मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक २० आइतबार
  • Thursday, 19 December, 2024
तिवारी यादव वीरगन्ज
२o७९ कार्तिक २० आइतबार १७:३९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सा १ मा दुई पूर्वमन्त्रीलाई स्वतन्त्रको चुनाैती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक २० आइतबार १७:३९:oo

४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा पर्सा १ मा मधेशकेन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार मुख्य प्रतिस्पर्धी छन्।

जसपाबाट निवर्तमान वन तथा वातावरणमन्त्री प्रदीप यादव र लोसपाबाट पनि पूर्वमन्त्री लक्ष्मणलाल कर्ण चुनावी प्रतिस्पर्धामा छन्। 

यादव ०७४ मा सोही ठाउँबाट निर्वाचित भएका थिए। दुवै प्रतिस्पर्धीलाई यसपटक स्वतन्त्र उम्मेदवारी दिएका अजय द्विवेदीले चुनौती दिएका छन्। नेपााली कांग्रेस पर्साका पूर्वजिल्ला सभापतिसमेत रहेका द्विवेदीले पार्टीको निर्देशन उल्लंघन गर्दै उम्मेदवारी दर्ता गरेपछि सो क्षेत्रमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको हो।

यादवलाई एमालेको समर्थन छ भने कर्णलाई सत्तागठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी र एकीकृत समाजवादीले समर्थन छ। त्यसैले, यादव र कर्णलाई नै मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
 
सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका यादवको तुलनामा सत्तागठबन्धनका साझा उम्मेदवार रहेका कर्णले बढी मेहनत गर्नुपर्ने देखिन्छ। किनभने कर्ण यसअघिको निर्वाचनमा पर्सा ४ बाट निर्वाचित भएका थिए। 

यसपटक सत्तागठबन्धनमा सिट बाँडफाँड गर्दा लोसपालाई क्षेत्र नम्बर १ परेपछि कर्णले पार्टीबाट सोही ठाउँका लागि टिकट लिएर चुनावी मैदानमा उत्रिएका  हुन्। कर्णले आफूलाई मत नै हाल्न नपाउने भएकाले विपक्षी एमाले–जसपा गठबन्धनले उनलाई ‘टुरिस्ट उम्मेदवार’ भन्दै जिस्काउने गरेको छ।

मधेश आन्दोलन नेतृत्व गरेर छोटो समयमा स्थापित भएका यादवले भने आफूलाई सबैभन्दा बलियो उम्मेदवारका रूपमा चिनाउँदै हिँड्ने गरेका छन्। 

पर्सा १ मा अहिलेसम्म एउटै उम्मेदवारले लगातार दुईपटक जित हासिल गरेको रेकर्ड छैन। तर, गत ३० वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जसपाका उम्मेदवार राजेशमान सिंहलाई वीरगन्ज महानगरपालिकाको मेयरमा जिताएर यादवले आफूलाई संघीय संसदको सशक्त उम्मेदवारका रूपमा खडा गरेका थिए। किनभने, पर्सा १ मा वीरगन्ज महानगरपालिकाको १९ वटा वडा समेटिएका छन्। 

स्वतन्त्र उम्मेदवारी दिएका द्विवेदी ०६८ देखि ०७८ सम्म १० वर्ष नेपाली कांग्रेस पर्साको जिल्ला सभापति भइसकेका व्यक्ति हुन्। उनी पहिलो संविधानसभामा निर्वाचित सांसदसमेत थिए। दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित हुन पुगेका थिए। 

उनी वीरगन्ज महानगरपालिकाको उप–मेयरसमेत भइसकेका छन्। ०७४ मा द्विवेदीले नेपाली कांग्रेसको तर्फबाट मेयरमा उम्मेदवारीसमेत दिएका थिए। तर, तत्कालीन जसपा उम्मेदवार विजय सराबगीसँग पराजित भएका थिए।

पर्सा १ को अंकगणित

पर्सा १ मा जसपा पहिलो शक्ति हो भने एमाले र कांग्रेसको करिब उत्तिकै मत छ। वीरगन्ज महानगरपालिकाको १९ वटा वडा रहेको पर्सा क्षेत्र नम्बर १ मा स्थानीय तहको निर्वाचनमा जसपाले १५ हजार ६ सय ७६ मत ल्याएको थियो। दोस्रोमा नेकपा एमालेले १३ हजार २ सय ३३  र तेस्रोमा नेपाली कांग्रेसले १२ हजार ९ सय ९३ मत पाएको थियो।

सो क्षेत्रमा माओवादी केन्द्रले ३ हजार ३ सय ७४, लोसपाले दुई हजार ८६ र एकीकृत समाजवादीले एक हजार ६ सय मत ल्याएको थियो। स्थानीय तहमा प्राप्त वडागत मतका आधारमा एमाले–जसपा गठबन्धनसँग २८ हजार नौ सय ९ मत छ भने सत्तागठबन्धनसँग २० हजार ५३ मत छ। यो तथ्यांकका आधारमा जसपा उम्मेदवार यादव चुनावी प्रतिस्पर्धामा निकै अघि देखिन्छन्।