![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/ktm-102022-11-06-10-31-56.jpeg)
काठमाडौं १० को सिमाना ललितपुर, मकवानपुर, धादिङ जिल्लासम्म फैलिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सत्ता साझेदार दलहरूले देशभर गठबन्धन गरे पनि यहाँ भने गठबन्धन हुन सकेको छैन । जसकारण यो क्षेत्रको चुनावी गतिविधि र परिणाम निकै रोचक हुने देखिएको छ ।
यहाँका उम्मेदवारहरूले धार्मिक पर्यटन, पूर्वाधार विकास, खानेपानीलगायतका विषयलाई मुख्य एजेन्डा बनाएका छन् । यहाँबाट दुईपटक सांसद बनिसकेका राजेन्द्रकुमार केसीलाई कांग्रेसले फेरि उम्मेदवार बनाएको छ । दुईपटक सांसद बनिसकेका केसी आफूले सुरु गरेका बाँकी काम सक्न पनि मतदाताले भोट दिनेमा ढुक्क छन् । ‘दुईपटकसम्म सांसद भएँ । यस अवधिका पूर्वाधार विकासको क्षेत्रमा धेरै काम गरेको छु । केही योजना बाँकी छन् । त्यसलाई सम्पन्न गर्नका लागि मैले उम्मेदवारी दिएको हुँ,’ केसीले भने ।
उनले काठमाडौं–मकवानपुर जाने बाटो निर्माण सम्पन्न गर्ने, सम्पदा संरक्षण, स्थानीय पर्यटकीय क्षेत्रमा थप पूर्वाधार निर्माण गरेर रोजगारी सिर्जना गर्ने एजेन्डा रहेको बताए । गत वैैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा यो क्षेत्रअन्तर्गत पर्ने तीनवटै नगरपालिकामा कांग्रेसकै प्रमुख रहेका छन् भने अधिकांश वडामा समेत कांग्रेसले नै जित निकालेको थियो । केसीले जित निश्चित रहेको दाबी गरे पनि कांग्रेस परित्याग गरी गएकाहरू नै अन्य पार्टीबाट उम्मेदवार बनेका कारण कठिन रहेको स्थानीयहरूको भनाइ छ ।
एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार हिमेश केसी पनि आफूले जित्ने पक्का रहेको दाबी गर्छन् । दुईपटक सांसद बन्न पनि कांग्रेसका नेता राजेन्द्रले काम नगरेका कारण यसपटक मतदाताको आशा, अपेक्षा र भरोसा आफूमा रहेको उनको भनाइ छ ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेकी अञ्जना विशंखे भने आफ्नो प्रतिस्पर्धा कांग्रेससँग मात्र हुने दाबी गर्छिन् । उनी भन्छिन्, ‘मेरो प्रतिस्पर्धा राजन केसीसँग मात्रै हो । कांग्रेसलाई १० वर्ष जिताउँदा पनि रणनीतिक योजनामा काम गरेको छैन ।’
यी हुन् क्षेत्र नम्बर १० का १८ उम्मेदवार
काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभातर्फ स्वतन्त्रसहित जम्मा १८ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा हिमेश केसी, राजेन्द्रकुमार केसी, अञ्जना विशंखे, बलराम थापा, नारायण महर्जन, सिर्जना बर्तौला, इन्द्रबहादुर बराल, कुमार लामा, पूर्णलाल श्रेष्ठ, धनकेशर सूर्यवंशी, सन्तप्रसाद श्रेष्ठ, सनन श्रेष्ठ, चेतबहादुर मोक्तान, गंगाप्रसाद भेटवाल, प्रदीप विष्टको उम्मेदवारी परेको छ । सुरेन्द्र महर्जन, सूर्यबहादुर महर्जन र दीपकप्रसाद बिडारी गरी तीनजनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । प्रदेशतर्फ यो क्षेत्रमा २१ जनाको उम्मेदवारी परेको छ । जसमध्ये तीनजनाको स्वतन्त्र उम्मेदवारी रहेको छ । यो क्षेत्रको (क)मा एमालेको तर्फबाट शिवभक्ति बलामी, नेपाली कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनको उम्मेदवारी परेको छ भने यो क्षेत्रको (ख)मा एमालेका तर्फबाट रामशरण आलेमगर, माओवादी केन्द्रको तर्फबाट गणेशबहादुर कुँवर, नेकपा एसबाट रमा आलेमगरको उम्मेदवारी परेको छ ।
स्थानीय निर्वाचनमा २९ वडामध्ये २२ मा कांग्रेस विजयी
०७४ को स्थानीय निर्वाचनमा यहाँ ७० हजार मतदाता थिए । अहिले करिब ७६ हजार पुगेका छन् । कीर्तिपुर नगरपालिका, दक्षिणकाली नगरपालिका र चन्द्रागिरि नगरपालिका १० वडा (१, १२, १३, १४ र १५ बाहेक) छन् । गत वैैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कीर्तिपुर नगरपालिकामा कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मतका साथ विजयी भएका थिए । उनका निकटम प्रतिद्वन्द्वी एमालेका केशरत्न बज्राचार्यले पाँच हजार पाँच सय सात मत प्राप्त गरेका थिए । नगरपालिकाका १० वडामध्ये नौ वडामा कांग्रेसले जित निकाल्दा एउटा वडामा स्वतन्त्र उम्मदेवार श्यामकुमार अधिकारी विजयी भएका थिए ।
यसैगरी, दक्षिणकाली नगरपालिकामा एमालेका श्रीराम आचार्यलाई हराएर कांग्रेसका मोहन बस्नेत निर्वाचित भएका थिए । बस्नेतले सात हजार दुई सय एक मत ल्याउँदा आचार्यले पाँच हजार एक सय ९२ मत ल्याएका थिए । नौ वडामध्ये तीन वडामा एमालेले जित्दा ६ वडामा कांग्रेसले जित निकालेको थियो ।
चन्द्रागिरि नगरपालिकामा पनि कांग्रेसले नै बाजी मारेको थियो । कांग्रेसका घनश्याम गिरीले १५ हजार चार सय ७५ मत ल्याएर १४ हजार ६ सय ५१ मत ल्याएका एमालेका उत्तमबहादुर राउतलाई हराएका थिए । यस क्षेत्रमा परेका १० वडामध्ये सात वडामा कांग्रेस, दुईवटा वडामा माओवादीले र एक वडामा एमालेले जित निकालेको थियो ।
प्रचण्डलाई हराएका केसी चौथोपटक उम्मेदवार
क्षेत्र नम्बर १० मा एमालेले ३९ वर्षीय युवा हिमेश केसीलाई उम्मेदवार बनाएको छ । कांग्रेसले भने राजेन्द्रकुमार केसीलाई नै चौथोपटक उम्मेदवार बनाएको छ । माओवादी केन्द्रबाट अञ्जना विशंखे उम्मेदवार बनेकी छिन् । जम्मा १८ जनाले उम्मेदवारी दिएको यो क्षेत्रमा स्वतन्त्र तीनजना रहेका छन् । ०६४ सालमा संविधानसभाको निर्वाचनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पराजित केसीले ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा प्रचण्डलाई नै हराइदिए । प्रचण्डलाई हराएका केसी त्यसपछि राजनीतिमा छाएका थिए । ०७४ को निर्वाचनमा पनि उनले एमालेसँग गठबन्धन गरेको माओवादी केन्द्रकै उम्मेदवार हितमान शाक्यलाई हराए । युवा तथा खेलकुदमन्त्रीसमेत भइसकेका उनी तेस्रो जितको खोजीमा छन् । केसीलाई चुनौती दिनका लागि ०७४ को समानुपातिक सांसद माओवादीकी विशंखे र एमालेका तर्फबाट काठमाडौं जिल्ला कमिटी सदस्य हिमेश केसीको तर्फबाट उम्मेदवारी परेको छ । नेता केसी एमालेको जनवर्गीय संगठन युवा संघको काठमाडौं इन्चार्जसमेत हुन् ।
०७४ को मतपरिणाम (प्रतिनिधिसभातर्फ)
राजेन्द्रकुमार केसी, कांग्रेस– २४,१९० (विजयी)
हितमान शाक्य, माओवादी केन्द्र– २१,९०७
प्रदेश (क)तर्फ दीपेन्द्र श्रेष्ठ, कांग्रेस– ६,२३१ (विजयी)
प्रदेश (क)तर्फ विष्णुकुमारी भुजेल, एमाले– ४,६१८
प्रदेश (ख)तर्फ रमा आलेमगर, एमाले – ९,९०३ (विजयी)
प्रदेश (ख)तर्फ धर्मनन्द श्रेष्ठ, कांग्रेस – ७,०१७