमण, फोहोर व्यवस्थापनलगायतका समस्या वषौँदेखि ज्युँका त्युँ रहेको गुनासो गर्छन् । ‘दलहरूले गरेको प्रतिबद्धताप्रति नै विश्वास हुन छाडिसक्यो । निर्वाचनपिच्छे फरक–फरक प्रतिबद्धता आउँछन्,’ उनले नयाँ पत्रिकासँग भने, ‘०५४ सालदेखि खानेपानी (मेलम्ची खानेपानी)को समस्या छ । नाला, बागमती अतिक्रमण, फोहोर व्यवस्थापनको समस्या सधैँ उस्तै छन् ।’ 

अर्का मतदाता एवं सशस्त्र प्रहरीका पूर्वप्रमुख शैलेन्द्र खनाल खानेपानी, सहरी व्यवस्थापन र सरसफाइको विषयमा जनप्रतिनिधिले गरेका प्रतिबद्धताअनुसार काम गर्न नसकेको बताउँछन् । निर्वाचित हुने जनप्रतिनिधिले वर्षौँदेखिका समस्या पूरा गर्नुपर्ने उनी बताउँछन् । ‘यस क्षेत्रमा सहरी क्षेत्र व्यवस्थापन र सरसफाइको विषय लामो समयदेखि समाधान हुन सकेको छैन् । जनप्रतिनिधिले प्रतिबद्धता जनाए पनि पूरा गर्न सकेका छैनन्,’ उनी भन्छन्, ‘गरेका पुराना प्रतिबद्धता पूरा गर्न र हरियाली प्रवद्र्धन, बाटोघाटो, खानेपानी, सरसफाइका विषयमा विशेष ध्यान पुर्‍याउनुपर्ने देखिन्छ ।’ 

वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल मुख्य सहरी क्षेत्र भएकाले महानगरपालिका र वडाबाट नै धेरै समस्या समाधान हुने अवस्था रहे पनि ती समस्या समाधान हुन नसकेको बताउँछन् ।